मधेशमा भुक्तानीको समस्या बल्झिँदै, भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले अर्थमन्त्रीलाई गरे घेराउ – Nepal Press

मधेशमा भुक्तानीको समस्या बल्झिँदै, भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले अर्थमन्त्रीलाई गरे घेराउ

जनकपुरधाम । मधेश प्रदेशमा भुक्तानी समस्या बल्झिँदै गएको छ । जनकपुरधामस्थित मधेश भवनमा आज अर्थमन्त्री सञ्जय यादव र निर्माण व्यवसायीहरुबीच चर्काचर्की भएको हो ।

निर्माण व्यावसायीहरु भुक्तानी माग्दै मधेश भवन पुगेका थिए । सुरुमा उनीहरु मुख्यमन्त्री सरोज यादवलाई भेट्न गए । तर, मुख्यमन्त्री यादवले उनीहरुलाई अर्थमन्त्री सञ्जय यादवलाई भेट्न सुझाए । पछि उनीहरु अर्थमन्त्री यादवको क्वाटरमा पुगे ।

अर्थमन्त्री यादव निर्माण व्यवसायीहरुलाई बस्न लगाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिँडेका थिए । सो कुरा थाहा पाएपछि निर्माण व्यवसायीहरुले अर्थमन्त्रीको गाडी घेरेपछि चर्काचर्की भएको छ ।

भुक्तानीको समस्या समाधान गर्न दबाब दिएपछि अर्थमन्त्री यादवले सर्लाहीबाट गुण्डा बोलाएर धम्काउन लगाएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । यो विषयमा अर्थमन्त्री यादवले सर्लाहीबाट कसले गुण्डा बोलाएको कुरा थाहा नभएको बताए ।

चर्काचर्कीपछि आज बसेको मन्त्रिपरिषद्को बैठकमा भुक्तानीको समस्या नै मुख्य एजेण्डा बन्यो । अर्थमन्त्री यादवले पुरानो भुक्तानी क्लियर गर्नुपर्ने बताएपछि मुख्यमन्त्री यादवले बैठकमै सबै सचिवलाई फायलसहित बोलाएका थिए ।

बैठकबाट बाहिरिँदै अर्थमन्त्री यादवले भुक्तानीको समस्या समाधान गर्न छलफल भएको भन्दै दुईतीन दिनभित्रै समाधान हुने आश्वासन निर्माण व्यवसायीहरुलाई दिए ।

विभिन्न ३८ योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी छ । काम सम्पन्न गरेको २ वर्ष बित्दासमेत विभिन्न योजनाहरुको अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ ।

निर्माण व्यावसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले बिहीबार क्याविनेट बैठक रहेको र सो बैठकबाटै भुक्तानीको समस्या समाधान हुने भनेर मुख्यमन्त्रीले पनि आश्वासन दिएको बताए ।

उनले बिहीबारसम्म समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘बजेट अधिवेशनसमेत चल्न दिदैनौं । अब हामी मर्छौं कि मार्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *