सिंहदरवारमा तीन दलबीच भयो यस्तो सहमति, संसदीय समितिको नेतृत्व र टीआरसीको गाँठो फुक्यो (भिडिओ) – Nepal Press

सिंहदरवारमा तीन दलबीच भयो यस्तो सहमति, संसदीय समितिको नेतृत्व र टीआरसीको गाँठो फुक्यो (भिडिओ)

काठमाडौं । उपनिर्वाचनबाट सत्ता गठबन्धन र नेकपा एमाले दुवै पक्ष पराजय भोग्दै गरेको रुझान आइरहेका बेला सिंहदरवारमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच पछिल्लो गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको तीन दलका शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन विशेष समिति गठन गर्ने सहमति भएको छ ।

स्रोतका अनुसार एमालेको अडानबमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति भएको छ । एमालेले २ विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।त्यस्तै एमालेले संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ सदस्यमध्ये कांग्रेस बराबर ४ सदस्य पाउने भएको छ ।

त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ । १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको छ ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषदसम्बन्धी विधेयक सीधै संसदमा लगेर पारित गर्ने सहमति भएको बताए ।

संवैधानिक परिषदसम्बन्धी कानूनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन ।

वार्तामा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

यो सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर