च्यारिटीका लागि लन्डनबाट एभरेष्ट म्याराथनमा – Nepal Press

च्यारिटीका लागि लन्डनबाट एभरेष्ट म्याराथनमा

लन्डन । लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेष्ट म्याराथनमा दौड्ने भएकी छन् । कर्णाली प्रदेशको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा गर्ने उद्देश्यका साथ उनी मे अन्त्यमा नेपालमा हुने एभरेष्ट म्याराथनमा दौड्न लागेकी हुन् ।

एभरेष्ट म्याराथन मे २९ तारिख एभरेष्ट वेसक्याम्प देखि नाम्चेबजार हुँदै लुक्लामा अन्त हुने गरि तय भएको छ । उनी यतिखेर प्रशिक्षण र चन्दा संकलनमा व्यस्त भइरहेकी छन् ।

‘खेलकुदले हाम्रो स्वास्थ्यमा खेल्ने अहम् भूमिकाको प्रचार प्रसार र सीमान्तकृत एवं गरिवीको चपेटामा परि हातमुख जोड्न र शिक्षादीक्षा ग्रहण गर्नबाट वञ्चित वादी समुदायका वालबालिकाको सहयोगका लागि च्यारिटी रन गर्ने अठोट राखेकी हुँ, उनले भनिन् ।

हिक्मत वादी र उनकी श्रीमतिले सुर्खेतमा विभिन्न क्षेत्रबाट वादी समुदायका एकसय जना किशोर किशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, उनको आर्थिक अवस्था दयनीय रहेको खबर विद्या चापागाईंको ‘हेर्ने कथा’ बाट थाहा पाएपछि अन्जुले उनीहरुलाई सहयोग गर्ने अठोट लिएकी हुन् ।

उनले इच्छुकलाई ‘गो फण्डमी मार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् । भरतपुर ४ पोख्रेली टोल लंकु चितवन घर भई हाल लन्डन नर्थहोल्ट बस्ने अन्जुले व्यस्तता वावजुद हालसम्म ७ वटा फुल म्याराथन पुरा गरिसकेकी छन् ।

‘म सम्पूर्ण महिलामा आव्हान गर्न चाहन्छु कि हरेक हप्ता कुनै न कुनै शारिरिक व्यायममा आवद्ध हुनुहोस् यसले हाम्रो स्वास्थ्यमा सुधार र व्यक्तिगत तन्दुरुस्तीमा निकै ठूलो भूमिका खेल्छ’, उनले भनिन्, ‘समय आफूले मिलाउने हो । हामी महिला भएपनि गर्न नसकिने केही छैन । अठोट गर्नुस् र आफ्नो प्रगतिको बाटोमा दृढ भएर अघि बढ्नुस्, सबैमा मेरो शुभकामना छ।’

उनले पुरुषहरुलाई पनि आ–आफ्ना दिदीबहिनी, आमा, भाउजु र बुहारी अनि श्रीमतिलाई केही गर्न हौसला दिन आग्रह गरिन् । ‘समाज परिवर्तन हरेक व्यक्तिको जिम्मेवारी हो । यो सचेत र स्वस्थ नागरिकले मात्र गर्न सक्छ जुन आजको सबैभन्दा ठूलो आवश्यकता हो’, उनी भन्छिन् ।

बेलायतको च्यारिटी संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके कार्यसमितिमा आवद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लण्डनस्थित नेपाल रन यूकेको सदस्य भएर अरुलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी हुन् ।

सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बाँकी छ ।उनको पहिलो फुल म्याराथन लन्डन म्याराथन २०२० थियो जुन कोभिड महामारीका कारण ‘भर्चुअल’ गरिएको थियो ।

उनले लण्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लण्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लण्डन म्याराथन २०२३ मा समेत सहभागिता जनाइसकेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर