दार्चुला हिमपहिरो : आमा छोरासहित तीन शवको सनाखत, दुई जना अझै बेपत्ता – Nepal Press

दार्चुला हिमपहिरो : आमा छोरासहित तीन शवको सनाखत, दुई जना अझै बेपत्ता

कैलाली । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन् ।

तीन जनाको भने हिजो शव फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ ।

हिजो ३ जनाको शव फेला परेको र अझै २ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

हिजो भेटिएका तीन वटै शवको सनाखत भइसकेको प्रहरी निरीक्षक सिंहले बताए ।

उनका अनुसार नक्नी डोमा थापा, कमला कुँवर र प्रवीण कुँवरको शव फेला परेको हो । कमला र प्रवीण आमा छोरा हुन् ।

हिम पहिरोमा बेपत्ता भएका ईश्वरी थापा र क्षिभी सोमो थापाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी गर्न गएको टोली मौसम खराब भएपछि राति नै छाङरु फर्किएको थियो । अहिले केही बेर पनि पुन घटना स्थलमा खोजी र उद्धार टोली जाने छ ।

मङ्गलवार दिउसो आएको हिम पहिरोमा फसेकामध्ये सात जनाको सकुशल उद्धार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *