पहिचानवादी र कोशी सरकारबीच भयो पहिलो वार्ता, थप छलफल गर्ने सहमति – Nepal Press

पहिचानवादी र कोशी सरकारबीच भयो पहिलो वार्ता, थप छलफल गर्ने सहमति

विराटनगर । प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता भएको छ ।

कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ ।

पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताए ।

उनले दुबै पक्षले फेरि वार्ता गर्ने सहमित गरेको जानकारी दिए । उनले भने, ‘विषय र माग उठान भएका छन् । फेरि घनीभूत छलफल गर्ने गरी पुनः वार्तामा बस्छौं ।’

आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाका अनुसार सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले उठाएको मागका विषयमा वार्ताको माध्यमबाट औपचारिक ढंगले राख्ने काम भएको छ, फेरि यसलाई निरन्तरता दिइनेछ ।’

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए । यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।

आन्दोलन बढ्दै गएपछि सरकारले मन्त्री मेन्याङ्वोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो भने सङ्घर्ष समितिले आइतबारमात्रै वार्ता समिति बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर