इन्द्रजीत राईलाई रातारात अड्डासार, अख्तियार प्रमुखविरुद्ध बाेल्न दबाब दिँदै ‘टर्चर’ – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

इन्द्रजीत राईलाई रातारात अड्डासार, अख्तियार प्रमुखविरुद्ध बाेल्न दबाब दिँदै ‘टर्चर’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर प्रहरीले मानसिक यातना दिएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिइएकाे स्रोतले बतायो । १९ गते पक्राउ परेका राईमाथि अनुसन्धानको लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लैजाँदा उनले न्यायाधीशसमक्ष आफूलाई टर्चर दिइएको बताएका छन् । उनले प्रहरीले आफूलाई अख्तियार प्रमुख प्रेम राईविरुद्ध बोल्न भन्दै भनेको बताएका छन् ।

उनलाई पक्राउ गरेको भोलिपल्ट राति एआईजी श्यामलाल ज्ञवालीको निर्देशनमा उपत्यका प्रहरी कार्यालय लगिएको प्रहरी स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकारी भन्छन्, ‘आवश्यक अनुसन्धानका लागि भनेर लगिएको थियो । के कति कारण भन्ने चाहिँ थाहा भएन ।’

इजलास नम्बर २७ मा २४ गते म्याद थपको क्रममा न्यायाधीशले हिरासतमा कस्तो छ ? भनी सोध्दा उनले जवाफ दिए, ‘दिउँसो राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति-राती आएर शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । निरन्तर धम्की दिइरहेको छ ।’

अख्तियार प्रमुख राई तत्कालीन गृहसचिवसमेत हुन् ।

श्यामलाल एआईजीमा बढुवा भएकै दिन अख्तियारले उनको नागरिकता छानबिनका लागि गृहमा लेखी पठाएको थियो । नागरिकताको जन्म मिति फरक पारेर जागिर खाएको दाबीसहित ज्ञवालीविरुद्ध बढुवा हुनुअघि अख्तियारमा उजुरी परेको थियो ।

सो उजुरीको प्रारम्भिक छानबिनपछि वैशाख १४ गतेको निर्णयअनुसार पछि थप प्रमाण फेला परेमा कानूनबमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय गरेको प्रहरी मुख्यालयमा जानकारी गराएको छ ।

अदालत स्रोतका अनुसार म्याद थपसम्बन्धी आदेशको क्रममा न्यायाधीशले ‘टर्चर’ भनी लेखिदिएका छन् ।

‘न्यायाधीशले यस्तो संकेत गर्नु गम्भीर मानिन्छ’, स्रोतले भन्यो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अदालतमा कोही अभियुक्तले दिएको बयानको वास्ता गर्ने कुरा नभएको बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा कहाँ कहाँ लग्यो भन्ने मलाई थाहा हुँदैन । अदालतमा बोल्ने कुरा पनि वास्ता गर्ने कुरा भएन । बाँकी कुरा अनुसन्धान भइरहेकाले बोल्न मिल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर