कोशी सरकारसँग वार्ता गर्न संघर्ष समितिले बनायो टोली, भाेलि नै वार्ता गर्ने तयारी – Nepal Press

कोशी सरकारसँग वार्ता गर्न संघर्ष समितिले बनायो टोली, भाेलि नै वार्ता गर्ने तयारी

विराटनगर । प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको छ । वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेका छन् ।

सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले आइतबार वार्ता टोली बनाएको हो ।

विभिन्न जातीय संघसंस्था र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी वार्ता टोली बनाइएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले वार्ता टोलीलाई आन्तिम रुप दिन बाँकी रहेको बताए ।

वार्ता टोली बनाएसँगै सोमबार बिहान विराटनगरमा दुबै पक्षबीच वार्ता हुने तयारी छ । विराटनगरस्थित होटल बिगमा वार्ता हुने तय भएको छ ।

भोलि वार्ता प्रारम्भ हुने कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले बताए ।

कोशी सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको छ । सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोलीमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीहरुले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर