क्रान्तिकारी माओवादी र बहुमतको एकता र चुनौती – Nepal Press
ब्लग

क्रान्तिकारी माओवादी र बहुमतको एकता र चुनौती

नेपालको राजनीतिक, आर्थिक र सामाजिक नीतिमा व्यापक हेरफेर ल्याउन सक्ने ल्याकत राख्न नसक्ने पार्टीको औचित्य अब रहने अवस्था छैन

नेकपा क्रान्तिकारी (माओवादी) र नेकपा (बहुमत) बीचको एकता कम्युनिष्ट र वामपन्थीहरूको ठूलो चासोको विषय थियो । कतिपयले यसलाई नेपालको कम्युनिष्ट राजनीतिक परिदृश्यका लागि सम्भावित सकारात्मक विकासका रूपमा हेरेका छन् भने कतिपयले शंका र आलोचनासमेत गरेका छन् । दुवै पक्षका आआफ्नै तर्क हुनसक्छन् । यस आलेखमा एकताको ‌औचित्यलाई सम्भावना र चुनौतीको कसीमा राखेर केलाउने प्रयास गरिएको छ । यसका सम्भावना र चुनौतीलाई नेपालको राजनीतिक अवस्था, क्षेत्रीय र विश्वव्यापी परिवेशसमेत ध्यानमा राखेर चर्चा गरिनुपर्छ ।

क्षेत्रीय र विश्वव्यापी सन्दर्भ

नेपालको राजनीतिक अवस्थालाई क्षेत्रीय र विश्वव्यापी परिवेशबाट अलग गरेर बुझ्न सकिँदैन । नेपाल भूराजनीतिक प्रतिस्पर्धा र रणनीतिक प्रतिद्वन्द्विताको दृष्टिकोणले अर्थपूर्ण मुलुक हो । नेपाल एकातिर विश्व राजनीतिमा प्रभावसहित विजयोन्मुख शक्ति चीन र क्षेत्रीय अवस्थिति प्रभावित गर्न सक्ने भारतको बीचमा रहेको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को माध्यमबाट नेपालमा पूर्वाधार विकाससहित विभिन्न क्षेत्रमा सहकार्य गरी सम्बन्ध थप मजबुत, विस्तार, दीर्घकालीन बनाउँदै लग्ने सोचमा छ भने भारतले विगतदेखि नै हस्तक्षेपकारी राजनीतिक र आर्थिक सम्बन्ध राख्दै आएको छ ।

विश्वव्यापी परिप्रेक्ष्यमा पनि नेपालले थुप्रै चुनौतीहरूको सामना गरिरहेको छ । साम्राज्यवादी राष्ट्रहरुका बीचमा देखिएको शक्ति संघर्ष, साम्राज्यवादी मुलुक र त्यहाँका जनताबीच देखिएको संघर्ष, साम्राज्यवादी मुलुक र समाजवादी शक्तिबीच देखिएको संघर्ष, साम्राज्यवादी सत्ता र दलालबीचको संघर्ष तथा दलाल सत्ता र जनताबीचको संघर्षको प्रभाव नेपालमा पनि परिरहेको छ । जसका कारण मुलुकको परराष्ट्र नीतिमा समेत भद्र उल्लंघनसहित भद्दा कार्यान्वयन भैरहेको छ ।

दुई कम्युनिष्ट पार्टीको एकीकरणले यस क्षेत्रका अन्य वामपन्थी क्रान्तिकारी आन्दोलनलाई पनि एक हुन प्रेरित गर्नसक्छ । पछिल्ला समयमा विज्ञापन बटुलिरहेका साम्राज्यवाद निर्देशित दक्षिणपन्थीहरुको नयाँ प्रयोगलाई यसले काउन्टर गर्नसक्छ । विश्वस्तरमा दुई नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता विश्व कम्युनिष्ट आन्दोलनको नयाँ कोखसमेत बन्नसक्छ ।

नेपालको राजनीतिक अवस्था अहिले निकै संकटग्रस्त छ । कुर्सीका लागि विचार, सिद्धान्त सबै त्याग्न वा बदल्न तयार हुने राजनीतिक संस्कृति हावी हुँदै गएको छ । देशको कार्यकारी नेतृत्वमा रहेका प्रधानमन्त्री आफ्नो मूल काममा नभए जस्तो, मन्त्रीहरु मूल बाटो भुले जस्तो देखिन्छन् ।

मुलुकको राजनीतिबारे

हजारौंको बलिदानबाट गणतन्त्र स्थापना भए तापनि मूल नेतृत्वमा आएको विचलनले आन्दोलन छिन्नबिन्न हुँदा नेपालको राजनीतिक अवस्था अहिले निकै संकटग्रस्त छ । कुर्सीका लागि विचार, सिद्धान्त सबै त्याग्न वा बदल्न तयार हुने राजनीतिक संस्कृति हावी हुँदै गएको छ । देशको कार्यकारी नेतृत्वमा रहेका प्रधानमन्त्री आफ्नो मूल काममा नभए जस्तो, मन्त्रीहरु मूल बाटो भुले जस्तो देखिन्छन् । प्रमुख दलका मुख्य नेतालाई मुखिया बन्नुपर्ने मतिकै कारण साम्राज्यवादका नयाँ खेतालालाई जनताले हलो कोदालो बुझाउन बाध्य भएका छन् । जुन कुरा उपनिर्वाचनसम्म आउँदा थप प्रस्ट भएको छ ।

ठूला भनिएका दलले जनयुद्ध, जनआन्दोलन र विभिन्न जातीय, क्षेत्रीय संघर्षको जगमा बनेको संविधानको समेत रक्षा गर्न नसक्ने निरीह अवस्था सन्निकटमा छ । अर्काे शब्दमा भन्दा संसदीय व्यवस्थामार्फत मुलुकले शान्ति, स्वाधीनता, स्थायित्व र समृद्धि हासिल गर्न सक्दैन भन्ने निधो भैसकेको छ । यसलाई क्रान्तिकारी तरिकाले हेर्दा क्रान्तिका लागि वस्तुगत परिस्थिति बन्दै गएको छ । अहिले सत्ताको लुछाचुँडीले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक संकट र अराजकता निकै गम्भीर मोडमा पुगेको छ । यो नै संघर्षको लागि प्रमुख चुनौती र अवसर हो ।

दुई कम्युनिष्ट पार्टीको एकता देखावटीमात्र होइन भने साँचो अर्थमा एक आशा जगाउने क्रान्तिकारी राजनीतिक शक्ति बन्नसक्छ । जसले विद्यमान राजनीतिक व्यवस्थालाई चुनौती दिने तागत राख्नेछ । नेपालको आर्थिक र सामाजिक जीवनमा आमूल परिवर्तनको लागि धक्का दिनसक्छ । यद्यपि उक्त शक्तिले कठिन चुनौतीहरू पनि सामना गर्नैपर्नेछ । जसमा स्पष्ट खाकासहितको राजनीतिक कार्यदिशा, कार्यनीति र कार्यक्रम विकास गर्ने तथा जनतालाई आफ्नो उद्देश्यमा परिचालन गर्ने आवश्यकता रहेको छ ।

आर्थिक दृष्टिकोण

नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा दलाल पूँजीपति वर्ग हस्तक्षेपकारी र निर्णायक भूमिकामा छन् । बचेखुचेको राष्ट्रिय पूँजीमा तीनै दलालहरुको राइँदाइँ चल्दा संकटग्रस्त अवस्थामा छ । अर्थात अर्थतन्त्र पूरा टाट पल्टिँदै गएको तथ्यांकहरुले देखाइरहेका छन् । मुलुकको यस्तो जरजर अवस्थालाई मध्यनजर गर्दै एकताबद्ध पार्टीले मजदुर, किसान र श्रमजीवी वर्गको आवश्यकतालाई सम्बोधन गर्ने र गरिबी घटाउने सुसंगत आर्थिक योजना विकास गर्नुपर्नेछ । नेपालमा विवादित बनेको सीमाहीन विदेशी लगानीको मुद्दालाई पनि समाधानको उपायसहित सम्बोधन गर्नुपर्नेछ ।

पार्टी सञ्चालनसम्बन्धी परम्परागत बुझाइ र गराइबाट माथि उठ्नैपर्दछ । जसको आफ्नै अर्थनीति हुँदैन त्यसको राजनीतिक नारा र सत्ता तासको घर जस्तै हुन्छ भन्ने अनुभवबाट पाठ सिक्नैपर्छ । आन्दोलनमा देखिने आर्थिक अराजकतालाई मालेमाको साङ्लोले बाधिहाल्नुपर्छ । अर्थात पारदर्शी आचरण र सरल जीवनशैली हुनैपर्छ ।

अर्काेतर्फ आफ्नै पार्टी सञ्चालनसम्बन्धी परम्परागत बुझाइ र गराइबाट माथि उठ्नैपर्दछ । जसको आफ्नै अर्थनीति हुँदैन त्यसको राजनीतिक नारा र सत्ता तासको घर जस्तै हुन्छ भन्ने अनुभवबाट पाठ सिक्नैपर्छ । आन्दोलनमा देखिने आर्थिक अराजकतालाई मालेमाको साङ्लोले बाधिहाल्नुपर्छ । अर्थात पारदर्शी आचरण र सरल जीवनशैली हुनैपर्छ ।

सुदृढ संगठन

सांगठनिक दृष्टिकोणबाट नेकपा क्रान्तिकारी (माओवादी) र नेकपा (बहुमत)को एकताका लागि महत्वपूर्ण संगठनात्मक परिवर्तन, परिमार्जन र हेरफेरको आवश्यकता छ । दुइटै दलका आआफ्ना संगठनात्मक संरचना, नेतृत्व, सदस्यता र अभ्यासका आधारहरू छन् । जसलाई नयाँ, एकताबद्ध पार्टीमा केन्द्रीकृत गर्न आवश्यक छ । यसका लागि एकताको मूल लक्ष्य र उद्देश्यलाई केन्द्र भागमा राखेर संवादको सावधानीपूर्ण प्रक्रिया अर्थात सही मालेमावादी दृष्टिकोण लागू गर्नैपर्छ । साथै मतभेदहरू हटाउन र सामूहिक लक्ष्यतर्फ काम गर्ने इच्छाशक्ति पैदा गर्नुपर्छ । एकताबाट बनेको पार्टीले स्पष्ट सांगठनिक संरचना र जनवादी निर्णय प्रक्रियाको थप विकास र विनाहस्तक्षेप कार्यान्वयन गर्नुपर्छ । विचारमा प्रतिबद्ध दल, समूह, व्यक्तिलाई आन्दोलनको मोर्चामा स्वागत गर्न कुनै सर्त र स्वार्थ राख्नुहुँदैन ।

मूलतः संगठनात्मक संरचना सोच्दा स्वार्थ केन्द्रित, चित्त बुझाउने, मनाउने वा थन्क्याउने गैरमार्क्सवादी तरिकाको अन्त्य गर्ने आँट गरिनुपर्छ । जनतासँग नजोडिने, परिचालन नहुने र समाजवादी रूपान्तरणको संघर्षमा खास साइनो नहुने प्रवृत्तिमा कैची चलाउनैपर्छ । क्षमताअनुसारको काम, कामअनुसारको मूल्याकंनमा नेताले चिट चोराउने वा नम्बर घटाउने बुर्जुवा तरिका त्याग्नैपर्छ । नेता होइन नीति केन्द्रित, बानी होइन विचार केन्द्रित, परिवार होइन पार्टी केन्द्रित, धन होइन जन केन्द्रित, संगत होइन संघर्ष केन्द्रित नेता कार्यकर्ता उत्पादन र विकासमा जोड दिनुपर्छ । युवाहरुको आकर्षण र नेतृत्व विकासमा विशेष पहल लिनसक्ने हुनुपर्दछ ।

संघर्षको क्षेत्रमा

संघर्षको क्षेत्रमा नेकपा (क्रान्तिकारी) र नेकपा (बहुमत)को एकताले नेपाली जनताले दैनिक भोगिरहेको कष्ट र व्यवधानलाई सम्बोधन गर्दै अगाडि जाने स्पष्ट बुझाइमा आधारित हुनुपर्छ । अर्थात जनताको जीवनमा प्रत्यक्ष नजोडिएका मुद्दाले जनाकर्षण गर्दैन । त्यसैले साधारणबाट जटिल अर्थात ध्यान र जोडलाई कुशलतापूर्वक श्रृङ्खलाबद्ध गरिनुपर्छ । जसका लागि नेपालको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको गहिरो विश्लेषणका साथै विद्यमान राजनीतिक शक्तिहरूका बल र कमजोरीहरूको सावधानीपूर्वक अध्ययन र मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

नयाँ पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारी, महँगी, भ्रष्टाचार, सुदखोर लक्षित संघर्ष थालिहाल्नुपर्छ । त्यसपछि अधिकारको संघर्षलगायत जनताका थप संघर्षलाई प्राथमिकतामा राख्नुपर्छ । जनतालाई परिचालन गर्ने र जनवादी रूपान्तरणका लागि बृहत्तर आन्दोलनको निर्माण गर्ने स्पष्ट खाका पनि विकास गर्न आवश्यक छ ।

मूलतः संगठनात्मक संरचना सोच्दा स्वार्थ केन्द्रित, चित्त बुझाउने, मनाउने वा थन्क्याउने गैरमार्क्सवादी तरिकाको अन्त्य गर्ने आँट गरिनुपर्छ । जनतासँग नजोडिने, परिचालन नहुने र समाजवादी रूपान्तरणको संघर्षमा खास साइनो नहुने प्रवृत्तिमा कैची चलाउनैपर्छ । क्षमताअनुसारको काम, कामअनुसारको मूल्याकंनमा नेताले चिट चोराउने वा नम्बर घटाउने बुर्जुवा तरिका त्याग्नैपर्छ ।

सञ्चारमाध्यमको प्रयोग

एकताबद्ध पार्टीका लागि सञ्चारमाध्यमको प्रयोगमा सम्भावना र चुनौती उत्तिकै हुनेछन् । डिजिटल प्रविधिसँग डराउने र स्मार्ट प्रविधिमा सुस्ताउने तरिकाले अगाडि बढ्न कठिन हुनसक्छ । अहिले जनतामा आफ्नो सन्देश प्रभावकारी ढंगले पुर्‍याउन सञ्चार रणनीति निर्माण, विकास र प्रयोग गर्नुपर्ने हुन्छ । सञ्चारको मूलधार प्रचारित प्रभावशाली कथनको प्रतिरोध गर्न र फराकिलो दर्शकहरूमा पुग्न आफ्नै प्लेटफर्महरू विकास गर्न आवश्यक छ ।

संक्षेपमा भन्नुपर्दा डिजिटल मिडियाको वृद्धिसँगै नेपालमा सञ्चारमाध्यमको परिदृश्य तीब्र गतिमा विकसित भइरहेको छ । शास्त्रीय रुपमा हेर्दा मिडियालाई शासक वर्गले जनतामाथि आफ्नो शक्ति र नियन्त्रण कायम राख्न प्रयोग गर्ने औजारको रूपमा मात्र देखिन्छ । मिडिया र नयाँ प्रविधिले के शासक वर्गको मात्र सेवा गरेको छ त ? या गरिरहन्छ त ? यो हेर्दा त्यस्तो मात्र देखिँदैन । वैकल्पिक दृष्टिकोणहरूले सञ्चारको सदुपयोग गर्न नजान्दा या नचाहँदा जनताको पहुँचलाई सीमित गर्नसक्छ भन्ने कुरा बुझ्न ढिला गर्न हुँदैन । जनताका असहमतिपूर्ण आवाजहरूलाई जनताकै बीचमा लैजाने कार्यमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।

निष्कर्ष

यो एकीकरणले क्रान्तिकारी शक्तिहरूलाई सुदृढ पार्ने र शासक वर्गका विरुद्ध संयुक्त मोर्चा निर्माण गर्ने रणनीतिलाई प्रतिनिधित्व गर्नुपर्छ । आशा, आशंका र आरिसको बीचबाट जन्मिएको यो पार्टीले यथास्थिति कायम राख्न खोज्ने शक्तिशाली दलाल पूँजीवादी र अस्थिरता मच्चाउन खोज्ने साम्राज्यवादी षड्यन्त्रका चुनौतीहरूसँग लड्नुपर्नेछ । यो आन्दोलनलाई कमजोर बनाउन ती शक्तिहरुले विभिन्न जुक्ति लगाएर आफ्नो शक्ति प्रयोग गर्ने नै छन् ।

मालेमाका अनुसार समाजवाद हुँदै साम्यवादसम्म पुग्नु नै संघर्षको प्रक्रियागत मान्यता हो । जसका लागि जनसमुदायको परिचालन र क्रान्तिकारी पार्टीको निर्माण तथा विकास आवश्यक छ । समाजवादी रूपान्तरणको संघर्षमा जनताको नेतृत्व गर्ने र स्वाधीनता, समानता र सामाजिक न्यायका सिद्धान्तहरूमा आधारित नयाँ समाज निर्माण गर्ने मूल अभिप्राय रहेको हुन्छ ।

अन्त्यमा, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)को एकता एउटा जटिल र चुनौतीपूर्ण विषय हो । जसलाई राजनीतिक, आर्थिक, संगठनात्मक र संघर्षको आँखाबाट सावधानीपूर्वक गहिरो विश्लेषणसहित निष्कर्ष निकाल्नुपर्छ । यी दुई पार्टीको एकताले विद्यमान राजनीतिक व्यवस्थालाई चुनौतीमात्र दिएर पुग्दैन । नेपालको राजनीतिक, आर्थिक र सामाजिक नीतिमा व्यापक हेरफेर ल्याउन सक्ने ल्याकत राख्नुपर्छ । यद्यपि त्यसका लागि महत्वपूर्ण राजनीतिक, संगठनात्मक परिवर्तन र वर्ग संघर्षप्रति गहिरो प्रतिबद्धता भने जरुरी हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *