अमेरिकी मिडियालाई बर्नी स्यान्डर्सका प्रश्नैप्रश्न – Nepal Press
किताबी कुरा

अमेरिकी मिडियालाई बर्नी स्यान्डर्सका प्रश्नैप्रश्न

काठमाडौं । अमेरिकी सदनमा सबैभन्दा लामो समय स्वतन्त्र अनुहारको रुपमा उपस्थिति जनाएका कंग्रेसमेनको नाम हो बर्नी स्यान्डर्स । सन् १९९१ देखि २००७ सम्म उनले स्वतन्त्र कंग्रेसमेनको रुपमा काम गरेको इतिहास छ । सन् २०१६ र २०१९ मा डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतीय उम्मेदवारको लागि आन्तरिक प्रतिस्पर्धामा उत्रिएका स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनसँग पराजय भोगे भने सन् २०१९ मा जो बाइडेनसँग ।

बढी समय स्वतन्त्र भएकाले हुनसक्छ, स्यान्डर्सलाई अन्य डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गर्दै आएका अमेरिकी मिडियाले पनि समर्थन गरेनन् । नेपालमा जस्तो खास दल र उम्मेदवारलाई अप्रत्यक्ष सहयोगको चलन छैन अमेरिकामा । उनीहरुले खुलेर उम्मेदवारलाई ‘इन्डोर्स’ गर्छन् । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गर्छ भने फक्स च्यानलले रिपब्लिकनलाई ।

उनै स्यान्डर्सले हालसालै एक किताब बजारमा ल्याएका छन् । उनले ल्याएको ताजा किताबको नाम हो, ‘इट्स ओके टु बि एङ्ग्री अबाउट क्यापिटालिजम’ । यो पुस्तकको विज्ञापनमा उनी कहिले अमेरिका त कहिले अमेरिका बाहिर दौडधुप गरिरहेका छन् । गत मार्च दोस्रो साता उनी अक्सफोर्ड युनियनको कार्यक्रममा पुस्तककै विज्ञापन गर्दै सहभागी भए ।

लोकतन्त्र र मिडियालाई माया गर्ने स्यान्डर्स

स्यान्डर्सले आफ्नो किताबको नवौं अध्यायमा मिडियाका बारेमा लेखेका छन् । उनी कर्पोरेट स्वार्थले गाँजिएका मिडियाको खरो विरोध गर्छन् । तर, उनी ग्रासरुट मिडियाको पक्षमा खुलेर वकालत गर्छन् । कर्पोरेट मिडियाको विरोध गर्ने उनको एक कारण ठूला धनाढ्यको कब्जामा ठूला मिडिया जानु र त्यसले नागरिकलाई सोच्ने, बोल्ने र हेर्ने कुरामा नियन्त्रण गर्ने प्रचलन हो ।

लोकतन्त्र बलियो बनाउन ग्रासरुट्स मिडिया बलियो हुनुपर्नेमा कर्पोरेट मिडिया बलियो भएर साना मिडियाको अवसान भएकोमा उनी ज्यादै चिन्तित छन् । यस्तो अवस्थालाई उनी अमेरिकाको विशाल समाचार मरुभूमि भन्छन् । मिडियाको संकट लोकतन्त्रको संकट भएको स्यान्डर्सको तर्क छ ।

सन् १९८० को दशकमा अमेरिकाको भर्मन्टको बर्लिङटनका मेयर थिए स्यान्डर्स । आफू मेयर हुँदाको उदाहरण दिँदै उनी त्यो समयमा आफ्नो पत्रकार सम्मेलनमा स्थानीय रेडियो, टेलिभिजन, अखबार, समाचार एजेन्सी एसोसिएट प्रेसलगायतका सात-आठ मिडिया उपस्थित हुने बताउँछन् । ती मिडियाहरुले नगर परिषददेखि विद्यालय बोर्डका कुराहरुसम्म समाचार सामग्री बनाउने गरेको उल्लेख गर्दै उनले अहिले त्यस्तै पत्रकार सम्मेलन हुँदा आधा पनि मिडिया नहुने औंल्याएका छन् । अमेरिकामा वासिङटन र न्यूयोर्कका समाचारको हुलमा स्थानीयले आफ्ना वरपरका समाचारहरु लुप्त हुने दृश्य सुरु भएकोमा स्यान्डर्स चिन्तित छन् । लोकतन्त्र बलियो बनाउन ग्रासरुट्स मिडिया बलियो हुनुपर्नेमा कर्पोरेट मिडिया बलियो भएर साना मिडियाको अवसान भएकोमा उनी ज्यादै चिन्तित छन् । यस्तो अवस्थालाई उनी अमेरिकाको विशाल समाचार मरुभूमि भन्छन् । मिडियाको संकट लोकतन्त्रको संकट भएको स्यान्डर्सको तर्क छ ।

कर्पोरेट मिडियाको तारो बनेका स्यान्डर्स

पुस्तकमा आफू कसरी कर्पोरेट मिडियाको तारो भएको भन्ने रोचक उदाहरण दिएका छन् स्यान्डर्सले । उनले सन् २०१६ मा आफूले राष्ट्रपतीय उम्मेदवारी दिएको समयमा वासिङटन पोस्टले १६ घण्टामा आफ्नोबारेमा १६ नकारात्मक समाचार बनाएको बताएका छन् । यस्तै राष्ट्रपतीय डिबेटमा आफूलाई प्रश्न सोध्ने प्रश्नकर्ता बायस भएर कम बोल्न दिएको बताएका छन् । न्यूयोर्क टाइम्सको सम्पादकीय मण्डलमा आफ्नो पक्षमा एक भोटमात्रै आएको उनको दुःखेसो छ । सन् २०१६ मा आफ्नो पक्षमा एक महानगरीय दैनिक सिटल टाइम्सले मात्रै इन्डोर्स गरेको स्यान्डर्स बताउँछन् ।

अमेरिकी मिडियामा गम्भीर मुद्दा नआएर राजनीतिक गसिपमात्रै आउने स्यान्डर्सको दुःखेसो छ । अमेरिकाका ९० प्रतिशत मिडियाको स्वामित्व आठ मुख्य कर्पोरेट संस्थाहरुले कर्पोरेट स्वार्थलाई मात्रै बढावा दिएको स्यान्डर्स बताउँछन् । कमकास्ट, डिज्नी, वार्नर ब्रोस, डिस्कभरी, नेटफिक्स्, सीबीएस, फक्स न्यूज, हेट्स जस्ता कर्पोरेट संस्थाहरुको कब्जामा मूलधारका मिडिया र उनीहरुले बनाउने भाष्य रहेको स्यान्डर्सको तर्क छ ।

अमेरिकी मिडियामा गम्भीर मुद्दा नआएर राजनीतिक गसिपमात्रै आउने स्यान्डर्सको दुःखेसो छ । अमेरिकाका ९० प्रतिशत मिडियाको स्वामित्व आठ मुख्य कर्पोरेट संस्थाहरुले कर्पोरेट स्वार्थलाई मात्रै बढावा दिएको स्यान्डर्स बताउँछन् ।

स्यान्डर्सले मिडियाबाट नसोधिएको पाएका प्रश्नहरु

बर्नी स्यान्डर्सले अमेरिकी मिडियामा सोधिनुपर्ने प्रश्नहरु नसोधिने र नसोध्नुपर्ने प्रश्नहरुमात्रै सोधिने बताउँछन् । अमेरिकी मिडियामा नसोधिएका पाँच गम्भीर प्रश्नहरुको सूची नै स्यान्डर्सले पुस्तकमा अटाएका छन् ।

स्यान्डर्सका पाँच प्रमुख सवाल यस्ता छन्ः

१. अमेरिकाका तीन खर्बपतिले अमेरिकाका १६ करोड नागरिकको भन्दा धेरै सम्पत्तिको स्वामित्व पाएका छन् । यसको नैतिक, आर्थिक र राजनीतिक अर्थ के हुन्छ ? किन अहिले अमेरिकामा विगतको शताब्दीभन्दा ठूलो सम्पत्तिको असमानताको खाडल देखिएको छ ?

२. कामदारको कार्यक्षमता, प्रविधिको विकास हुँदा पनि अहिले औसत अमेरिकीहरुले पचास वर्ष अगाडिको आम्दानीमा मूल्यवृद्धि जोड्दाको भन्दा थोरै रकम किन कमाइरहेका छन् ? विश्वको सबैभन्दा धनी देशका ६० प्रतिशत नागरिकको दैनिकी किन पेचेकदेखि पेचेकसम्मको भएको छ ?

३. सबैलाई स्वास्थ्य सेवा उपलब्ध नगराउने अमेरिकामात्रै किन प्रमुख देशहरुमा एक हो ? किन अमेरिकीले प्रतिव्यक्ति आयभन्दा दोब्बर स्वास्थ्य सेवामा खर्च गरिरहेका छौं ? किन साढे आठ करोड अमेरिकीको कि बीमा भएको छैन कि कम बीमा भएको छ ?

४. स्वीडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे जस्ता स्क्यान्डिनाभियन देशहरुले आफ्ना नागरिकहरुलाई उच्च कोटीको जीवनस्तर प्रदान गरेको अन्तर्राष्ट्रिय सर्वेहरुले देखाइरहेका छन् । उनीहरु खुशीको सूचकमा अगाडि भएको देखिएको छ । सामाजिक नीतिको कोणमा हामीले यी देशहरुबाट के सिक्न सक्छौं ?

५. दशकौंदेखि वैज्ञानिक समुदायले भनिरहेको छ कि जलवायु परिवर्तन र यसले ल्याउने खडेरी, बाढी, रोगव्याधी जस्ता समस्या हुनुको कारण फोसिल फ्युल उद्योगबाट हुने कार्बन उत्सर्जन हो । यति हुँदाहुँदै तेल उद्योगले यथार्थ र उत्तरदायित्व ढाँटेर करोडौं डलर खर्च गरिरहेका छन् । कंग्रेसले फोसिल फ्युल उद्योगलाई उत्तरदायी बनाउन के गर्नुपर्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *