विचारका धनी विचारी भन्छन्- अहिलेका नेताहरूकाे अध्ययन छैन तर, औधी नै लोभी – Nepal Press

विचारका धनी विचारी भन्छन्- अहिलेका नेताहरूकाे अध्ययन छैन तर, औधी नै लोभी

आचार, विचार र व्यवहारमा आजीवन कम्युनिष्ट आदर्श बाँचेका विचारी उराँव सुनसरीको मधेस बस्तीमा गुमनाम जिन्दगी बाँचिरहेका छन् । १९९७ सालमा सुनसरीको पश्चिम कुसाहामा जन्मिएका उराँव उमेरले ८३ लागे । उमेरका कारण सक्रिय हुन सक्ने अवस्थामा छैनन् । विचारी उराँवसँगै भूमिगत कालमा काम गर्ने कम्युनिष्ट आन्दोलनका सहयोद्धाहरु धेरै बाँकी छैनन् । सक्रिय राजनीतिमा रहेकाहरुले विचारी उराँवबारे जानकारी राख्छन् । तर, उनको अवस्थाको सोधीखोजी गर्ने र भेटघाट गर्ने समय कमै निकाल्ने गर्छन् ।

पार्टीमा काम गर्ने पछिल्लो पुस्ताका आमनेता, कार्यकर्ताहरुले आन्दोलनमा पुराना पुस्ताको योगदानबारे खासै चासो राख्न छाडिसकेका छन् । उनीहरुलाई विचारी उराँव जस्ता अग्रजहरुको बारेमा जान्ने खासै दर्कारै पर्दैन । त्यसकारण पनि विचारीलाई चिन्ने कुरै भएन ।

विचारी उराँव, तात्कालिन पछौटे समाजमा ग्रामीण भेगमा किसान र गरिबका बीचमा कम्युनिष्ट पार्टीले कसरी काम गर्थ्यो भन्ने दुर्लभ इतिहास हुन् ।

विचारी उराँव, कम्युनिष्ट आन्दोलनमा टुटफुट, विभाजन र संकटका समयका जीवित साक्षी हुन् ।

विचारी उराँव, कम्युनिष्ट योद्धाहरु काढ्ने, संरक्षण गर्ने, हुर्काउने, बढाउने ओथरा हुन् । थुप्रै कमरेडहरुका सेल्टरदाता हुन् ।

तिनै विचारी उराँवसँग कुराकानी गर्न उनकै निवासमा पुगेका बेला आँगनमा उभिएर पुराना दिनहरुको स्मरण गर्दै उनले सुनाए, ‘यही ठाउँ हो पहिले गुँड जस्तै, झिक्राले बनेको झुपडी थियो । धेरै कमरेडहरुका लागि सेल्टर थियो ।’ पहिलेको गुँडको ठाउँमा अहिले छोराहरुले कटेरो बनाएका छन् । खासै धेरै परिवर्तन छैन । यो घर वामपन्थी विचारको विस्तार गर्ने थलो हो ।

कोशी गाउँपालिका वडा नम्बर २ झापा टोल साविक पश्चिम कुसाहाका उनै विचारी उराँव वाम आन्दोलनमा आफूले गरेका कामहरु सम्झिरहेका छन् । समाजवादको सपना बोकेर आन्दोलनमा बिताएका आफ्ना ऊर्जाशील जीवनका पानाहरुलाई पल्टाइरहेका छन् ।

विष्णु मानन्धर त मेरो घरमै आएर मलाई साथ दिनुपर्‍यो भनेर फकाउँथे । तर, मैले टुटफुट, विभाजन र गलत कामको जहिल्यै विरोध गरें । कतिपय नेताहरुको विवादको विषय रुसले विद्यार्थीलाई दिने छात्रवृत्तिमा कुन नेताका छोराछोरी पठाउने र कसले पहिले पठाउने भन्नेमा पनि थियो । त्यसको मैले विरोध गरें ।

गरिब परिवारमा जन्मिएका उराँवले १५ वर्षकै उमेरमा भिख्नीदेवीसँग विवाह गरे । राजेन्द्र, भुवनेश्वर, विशेश्वर, धनबहादुर र विन्देश्वर गरी पाँच भाइछोरा र एक छोरी उर्मिलाको अभिभावकत्वसँगै उनले वाम आन्दोलनको अगुवाइ गरे ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेको घटनामा पार्टीका महासचिव केशरजंग रायमाझी राजाको कदमको पक्षमा लागेपछि पार्टीमा उथलपुथल भयो । पार्टीभित्र थुप्रै विचार समूहहरु बने । उनले कृष्ण वर्मा समूहमा रहेर काम गरे । पार्टी र त्यस समूहभित्र समेत गुट उपगुट र विभिन्न समूहको तानातानमा परेपछि उनी मनमोहन अधिकारीको माक्र्सवादी समूहमा जोडिँदै २०४७ सालमा माले र माक्र्सवादीबीच एकीकरण भएर एमाले बनेपछि अहिलेसम्म निरन्तर यसमै छन् ।

विचारीको कम्युनिष्ट यात्रा

त्यो वेला बस्ती पातलो थियो । चारैतिर जंगलैजंगल थियो । पूर्वपश्चिम सडक बनेकै थिएन । पढ्न विद्यालय थिएन । हाम्रो काम गाईभैंसी चराउने, हलो जोत्ने हुन्थ्यो । स्कुल नदेखेका, पढ्न नपाएका म जस्ता अरु पनि थिए र हामीलाई पढाउन भन्दै भारतको विहारबाट मथुराप्रसाद सिंह नामको मास्टर हाम्रो गाउँमा आएका थिए । उनी हाम्रै गाउँमा बस्थे । हामीलाई अक्षर चिनाउने काम उसैले गरेका हुन् । कक्षापछि उनी सधैं एउटा महत्वपूर्ण काम छ म जान्छु भन्थे । के काम भन्दा क्लास छ, बैठक छ भन्थे । उनी प्राय जमुवाबाट नहरको बाटो जंगलको बाटो हिँड्थे ।

एक दिन म पनि जान्छु भनें । सुरुमा उनले मानेका थिएनन् । तर, मैले जान्छु भनेपछि उनीसँगै गएँ । उनले हरिपुर पुर्‍याए । त्यहाँ ऋषिदेव मुसहर, रामनाराण (थर याद भएन) भोला कमरेड (थर थाहा भएन) र पौडेल कमरेड (नाम बिर्सें) सँग भेट गराए ।

जनवाद ल्याउनुपर्छ । त्यो भनेको किसानहरुको राज्य हो, मजदुरहरुको राज्य हो । जमिन जोत्नेको हुनुपर्छ, सामन्तहरुलाई अन्त्य गर्नुपर्छ र त्यो काम कम्युनिष्ट पार्टीले गर्छ भनेपछि मैले पनि आजदेखि म कम्युनिष्ट हुन्छु भन्ने निर्णय गरें । र, कमरेड भनेको साथी हो, हामी सबै समान हौं, जात, धर्म ठूलो होइन, गरिब किसान र मजदुरको पार्टी कम्युनिष्ट हो भन्ने क्लास पाएपछि मलाई त्यस कुराले सारै प्रभावित बनायो ।

मेरो उमेरले डाँडा काटिसक्यो । म कतिखेर खोला जानुपर्छ थाहा छैन । मैले मेरो पूरै जीवन जानीनजानी कम्युनिष्ट आन्दोलनमा लागेर बिताएँ । पार्टीसँग मेरो केही अपेक्षा छैन । पार्टी बलियो बन्नुपर्छ ।

किनभने हाम्रो गाउँमा लक्ष्मीबाबु भन्ने जमिनदार थियो, त्यो जमिनदारको गाउँमा रजगज थियो । हामीलाई जोत्न लगाउँथ्यो तर बनि (तोकिएको अन्न) दिँदैन थियो । सोझासीधा किसानहरुको जग्गा विभिन्न नाममा हड्पिन्थ्यो । हामीले फोकटमा जोतिदिनु पर्थ्यो । जमिनदारको शोषणले पनि मलाई कम्युनिष्ट बन्न बाध्य बनायो । र, मैले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएँ ।

टुटफुट र गुटले कम्युनिष्ट कमजोर

मेरो घर पार्टी काम र नेतृत्वको केन्द्र थियो । पार्टीका नेताहरु मेरो घरमै आउँथे । पार्टी जिल्ला कमिटीको बैठक पनि मेरै घरमा हुन्थ्यो । पार्टीका दस्तावेजहरु मेरैमा सुरक्षित राखिएका थिए । रायमाझी कारबाहीमा परेपछि विष्णु मानन्धर, कृष्ण वर्माहरुले पनि फरक समूह बनाएका थिए । विष्णु मानन्धर त मेरो घरमै आएर मलाई साथ दिनुपर्‍यो भनेर फकाउँथे । तर, मैले टुटफुट, विभाजन र गलत कामको जहिल्यै विरोध गरें । कतिपय नेताहरुको विवादको विषय रुसले विद्यार्थीलाई दिने छात्रवृत्तिमा कुन नेताका छोराछोरी पठाउने र कसले पहिले पठाउने भन्नेमा पनि थियो । त्यसको मैले विरोध गरें ।

त्यस्तै झापामा भएको २०२८ सालको विद्रोह पनि समयसापेक्ष होइन भनेको थिएँ । मेरो बुझाइ के थियो भने हत्या हिंसाभन्दा प्रजातान्त्रिक विधिबाट कम्युनिष्टहरुले सबैको मन जित्नुपर्छ । २०१९ सालदेखि करिब २०३५÷०३६ सालसम्म आइपुग्दा धेरै कम्युनिष्ट पार्टीहरु बनिसकेको थियो । त्यही वेलादेखि कम्युनिष्ट पार्टीमा टुटफुट भइरहेको छ । अहिले पनि नयाँ पार्टी बन्ने र फुट्ने क्रम रोकिएको छैन ।

स्वअध्ययनले सही ठाउँमा ल्यायो

मैले ९ देखि १३ वर्षको उमेरसम्म पढेको हो । त्यसपछि मैले स्वअध्ययन गरेको हो । भारतीय किताबहरु पढेको छु, मार्क्सवादसम्बन्धी पुस्तकहरु र रसियन प्रकाशनका पुस्तकहरु पढेको छु । त्यो समय मलाई धरानका विए कृष्ण श्रेष्ठले पुस्तक ल्याइदिन्थे । धेरै पुस्तकहरु र कागजातहरु मेरोमै छाड्थे । धरानकै देवराज अधिकारीले पुस्तकहरु ल्याइदिन्थे । देवराज अधिकारी प्राय मेरो घरमा आइरहने र पुस्तक तथा पत्रपत्रिका ल्याइदिनेमा पर्छन् । देवराज अधिकारी मेरोमै बास बस्थे । म पनि धरान जाँदा देवराज अधिकारीकै घरमा बस्थें । तिनै पुस्तक र पत्रपत्रिकाको अध्ययनले मलाई विचार बुझ्न सजिलो भयो । दृष्टिकोण बनाउन मद्दत पुग्यो ।

सुनसरीको प्रकाशपुर, श्रीपुर, हरिपुर भोक्राहा, मधुवनमा हाम्रो पकड राम्रो थियो । मैले कम्युनिष्ट बनाएकाहरु अहिले पनि धेरै छन् । हामी जिल्लाका प्राय सबै स्थानहरुमा जान्थ्यौं । राति राति पार्टीका काम गर्थ्यौं । वंशी मोक्तान, डम्बर बुढाथोकी, गणेश ठाकुर, कमलदेव मेहता, कदमलाल उराँव, सप्तरीका कमरेडहरु त्यस समयका सक्रिय कमरेडहरु हुन् ।

अहिलेका नेतृत्वमा माथिका नेतादेखि तलका नेता, कार्यकर्तासम्म अनुशासनको कमी देख्छु । पार्टीको नीति, नियम र विचारलाई बोक्ने नेताहरु कमै देख्छु । यो राम्रो होइन । यसरी समाजवाद ल्याउन सकिँदैन ।

पछि मार्क्सवादी ठीक छ भन्ने निष्कर्षमा म पुगें । मार्क्सवादीमा ममात्रै होइन धेरै जनाको कुरा मिल्यो । मार्क्सवादी र मालेबीच एकीकरण भएर नेकपा एमाले बनेपछि नेकपा एमाले शक्तिमा मात्रै होइन दृष्टिकोण, विचार र जबजको जगमा यो नै देशले खोजेको पार्टी बनेको छ भन्ने विश्वास छ ।

विचारीका विचार र परिवारको साथ

नेकपा एमालेको प्रारिम्भक समयमा सुनसरी जिल्ला सदस्य भएर काम गरेका विचारी उराँव सास रहुञ्जेल एमाले भएर बाँच्ने अठोटका साथ पार्टीका हरेक कामलाई नजिकबाट हेरिरहेका छन् । अहिले उनको परिवारै एमाले छन् । उनको परिवार संगोलमा छ । परिवारमा अहिले ३१ जना छन् । विचारका हिसाबले सबै एमाले छन् । उनकी काइँली बुहारी अनिता उराँव एमाले सुनसरी जिल्ला कमिटी सदस्य, लोकतान्त्रिक उराँव संघको केन्द्रीय अध्यक्ष एवम् नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यका रुपमा काम गरिरहेकी छन् । काइँलो छोरा धनबहादुर कोशी गाउँ कमिटी सचिवालय सदस्य छन् । विचारी भन्छन्, ‘एमाले हुनमा गर्व छ र त हामी सबै एमालेमै छौं ।’

विचारीको चिन्ता

मजदुर, किसान, सुकुमबासी र गरिखाने जनताको विषयमा पार्टीले ध्यान कम दिएको हो कि जस्तो देख्छु । अहिलेका नेतृत्वमा माथिका नेतादेखि तलका नेता, कार्यकर्तासम्म अनुशासनको कमी देख्छु । पार्टीको नीति, नियम र विचारलाई बोक्ने नेताहरु कमै देख्छु । यो राम्रो होइन । यसरी समाजवाद ल्याउन सकिँदैन ।

हामीले काम गर्दा अनुशासन कडा थियो । आचार, विचार र व्यवहार कम्युनिष्ट चरित्रको हुन्थ्यो । पार्टीको नीति, विचार र सिद्धान्त विपरीत हिँड्यो भने कारबाही हुन्थ्यो । अहिलेका नेताहरु औधी नै लोभी जस्तो लाग्छ । पार्टीको पद चाहिने, लाभको पद पनि चाहिने, नेतृत्वमा पनि निरन्तर बसिरहनु पर्ने, पार्टीमा लामो समय काम गर्नेहरुलाई वास्ता नगर्ने । यस्तो पाराले पार्टी बलियो हुँदैन । यसलाई सच्याउनु पर्छ ।

नेता, कार्यकर्ताहरुले अध्ययन गर्न छाडे

उनले दुईवटा पुराना काठको बाकसको ताला खोल्दै पुराना पुस्तकहरु देखाए । त्यहाँ बोल्सेविकको इतिहास, इतिहासलाई फर्केर हेर्दा, रसियन प्रकाशनहरु देखाउँदै भने, ‘अहिलेका नेता कार्यकर्ताहरुले पुस्तक पढ्न छाडे । अध्ययन नै नगरी टापटिपे कुरा गरेर नेता भइरहेका छन् । राजनैतिक र वैचारिक अध्ययनविना नेता हुन त सकिएला । तर, नेतृत्व गर्न सकिँदैन । संख्या बटुलेरमात्रै पार्टी बन्दैन । विचारसहितको नेतृत्व र पार्टी बनाउनुपर्छ ।’

अहिलेका नेताहरु औधी नै लोभी जस्तो लाग्छ । पार्टीको पद चाहिने, लाभको पद पनि चाहिने, नेतृत्वमा पनि निरन्तर बसिरहनु पर्ने, पार्टीमा लामो समय काम गर्नेहरुलाई वास्ता नगर्ने । यस्तो पाराले पार्टी बलियो हुँदैन ।

पार्टीसँग केही अपेक्षा छैन

मैले कहिल्यै पदका लागि मरिहत्ते गरिनँ । पार्टीमा निरन्तर काम गरें । २०४६ पछिका निर्वाचनहरुमा पनि पार्टीका अन्य कमरेडहरुलाई सहयोग गरें, जिताउन भूमिका खेलें । तर, आफैं पदमा जाने सोच कहिल्यै आएन । अब त मेरो उमेरले डाँडा काटिसक्यो, म कतिखेर खोला जानुपर्छ थाहा छैन । मैले मेरो पूरै जीवन कम्युनिष्ट आन्दोलनमा लागेर बिताएँ । पार्टीसँग मेरो केही अपेक्षा छैन । कम्युनिष्ट पार्टी बलियो बन्नुपर्छ । एमाले बलियो हुनुपर्छ ।

प्रेरक व्यक्तित्व

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत भन्नुहुन्छ, ‘विचारी उराँव सुनसरीकै अगुवा कम्युनिष्ट हुन् । हामीले जान्दादेखि नै उहाँ जुझारु नेताका रुपमा चिनिनुभएको थियो । गरिबी, अशिक्षा र अविकास व्याप्त रहेको मधेसमा विचारीको विचार उच्च थियो । उहाँ निरन्तर लाग्नुभयो । उहाँ प्रेरणादायी व्यक्ति हो । जतिबेला म राजनीतिमा वामे सर्दै थिएँ, विचारीकै अभिभावकत्व र सल्लाहमा म अघि बढेको हो । उहाँ हाम्रो पार्टीको मात्रै होइन, नेपालको कम्युनिष्ट आन्दोलनकै गहना हो । हामी सबैको सम्पत्ति हो ।’

पुराना वामपन्थी नेता २०४९ र २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा दुई पटक महेन्द्रनगर गाउँ विकास समितिको अध्यक्ष भएका बद्रीनाथ घिमिरे विचारी उराँव पुराना नेता र भूमिगत कालदेखिकै कम्युनिष्ट रहेको बताउँछन् । हाल एमाले कोशी प्रदेश सदस्यसमेत रहेका घिमिरे भन्छन्, ‘विचारी उराँवलाई मैले २०३८ साल अघिदेखि नै चिनेको हुँ । उहाँ मेरो समकक्षी नेता हो । मेरो घर महेन्द्रनगर सालबन्दी त्यस समय भूमिगत कमरेडहरुको सेल्टर हो । विचारी पनि बरोबर मेरोमा आउनुहुन्थ्यो । हाम्रो पनि त्यतिखेरको पश्चिम कुसाहा जाँदा बस्ने घर विचारी उराँवकै हो । उहाँ सारै इमानदार मान्छे हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *