स्वर्गद्वारी दर्शन गर्ने मनोकामना पूरा गरेर फर्केका ७ दर्शनार्थी घरमा पुग्नै पाएनन् – Nepal Press
प्यूठान दुर्घटना

स्वर्गद्वारी दर्शन गर्ने मनोकामना पूरा गरेर फर्केका ७ दर्शनार्थी घरमा पुग्नै पाएनन्

रुपन्देही । दाङको घोराही नगरपालिका १० नारायणपुरमा भाडामा बस्ने दुई परिवार सोमबार दर्शनको लागि प्यूठानको स्वर्गद्वारी गएपनि घर फर्कन पाएनन् ।

गढवा गाउँपालिका-५ बाँकी घर भई नारायणपुरको फर्निचर पसलमा काम गर्ने गोविन्द शाह, श्रीमती र छोरासहित स्वर्गद्वारी दर्शनका लागि पुगेका थिए । तर उनीहरु चढेको कार त्यहाँबाट फर्कने क्रममा सोमबार दिउसो दुर्घटनामा परेर उनीहरु घरमा फर्कनै पाएनन् ।

सोमबार स्वर्गद्वारीबाट फर्किने क्रममा स्वर्गद्धारी नगरपालिका-४ भ्यागुते नजिकै भिङ्ग्रीकोटमा लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेको उनीहरुले यसरी ज्यान गुमाएका हुन् ।

नारायणपुरस्थित पूर्णिमा फर्निचर उद्योगमा काम गर्ने गोविन्द श्रीमती राधा र ९ वर्षको छोरा आदित्य शाहलाई लिएर स्वर्गद्धारी दर्शनका लागि गएका थिए । गढवा घर भएपनि कामका लागि उनी करिब ९ वर्षयता नारायणपुरमा बस्न थालेको स्थानीय पत्रकार सागर खनालले बताए ।

‘८/९ वर्षदेखि नारायणपुरमा फर्निचर उद्योगमा काम गर्दै आउनुभएको रहेछ। मेहनती परिवार थियो’, स्थानीय सञ्चारकर्मी सागर खनालले भने, ‘विहान ५ बजे स्वर्गद्धारी दर्शन गएको, फर्किने बेलामा सोच्दै नसोचेको दुर्घटना भयो ।’

शाह परिवारसँगै गएका छिमेकी सरिता शर्मा पोख्रेलले पनि दुई छोरासहित यही दुर्घटनामा ज्यान गुमाउनुपर्यो । तुलसीपुर १५ घर भइ हाल नारायणपुर बस्ने सरिता १४ वर्षका विशाल र ९ वर्षका विकाससहित सोही गाडीमा परे । स्थानीयका अनुसार सरिताको परिवार र शाहको परिवार नजिक नजिक भाडामै बस्ने भएकाले सल्लाह गरेर स्वर्गद्धारी गएका थिए । सरिताका श्रीमान विदेशमा छन् ।

मनोकामना पूरा गर्न स्वर्गद्वारी गएको शाह र पोखरेलको परिवार त्यहाँको सन्देश लिएर फर्कन भने पाएनन् । ‘नारायणपुरमै बस्ने भएकाले सल्लाह गरेर स्वर्गद्वारी दर्शन गर्न जानुभएको देखिन्छ, दुर्घटनाले अपूरणीय क्षति हुन पुग्यो। दुवै परिवारका ६ जनाको दुखद निधन भयो, एकजना बालक उहाँहरुको भन्दा फरक परिवारको भएपनि ती पनि बालकहरुकै साथी भएको देखिन्छ’ उनले भने ।

दुई परिवारका ६ सहित ७ जनाको दुर्घटनामा मृत्यु भएपछि नारायणपुर एकाएक शोकमग्न भएको छ । आफन्तहरु प्युठान जान थालेका छन् । शवहरु प्युठानको जिल्ला अस्पताल विजुवारमा राखिएको छ । शाह र पोखरेल परिवारसँगै पुगेका घोराही १५ का ११ वर्षीय शिशिर सुवेदीको पनि सोही दुघंटनामा मृत्यु भएको छ । उनी बच्चाहरुको साथी बनेर गएका थिए ।

यो घटनामा परेर सो गाडीका चालक लमही-५ निवासी तारा कुमालको पनि मृत्यु भएको छ । घटनास्थल पुगेर फर्केका प्युठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले ओरालो घुम्टीमा अनियन्त्रित भएर गाडी पल्टेको अवस्था देखिएको बताए । सानो गाडीमा मान्छे पनि धेरै रहेको र ओरालो घुम्टीमा अनियन्त्रित भएर पल्टेको देखिन्छ, घटनामा मृतक सबैको सनाखत भएको छ, परिवारका सदस्य आएपछि बुझाउँछौं’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *