चितवनलाई ‘पाल्पा गोल्ड कप’ को उपाधि – Nepal Press

चितवनलाई ‘पाल्पा गोल्ड कप’ को उपाधि

रुपन्देही । सेन्ट्रल कलेज रोड्स चितवनले बिक्की चाम्लिङ राइको २ गोल मद्दतले कर्णेल उजिरसिंह ‘पाल्पा गोल्ड कप’ को उपाधि सहजै जितेको छ । शनिबार सम्पन्न फाइनलमा होराइजन फुटबल क्लब वालिङ स्याङ्जाले निर्धारित समयमा गोल गर्न नसक्दा रोड्स चितवनले २–० गोलले गोल्ड कप जितेको हो ।

तानसेन टँुडिखेलमा भएको खेलमा पहिलो हाफको ३ मिनेटमा रोड्स रामपुर चितवनका राईले पहिलो गोल गरे । रक्षात्मक खेलेको वालिङका सौगात गुरुङले फल गरेपछि पेनाल्टी पाएको चितवनका राईले ४७ मिनेटमा गोल थपेर टिमलाई २–० को बलियो स्थितिमा पुराए ।

फाइनलमा रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले नगद ३ हजार नगद पुरस्कार पाए । फाइनल जितेसँगै रोड्स चितवनले नगद ३ लाख, पाल्पाली करुवा ट्रफि, मेडल र प्रमाणपत्र पाए । उपबिजेतामा चित्त बुझाएको वालिङ स्याङ्जाले नगद १ लाख ५० हजार पाल्पाली करुवा, प्रमाणपत्र, मेडल पाए ।

बिजेता तथा उपबिजेता टिमलाई तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले पुरस्कार बितरण गरे ।

गोल्ड कपमा बिधागततर्फ उत्कृष्ट किपर चितवनका सरोज तामाङ, उदाउँदो खेलाडी पाल्पा–११ का आशिष राना, सर्वाधिक गोलकर्ता रोड्स रामपुर चितवनकै बिक्की चाम्लिङ राईलाई प्रदान गरियो । यसैगरी उत्कृष्ट गोलकिपर रोड्स रामपुरका सरोज तामाङ, उत्कृष्ट रक्षक वालिङका राजेन्द्र श्रेष्ठ, उत्कृष्ट खेलाडी रामपुरकै जितेस गुरुङ, फेयर प्ले टिम न्यू युथ युनियन पाल्पालाई प्रदान गरिएको आयोजक पाल्पा जिल्ला फुटबल संघका निर्णायक मण्डलका संयोजक रितेश मल्लले जानकारी दिए ।

कार्यक्रममा तानसेन नगरप्रमुख श्रेष्ठले पाल्पा गोल्डकपले खेलकुदको पुरानो इतिहासलाई पुनः स्मरण गराएको बताए । उनले अगामी वर्ष खेल संचालनका लागि नगरपालिकाले पनि थप सहयोग गर्ने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भट्टराईले पाल्पा गोल्डकपले आगामी दिनमा स्थानीय र प्रदेश सरकार मात्र होइन संघीय सरकारकोसमेत सहयोग पाउने गरी प्रतियोगिता आयोजना गरेको बताए ।

उनले रात्रीकालिन फुटबल खेलका लागि मात्र होइन तराईमा उखरमाउलो गर्मी हुँदा पहाडमा खेल खेल्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *