सुपारी र पोस्ता दानामा कर र अन्तशुल्क घटाउन प्रधानमन्त्रीले गरे इन्कार – Nepal Press
नयाँ बजेट

सुपारी र पोस्ता दानामा कर र अन्तशुल्क घटाउन प्रधानमन्त्रीले गरे इन्कार

कुन-कुन वस्तुमा वृद्धि हुँदै छ कर ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदैछ । बजेट लेखनको अन्तिम दिन आज बिहानमात्र करको दर टुंग्याइएको छ । पछिल्लो समय चर्चाका रहेको सुपारी र पोस्ता दानाको अन्तशुल्क र कर घटाउन प्रधामन्त्रीले नमानेको अर्थमन्त्रालय स्रोतले बतायो ।

राजश्वको नीति हेरफेरका लागि अर्थमन्त्रीसहित सचिवहरू अर्जुनप्रसाद पोखरेल र रामप्रसाद घिमिरे छलफलमा बसेका थिए । भने, सो छलफलमा आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक बसेर करका विषय हेरफेर गरेका छन् ।

अर्थमन्त्रालय स्रोतले भन्यो, ‘सुपारी र पोस्ता दानाको भन्सार र अन्तशुल्क घटाउने योजनामा प्रधानमन्त्रीले रोक्नुभएको छ । भारतबाट आयात हुने तरकारी, विस्कुट र सौन्दर्यको सामानको भन्सार वृद्धि गरेर सुपारी र पोस्ता दानाको भन्सार र अन्तशुल्क घटाउँदा विरोध हुने भएकाले रोकिएको हो ।’

सुपारीमा भन्सार, अन्तशुल्क र १३ प्रतिशत भ्याट गरी प्रतिकेजी १ सयसम्म मात्रै हुने गरे नयाँ भन्सार दर कायम गर्न विचौलिया लागेका थिए । भने, पोस्ता दानामा पनि भन्सार घटाउने तयारी थियो । प्रधामन्त्रीले नमानेपछि अहिले सुपारी र पोस्ता दानाको भन्सार र अन्तशुल्क तलमाथि नगरिएको हो ।

सरकारले व्यापारिक फर्म नै तोकेर सुपारी र पोस्ता दाना आयातको बाटो खोल्ने तयारी भने निरन्तरता दिएको छ । यसअघि मन्त्रिपरिषद्ले आयात खुलाउने निर्णयलाई टेकेर वाणिज्य विभागले कोटा निर्धारण गरी आयातको व्यवस्था मिलाउने गर्थ्यो । अब भने फर्म नै तोकेर सुपारी र पोस्ता दाना खुलाउने तयारीका लागि चलखेल बढेको हो ।

गोप्यरूपमा २२ वटा फर्मलाई सुपारी आयात र १० वटा फर्मलाई पोस्ता दाना आयातको बाटो खोल्ने निर्णय गर्नेगरी गृहकार्य भइरहेको छ । वाणिज्य विभागलाई पन्छाउँदै सरकारले सीधै फर्मलाई यसको जिम्मा दिन लागेको हो ।

पोस्ता दाना र सुपारीको आयातमा राजनीतिक नेतृत्वसहित ठूलै गिरोहको चलखेल हुने गरेको यसअघि पनि पटकपटक सार्वजनिक भएको थियो ।

वाणिज्य सचिव मधुकुमार मरासिनीले फर्मको नाम किटानीसहित सुपारीको आयात अनुमति दिने गरी फाइल बनाइरहेका छन् । सुपारी र पोस्ता दाना आयातका लागि कम्पनी नै तोकेर आयातको अनुमति दिने तयारी रहेको छ ।

पोस्ता दाना आयातका लागि १० वटा फर्म र सुपारी आयातका लागि २२ वटा फर्मलाई अनुमति दिने तयारी भएको छ ।

कुन-कुन वस्तुमा वृद्धि हुँदै छ कर ?

सकार नेपालमा नेपालमा नै उत्पादन हुने वस्तु भारतबाट आयात कम गर्न भन्सार वृद्धि गराउने तयारीमा लागेको छ । भारतबाट आयात हुने तरकारी, बिस्कुट र सौन्दर्य सामग्रीलगायतका वस्तु रोक्नका लागि उद्योग मन्त्रालयले कार्यविधि बनाएको छ ।

उद्योग मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले नेपालमा नै उत्पादन हुने जस्तै वस्तु विदेशबाट आयात कम गर्न भन्सार वृद्धिका लागि कार्यविधि बनेको बताइन् । नेपालले नै उत्पादन गर्न सक्ने वस्तुहरूको अयात कम गर्नका लागि कार्यविधि बनेको हो । त्यो कार्यविधि बजेटमा समेट्ने अर्थमन्त्रालयको तयारी रहेको छ । बजेटमा समेटिएन भने पनि उद्योग मन्त्रालयले नै लागू गर्नेछ ।

बजेटमा प्रधानमन्त्रीले नै विशेष चासो राखेका छन् । अघिल्लो सरकारले निर्माण गरेको बजेटमा विचौलियाले करको दर नै हेरफेर गरेको आरोप लागेकाले यस वर्ष त्यस्तो नहोस् भनेर यसो गरिएको हो ।

अर्थमन्त्रालयको स्रोतले भन्यो, ‘बजेटमा प्रधानमन्त्रीले विशेष चासो दिखुनभएको छ । यसअघि पनि प्रधानमन्त्रीले चासो दिन्थे । तर, विगतभन्दा अहिले बढि हस्तक्षेप देखिन्छ ।’

केही वस्तुको करका दरलाई लिएर प्रधामन्त्री र अर्थमन्त्रीबीच राय बाझिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर