सांसद सुनिल शर्मा बने ओशो संन्यासी – Nepal Press

सांसद सुनिल शर्मा बने ओशो संन्यासी

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा ओशो संन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो संन्यासी बनेका हुन् ।

बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा संन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ ।

सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । संन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । संन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

संन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । संन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं।३ बाट भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।

सामाजिक सेवा र व्यवसायसँगै राजनीतिमा पनि सक्रिय सांसद शर्माले अब सन्यासी जीवन बिताउन लागेका हुन् । ओशो संन्यासीहरूले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने भएपनि दैनिक ध्यान गर्नुपर्ने नियम छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत, एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट लगायत पनि ओशो सन्यासी बनिसकेका छन् ।

आश्रमलाई ५० लाख सहयोग

प्रतिनिधिसभा सदस्य डा‍ सुनिल शर्माले काठमाडौंको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रूपमा ठूलो धनराशी सहयोग गरेका हुन् ।

सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो सन्यासी पनि बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । सामाजिक काममा सक्रिय डा।शर्माले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर