‘तङि्सङ्’ नबुझी लेखिएको ‘तङसिङ’, निराशाको आलापमात्रै ‘तङसिङ’ – Nepal Press

‘तङि्सङ्’ नबुझी लेखिएको ‘तङसिङ’, निराशाको आलापमात्रै ‘तङसिङ’

कवि राजा पुनियानीको कविता किताब ‘तङसिङ’(फेब्रुअरी, २०२२) बजारमा आएपछि साहित्यिक समाजको चासो बढ्दो छ । उनका कविता मलाई कहिले अनावश्यक झिँझो दिने झगडे मान्छे जस्तै, कहिले निर्दोष मान्छेलाई दोषी बनाइएपछि बनेका बदमास जस्तै, अर्जाप्दा अर्जाप्दै बेँडविना छोडिएको बाम्फक, बञ्चरोजस्तै लाग्छ ।

अप्रिल २०२२ तिर ‘तङसिङ’ किनेर ल्याएपछि दुईचार वटा कविता पढें । अनि यतिकै छोडेको थिएँ । तर, राजाका कविता आफैंमा सम्मोहक छन्, मनमा विनाकारण के के भएर सम्झना आइरहने । यसपालि सम्मोहनको अर्को कारण थपिएको थियो- सिंगो कविता संग्रह । उनका कविता पढेपछि वाक्यहीन अनुच्छेद लेख्ने झोंक चलेको थियो । तर, त्यस्तो सम्भव भएन र केही हरफहरू लेखिए यसरी-

लिम्बू मुन्धुमी शब्द तङि्सङ्

म स्वयं लिम्बू भएकाले ‘तङि्सङ्’ शब्द कानमा थुर्ने शब्दहरूमध्ये एउटा अत्यन्तै गहकिलो, गहिरो र रहस्यात्मक शब्द लाग्छ । लिम्बू संस्कृतिका अध्येता तथा वरिष्ठ कवि वैरागी काइँलाद्वारा संकलित र सम्पादित ‘तङि्सङ् तक्मा मुन्धुमः आख्यान र अनुष्ठान’ अध्ययन गर्नअघि ‘तङ्सिङ्’ एकप्रकारको पूजामात्र लाग्दथ्यो मलाई ।

विस्तारै लोकवार्ता र लोकजीवनबारे रूचि बढेपछि तङि्सङ् एक बृहत आख्यान समेटिएको अनुष्ठान भएको ज्ञात भयो । तङि्सङ् लिम्बू जातिले आफ्नो शाखा सन्तानलाई समेटेर सामूहिक रूपमा सम्पन्न गर्ने एकप्रकारको अनुष्ठान हो । यस शब्दलाई नेपाली कविताका सन्दर्भमा प्रयोग नगरिएको होइन । तर, कविता संग्रहकै शीर्षकका रूपमा ‘तङसिङ’ आएपछि भने त्यसतर्फ सम्मोहित नहुने कुरै आएन ।

युमा, तङि्सङ्, सोलो, नृकेन्द्रीय दर्शन

अत्यन्तै जोखिम र जिम्मेवारीपूर्ण तर, नितान्त नवीनतातिर उन्मुख हुन प्रवृत्त भइने कार्य हो कविता लेखन । नयाँ ढङ्गमा भन्नसक्नु नै यसको खास प्रवृत्ति लाग्छ । त्यसमाथि पनि नयाँ विषयवस्तुको उद्घाटन गर्नु अर्को आनन्दको कुरा हुन्छ । तङसिङ कविता संग्रहका कविलाई यस अर्थमा सायद आनन्दित पाउँछौं हामी । तर, तङसिङ कविताको पहिलो पातो पल्टाउँदा नै दिमागमा स्वतः प्रश्न आएको थियो, समर्पणका शब्द लेखिएका छन्, … युमा पृथ्वीलाई ।

कविले ‘महिनावारीमा छ युमा’ नामक कवितामा युमाको चित्रण यौवनाका रूपमा गरेका छन् । मुन्धुममा वर्णित युमालाई लिम्बूहरूले सारा ज्ञानकी धनी, सरसम्पत्ति र घरपरिवारको रक्षा गर्ने वृद्धा आराध्य देवीका रूपमा ग्रहण गर्दै आइरहेका छन् । जसलाई कविले त्यति गम्भीरतापूर्वक नलिएको भान हुन्छ ।

युमा लिम्बू शब्द हो, जसले बोजू, हजुरआमाको अर्थ दिन्छ । पूजा अनुष्ठानका क्रममा सम्बोधन गरिने शब्द युमाको अर्थ बोजू देउता भन्ने हुन्छ । मुन्धुममा कतै पनि युमालाई धरती माता भनेर उल्लेख गरिएको छैन । पृथ्वी वा धरतीलाई त्यहाँ इक्सा खाम्बेक (निरन्तर घुमिरहने पिण्ड) भनेर वर्णन गरिएको पाइन्छ । तर, पृथ्वीलाई आमा मान्ने संस्कृति मुन्धुमी संस्कृतिमा रहेको पाइन्न ।

‘तङसिङ’मा युमालाई पृथ्वी भनिएको छ । तर, उक्त शब्दको अध्ययनप्रति कवि किन गम्भीर भएनन् भन्ने भान भइरहेछ । कविले ‘महिनावारीमा छ युमा’ नामक कवितामा युमाको चित्रण यौवनाका रूपमा गरेका छन् । मुन्धुममा वर्णित युमालाई लिम्बूहरूले सारा ज्ञानकी धनी, सरसम्पत्ति र घरपरिवारको रक्षा गर्ने वृद्धा आराध्य देवीका रूपमा ग्रहण गर्दै आइरहेका छन् । जसलाई कविले त्यति गम्भीरतापूर्वक नलिएको भान हुन्छ ।

वर्तमान समयमा यस्ता लघु आख्यानात्मक चरित्र र रचनाहरूप्रति साहित्यिक चासो बढ्दै गइरहेको र त्यसले नेपाली साहित्यमा नौलो आयाम थपिरहेको सुखद पाटो छँदैछ । तर, यस्ता चरित्र र विम्बको प्रयोगमा रचनाकारहरू अवश्यै गम्भीर हुनुपर्ने देखिन्छ ।

कविताको अर्को पातो पल्टाउँदा पाइन्छ ‘इको-सोलो’ । साधारण प्रश्न छ एउटा- ‘तङि्सङ्’ शब्द आफैले समग्रता, समूह बुझाउँछ । लगभग तङि्सङ् शब्दकै विपरीतार्थ शब्दका रूपमा चलाउन मिल्ने अंग्रेजी शब्द हो ‘सोलो’ । यसरी तङसिङसँग आएको सोलो शब्दले कस्तो अर्थ बुझाउन खोजेको हो भन्ने लागिरहन्छ ।

तङि्सङ् मुन्धुमले बोकेको दर्शन कस्तो हो ? के यसमा पृथ्वीको रक्षार्थ प्रार्थना सामेल छन् ? आज सरोकारको विषय बनेको प्रकृति रक्षाका सिद्धान्तसँग तङि्सङ्‍को दर्शन कसरी खाप खान्छ ? तङि्सङ् मुन्धुमले मूलतः मान्छेको समाजलाई आफ्नो सरोकारको विषय बनाएको छ । तागेरानिवाफुङमाले पोरोक्मी यम्फामीका माध्यमले संसारको सृष्टि गर्दा जलचर थलचर (Fauna and Flora)को सृष्टि गरेपछि पनि मानवको सृष्टि नभइञ्जेलसम्म पृथ्वी अधुरो रहेको देख्छ । यसपछि मान्छेको सृष्टि गरेको वर्णन छ ।

मान्छेको सृष्टिपछि पनि मान्छेकै सुरक्षार्थ अनेकौं अनुष्ठान सम्पन्न गर्ने परम्परा प्रारम्भ भएको मुन्धुममा वर्णित छ । यो नृकेन्द्रवादी दर्शनतर्फ फर्किएको छ । यसो हो भने कविले समग्र कविताबाट पोख्न खोजेका आशयलाई तङसिङ शब्द वहन गर्न सकेको छ त ?

यो शब्द नौलो सुनिने हुनाले यसै प्रयोग गरिएको वा कवि आफैं लिम्बूको भान्जा भएकाले त्यसतर्फको वात्सल्य प्रेमका लागि गरिएको गहिरो प्रतिप्रेमको प्रतिफल हो ? साहित्यको सांस्कृतिक अध्ययनमा पाठ र त्यसका सान्दर्भिक कुराहरू पनि स्वतः आउने हुनाले यति कुरा यहाँ आउने नै भए ।

कविताका कतिपय अध्येताहरू कविताको उपादेयताप्रति नाक खुम्च्याउँछन् र भन्छन्, ‘कविता आफैंमा साध्य हो साधन होइन ।’ अब भने त्यसलाई एउटा दृष्टिकोणका रूपमा मात्र हेरिन्छ । साहित्यको पछिल्लो अध्ययनले कविताका सन्दर्भहरू र त्यसका उपादेयताबारे राम्रो छलफल गर्दै आइरहेको छ ।

तङसिङ कविता संग्रहलाई ‘इको पोयट्री’ भनेका छन् कवि आफैंले । दक्षिण एसियाको माथिल्लो भाग वा हिमालयको फेदीदेखि कछार हुँदै केही समतलसम्म बसोबास गर्ने हामी नेपालीहरूको जीवन प्रकृतिसँगको तादात्म्यले सहज र सुन्दर प्रकार बनेर आइरहेको हो । हाम्रा पुर्खाहरूले अवलम्बन गर्दै आएका परम्परित जीवन पद्धति र तरिकाहरूले यहाँको वातावरण र जलवायुसँग घुलमिल गरी जिउने सहअस्तित्वको पुर्ख्याैली सिद्धान्तलाई पुष्टि गर्छ ।

हामीले सधैं प्रकृतिका अन्य निर्मितीहरूसँग सहअस्तित्व कायम गर्दै आइरहेका छौं । हामी न दोहन गर्ने पक्षमा छौं न त यसलाई आफूमाथि आक्रमण गर्ने अवसर नै दिएका छौं । यसैले प्रकृति दोहनको मुहान कहाँ हो ? यसको दोहनमा मुख्य भागीदार को हो ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ ।

आजको जलवायुको अवस्था अत्यन्तै चिन्ताजनक छ । तर, त्यसमा आफू अनि आफ्नो समाजलाई कति प्रतिशत जिम्मेवार ठान्ने ? यस विषयमा विचार गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा यस विषयमा कलम चलाउने साहित्यकारहरूले आलोचनात्मक दृष्टिकोण राख्नु आवश्यक छ । कविताभरि हामीले प्रकृतिको दोहन गर्‍यौं, अब हामी मासिने छौं भनेर आलाप गर्नु र आफूलाई मात्र चिथोर्नुको कुनै तुक छैन ।

इको कविता प्रकृतिको दोहनविरूद्धको आवाज हो भने त्यसलाई रोक्ने उपाय के हुन् त ? त्यसबारे लेखक आफै पनि स्पष्ट हुनुपर्छ । कविताले जलवायु परिवर्तन र यसका नकारात्मक प्रभावलाई कम गर्न अवश्य सहयोग गर्ला । कवि यसतर्फ विश्वस्त हुनुपर्छ । कविले कविताका माध्यमबाट शक्ति सञ्चार गर्नुपर्छ । तर, कवि पुनियानीले कवितामा निराश प्रकारको आलाप पोखेका छन् यसरी-

रूख काट्नु बन्द गराउने छैन कविताले
आकाश छेड्नु बन्द हुने छैन कविताले
चरा हराउनु बन्द गराउने छैन कविताले
कार्बन उड्नु बन्द हुने छैन कविताले
हिउँ पग्लिनु बन्द हुने छैन कविताले
हावा तात्तिनु बन्द हुने छैन कविताले (पृथ्वीलाई प्रेमपत्र, तङसिङ, पृ.३९)

कविताका कतिपय अध्येताहरू कविताको उपादेयताप्रति नाक खुम्च्याउँछन् र भन्छन्, ‘कविता आफैंमा साध्य हो साधन होइन ।’ अब भने त्यसलाई एउटा दृष्टिकोणका रूपमा मात्र हेरिन्छ । साहित्यको पछिल्लो अध्ययनले कविताका सन्दर्भहरू र त्यसका उपादेयताबारे राम्रो छलफल गर्दै आइरहेको छ । तङसिङ कविता संग्रह साहित्यको यही पछिल्लो आशयलाई लिएको सिर्जना गरिएको कृति हो ।

लघु आख्यनसहित सामाजिक सरोकारलाई सम्बोधन गर्नु यस कविता संग्रहको सबल पक्ष हो । यति हुँदाहुँदै कविले आफ्नो कविताको शक्तिप्रति शंका गरेर माथिका पङ्क्तिहरू लेख्दा आरोहीले हिमाल चढेर टुप्पामा पुग्नेबेला चिप्ली झरे झैं बेस्वादिलो भान हुन्छ । यदि कवि आफैंले यसरी लेख्न थाले इको कविता रचनाको उपादेयता के ? इको कविताले एकै थोपा नि अम्लीय वर्षा रोक्न सकेन भने रूख काटेर त्यसकै छालामासु काडेर कागज बनाइ त्यसमाथि त्यसको मृत्युको प्रेमपत्र लेख्नुमा के अर्थ छ ?

यस कविता संग्रहभित्र मानिसहरूका सांस्कृतिक विविधता र त्यससँग सम्बन्धित जलवायु परिवर्तनका विषयलाई सम्बोधन नगरेर सालाखाला रूपमा मान्छेलाई दोष दिइएको छ । यदि त्यस्तो हो भने अब प्रकृति बचाउन मान्छे नरहने बेला भयो भन्ने निष्कर्षमा पुगिन्छ ।

साथै कविले आलोचनात्मक दृष्टिकोण नराखी समाजलाई सालाखाला रूपमा एकै ठाउँ मुछेर सबैलाई त्यसको समान भागीदारी मान्नु कतिको तर्कपूर्ण र न्याय संगत हो ? के नगर र ग्रामीण दुवै ठाउँमा बसोबास गर्ने, प्रकृतिसित तादात्म्य राखेर जीवन जिउने आदिवासीहरू र कर्पोरेट संसारमा व्यस्त रहने मान्छेहरू प्रकृतिको दोहनमा समान भागीदार छन् ? सांस्कृतिक विविधताले त्यसमा कुनै महत्व राख्दैन ? यस कविता संग्रहभित्र मानिसहरूका सांस्कृतिक विविधता र त्यससँग सम्बन्धित जलवायु परिवर्तनका विषयलाई सम्बोधन नगरेर सालाखाला रूपमा मान्छेलाई दोष दिइएको छ । यदि त्यस्तो हो भने अब प्रकृति बचाउन मान्छे नरहने बेला भयो भन्ने निष्कर्षमा पुगिन्छ ।

तङसिङ-को ऐतिहासिक महत्व

तङसिङ कविता संग्रहले समेट्न खोजेको विषयवस्तु र त्यससँग सम्बन्धित वैचारिक तन्तुहरूमाथि विषद चर्चा र समीक्षा गर्न बाँकी नै छ । नेपाली साहित्यमा प्रकृति चिन्ताका कवितामाथि भर्खरमात्र प्राज्ञिक चर्चाले गति समाएको छ । कवि राजा पुनियानी आफैंले यस कविता संग्रहलाई ‘इको-कविता’ भनेका छन् ।

पर्यावरण चिन्तनमाथि लेखिएका कविताहरूलाई ‘परिवेश कविता’ भन्नुपर्ने तर्क यस क्षेत्रमा विशेष अध्ययन गरिरहेका डा. देवचन्द्र सुब्बाको भनाइ छ । अर्का समालोचक डा. गोविन्दराज भट्टराईले यसका निम्ति इको-साहित्य, परिवृत्तीय सिर्जना शब्द प्रयोग गरेका छन् । डा. भट्टराईका अनुसार यस विषयमा भारतबाट लेखिएको पहिलो सिर्जनात्मक पुस्तक जुन, सन् २०२१ मा शान्तिपुर, गुवाहाटी, आसामबाट प्रकाशित डा. देवेन सापकोटाको ‘परिश्रान्त पृथ्वी’ (इको कविता संग्रह) हो ।

डा. सुब्बाले ‘भारतबाट इको कविता भनेर अर्को एउटा संग्रह पनि प्रकाशित छ’ भनेर कवि पुनियानीको तङसिङ कविता संग्रह काव्यिक रचनाका रूपमा सफल कविता संग्रह भनेर लेखेका छन् । पुनियानीको तङसिङ र सापकोटाको परिवेश कविताको तुलनात्मक अध्ययन गर्दा नितान्त पर्यावरण चिन्तन र त्यसका विविध पाटाहरूलाई समेटेर लेखिएको कविता संग्रह भने सापकोटाको ‘परिश्रान्त पृथ्वी’लाई मान्न सकिन्छ ।

प्रकाशनका दृष्टिले पनि सापकोटाको कविता संग्रह नै अघि प्रकाशित भएको छ । भारतबाट छापिएको पहिलो परिवेश कविता (इको पोयट्री) ‘परिश्रान्त पृथ्वी’ लाई मान्न सकिन्छ । तर, ‘तङसिङ’ कविता संग्रहले समेटेको नेपाली लोकजीवन, लोकभाकासहितको लघु आख्यानात्मक पुटले परम्परितभन्दा छुट्टै रूपकको निर्माण गर्नु महत्वपूर्ण पाटो हो । नेपाली साहित्यमा समावेशी साहित्यिक आन्दोलनले उठान गरेको नेपाली मौलिक जनजीवनयुक्त लघु आख्यानात्मक लेखनलाई यस कविता संग्रहले पनि बहन गरेको छ, जो नेपाली कविताका सन्दर्भमा नौलो प्राप्ति मान्न सकिन्छ ।

तङसिङले आद्य विम्ब ‘युमा’(जो एक नारी शक्तिको प्रतीक हुन्)को सौर्य र शक्तिलाई सकारेको छ । यस संग्रहको एउटा महत्वपूर्ण र उल्लेखनीय पक्ष हो यो । पारिस्थिकी नारीवादको एउटा शाखा आध्यात्मिक पारिस्थिकी नारीवादले पितृ सत्तात्मक समाजको स्थापनाभन्दा अघि समाजमा नारी शक्तिलाई पुज्ने गरिएको औ त्यसको फलस्वरूप प्रकृतिको सुरक्षाको सुनिश्चितता आधुनिक युगभन्दा धेरै अघि भएको तर्क गर्छ । यसै सन्दर्भमा अध्येताहरूले अमेरिकी आदिवासी, हिन्दु धर्म र स्थानीय सांस्कृतिक समूहहरूले पुज्ने देवी शक्तिको उल्लेख गरेका छन् ।

‘तङसिङ’ कविता संग्रहमा उल्लेख गरिएको ‘युमा’ नेपाली समाजले विभिन्न नामले पुज्दै आएको यस्तै देवी हुन् । लिम्बूहरूले यसलाई युमा वा युमा साम भनेर मान्ने गर्छन् । नेपाली समाजभित्रकै अरू गोष्ठीले इमासाङ, बुढीबोजू, नयाँ देउता आदिका रूपमा मान्दै आएका छन् । नेपाली समाजमा नारी शक्तिलाई दुर्गा भवानी, रणचण्डी, जङ्गली, वनश्खण्डी, डोलमा, लक्खी आदि नामले पनि पुज्ने चलन छ । यी देवीहरूको रूप, रङ्ग, शैली आदि फरक रहे पनि यी सबै नारी शक्तिकै प्रतीक हुन् ।

उनको पहिलो कविता संग्रह ‘अर्को लस्कर’मा नपाइएको प्रकृति चिन्तनका विषय उनको काव्य लेखनमा यसपटक ठूलो फड्कोका रूपमा देखिएको छ । हुन त नेपाली कविताका क्षेत्रमा पर्यावरण विषयमा कविता लेखिनु त्यति नौलो कुरो होइन ।

नेपाली समाजमा विद्यमान देवी पुज्ने परम्परा र संस्कृतिले यस समाजमा रहेको मातृसत्तात्मक गुणलाई दर्शाउँछ । संसारका विभिन्न समाजमा पितृसत्ताले छोप्दै र परास्त गर्दै ल्याएको यस्तो मातृ शक्तिको पुनः जागरणले पर्यावरणको सुरक्षामा सकारात्मक कार्य हुनसक्ने सुझाव आध्यात्मिक पारिस्थिकी नारीवादले दिँदै आएको छ । जसलाई तङसिङ कविता संग्रहले उठान गरेको एउटा बलियो पाटो मान्न सकिन्छ । एउटा उदाहरण-

त्यसपछि दैलोमा देखा पर्छिन्
च्याब्रुङ बोकेको युमा ।
उनको पछि पछि अरु आकारहरू पनि छन् ।

हरियो हाफप्यान्ट लगाएको, क्लिन सेभ्ड साल्भाडोर डाली । इलेक्ट्रिक सारङ्गी बोकेको मोट्टे बब डिलन । इलेक्ट्रिक पेनको पुच्छर भएको अग्ले अल्बर्ट आइन्स्टाइन…..( तङसिङ, पृ ६२)

तङसिङमा प्रयोग मोह

सर्जकले सधैं आफ्नो अघिल्लो कार्यशैलीलाई विस्थापित गरेर अथवा अझ निखारेर तथा पूर्ववत् झैं एकाम्य र स्थितप्रज्ञ झैं रहेर अघि बढ्नमा रूचि लिन्छ । तङसिङका कवि पुनियानी यसमध्ये प्रयोगप्रति मोह राख्ने कवि हुन् । यसपल्ट उनको प्रयोगको प्रमुखता पहिलो विषयगत र दोस्रो शैलीगत रहेको छ ।

उनको पहिलो कविता संग्रह ‘अर्को लस्कर’मा नपाइएको प्रकृति चिन्तनका विषय उनको काव्य लेखनमा यसपटक ठूलो फड्कोका रूपमा देखिएको छ । हुन त नेपाली कविताका क्षेत्रमा पर्यावरण विषयमा कविता लेखिनु त्यति नौलो कुरो होइन । तर, त्यसलाई नै चिन्ताको विषय बनाएर कविता संग्रह नै प्रकाशित गर्नु उल्लेखनीय कार्य हो । त्यसमाथि पनि सर्जकले त्यस विषयलाई कतिको आलोचनात्मक दृष्टिकोण राखेर कलम चलाएका छन् भन्ने कुरा नितान्त सरोकारको कुरा हो ।

अब ‘तङसिङ’ कविता संग्रहलाई अड्को थापेर यसैका आधारमा नेपाली कवितामा प्रकृति चिन्तनको जरा र हाँगाबिँगा केलाउन सकिने स्थिति देखापरेको छ । नेपाली कविताले प्रकृति चिन्तन र पर्यालेखनका सन्दर्भमा कस्तो सिद्धान्तलाई अवलम्बन गरेको छ ? उक्त अवलम्बित सिन्द्धान्त र दर्शनले प्रकृतिको दोहनलाई कम गर्न कसरी सहयोग पुग्छ भन्ने विषयलाई उजागर गर्न सकिए अर्को महत्त्वपूर्ण कार्य हुनेछ । समीक्षकहरूले पनि सिर्जित पाठलाई समकालीन विश्वमा चलिरहेका पर्यावरण विमर्शका अद्यावधिक सैद्धान्तिकीलाई अवलम्बन गर्दै पाठको सन्दर्भअनुसार मूल्यांकन गरी त्यसलाई अझ नौलो दिशा दिन सक्नुपर्ने चुनौती रहेको छ ।

कवि पुनियानीले यसपल्टको आफ्नो कविता संग्रहलाई परिवेश कविताका रूपमा प्रस्तुत गरेका छन् । नेपाली साहित्यमा भने यसभन्दा अघि नै यस विषयमा कविता गीतहरू लेखिएका छन् । कवि अविनाश श्रेष्ठ, मनप्रसाद सुब्बा तथा श्रवण मुकारूङ प्रभृतिका कविता र गीतहरू यस सन्दर्भमा उल्लेखनीय छन् । यसकारण कवि राजा पुनियानीको उक्त विषयगत प्रयोग समग्र नेपाली कविताका क्षेत्रमा नभएर उनको आफ्नो काव्य लेखनका सन्दर्भमा भने नौलो हो । यस आधारमा तङसिङ कविता संग्रह प्रयोग मोहसहित आएको कविता संग्रह मान्न सकिन्छ ।

कवि पुनियानी फरक शैलीमा लेख्ने कवि हुन् । उनको उक्त शैलीको जानकारी ‘अर्को लस्कर’ले नै दिएको हो । मूलतः लामा र श्रृंखलित कविता रचनामा हात बसेका कविले यसपल्ट छोटा कविताको प्रयोग पनि गरेका छन् । यस कविता संग्रहमा कतिपय नितान्त नौलो लागे तापनि ती नेपाली कविताका क्षेत्रमा अघिबाटै प्रयोग भइसकेका शैलीगत संरचनामा निरन्तरतामात्र हो ।

नेपाली कविताले प्रकृति चिन्तन र पर्यालेखनका सन्दर्भमा कस्तो सिद्धान्तलाई अवलम्बन गरेको छ ? उक्त अवलम्बित सिन्द्धान्त र दर्शनले प्रकृतिको दोहनलाई कम गर्न कसरी सहयोग पुग्छ भन्ने विषयलाई उजागर गर्न सकिए अर्को महत्त्वपूर्ण कार्य हुनेछ ।

यस कविता संग्रहमा प्रयुक्त विधा मिश्रित काव्य संरचनाको प्रयोग सन् २००७-८ तिर भारतमा चलेको ‘विचलन’ साहित्यिक आन्दोलनका कविहरूले उल्लेखनीय मात्रामा प्रयोग गरिसकेका छन् । कवि सुधीर छेत्री, उज्ज्वल बम्बजन तथा जय ‘क्याक्टस’ आदिका कविता तथा किनारीय लेखनका कवि मनप्रसाद सुब्बाका कविताहरूमा यस्तो प्रयोग भेटिन्छ । यति हुँदाहुँदै पनि विधा मिश्रणका प्रयोगिक ढाँचाका सन्दर्भमा कवि पुनियानीको ‘तङसिङ’ कविता संग्रहका कतिपय कविताले आकाश छोएको छ ।

‘अब घरमात्र छ टक्रक्क’ कवितामा कविले कविताको परम्परित संरचनालाई लगभग सम्पूर्ण रूपमा त्यागेका छन् । संरचित पाठलाई कविता मान्ने कि नमान्ने भन्ने विषय पनि कविताको संरचनाका सन्दर्भमा विमर्शयोग्य विषय हो । कविले यस पाठलाई ‘फिक्सन-कविता’ भनेका छन् ।

फिक्सनलाई हामी आख्यानका अर्थमा लिन्छौं । तर, आख्यान कथा र उपन्यासमात्र मान्ने प्रचलन रहे तापनि सैद्धान्तिक आधारमा आख्यान यी विधामा मात्रै सीमित रहँदैन । तर, फिक्सन कविता र ननफिक्सन कविता भनेर छुट्याउनु कतिसम्म तर्कसम्मत छ भन्ने प्रश्न पनि छ । अर्कोतर्फ आख्यान चाहिँ हाम्रो यथार्थ जीवनभन्दा बेग्लै कुरा हो । यसर्थ आफ्ना मित्र, नातेदार आदिको प्रसङ्गलाई जस्ताको तस्तै राख्नाले त्यो साहित्य होइन, एउटा घटना विवरणसम्म हुनसक्ला ।

जे होस् यस संग्रहभित्र रहेका यस्ता प्रयोगमूलक पाठहरूले अध्येयताको गिदी अवश्यै कुतकुत्याइ दिन्छ । हुन त सर्जक जहिले पनि उन्मुक्त हुन रुचाउँछ । उन्मुक्ति खोज्नु मानव मात्रको गुण हो । उत्तर संरचनावादी मिलाइल फुकोले सारा शक्ति र संकथनबाट मान्छे मुक्त हुन सक्छ भन्ने तर्क राखेका छन् । मान्छेको मुक्तिका निम्ति तर्क गर्ने फुकोले पनि सय प्रतिशत मुक्ति पाइन्छ भन्ने कुरा ठोकुवा गर्न सकेका थिएनन् ।

यही कुरा साहित्यिक पाठका सन्दर्भमा पनि लागू हुने देखिन्छ । कविताका सन्दर्भमा लागू हुन्छ । कुनै पनि साहित्यिक पाठले अन्ततः कुनै नै कुनै तन्तुले आफूलाई अन्य विधाभन्दा फरक पार्नैपर्ने हुन्छ । तब नै उक्त न्यूनतम तन्तुका खोजमा हामी लाग्छौं । त्यस्तो तन्तु लगभग नभेटिए एउटा अजङ्गो प्रश्न आउँछ त्यहाँ-  के त्यसलाई कविता मान्न सकिएला ? के तङसिङभित्र समाविष्ट ‘अब घरमात्र छ टक्रक्क’- लाई कविता मान्न सकिएला?

तङि्सङ्, तङसिङ र हङ्सिङ

यहाँ तीनवटा शब्द तङि्सङ्, तङसिङ र हङ्सिङ् प्रयोग गरिएको छ । कवि पुनियानीद्वारा लिखित संग्रह ‘तङसिङ’ हो भने कवि वैरागी काइँलाद्वारा संकलित र सम्पादित तथा लिम्बू समुदायको जीवनसँग सम्बन्धित सम्पादनमूलक आख्यान्यात्मक अनुष्ठान चाहिँ ‘तङि्सङ्’ । ‘हङ्सिङ’ चाहिँ मुन्धुममा वर्णित ‘च्याब्रुङ’ लाई सम्बोधन गरिने नाम विशेष हो । यसलाई मुन्धुममा ‘नियारा हङ्सिङ’ भनेर पुकारिन्छ । यस लेखमा भने हङ्सिङ्लाई ध्वनि विम्बका रूपमा प्रयोग गरिएको हो । ‘हङ्सिङ्’ जो गुञ्जन्छ, हल्ला गर्छ र त्यसले टाढाटाढासम्म ध्वनि फैलाउँछ । यहाँ तङसिङ कविता संग्रहले सृष्टि गरेको काव्यिक ध्वनि र हल्लाका सन्दर्भमा ‘हङ्सिङ्’ शब्द उपयुक्त लाग्यो र प्रयोग गरिएको छ ।

कवि पुनियानीले काव्य भाषाका सन्दर्भमा परिचित अपरिचितीकरणको मार्ग समातेर ‘तङसिङ’ शब्दको प्रयोग गरेका छन् । तङि्सङ् शब्दले कविताको शीर्षकका रूपमा प्रयोग हुँदा यसले नयाँ अर्थ र सन्दर्भ प्राप्त गरेको छ ।

सर्जकहरू जहिले पनि केही नौला प्रस्तुतिका निम्ति प्रयासरत हुन्छन् । तर, भनिन्छ, संसारमा जति वस्तु छन्, ती नयाँ कहिले हुँदैनन् । ती कि त पुनर्निर्मित हुन्छन् अथवा रूपान्तरित गरिन्छ वा आफैं रूपान्तर हुन्छन् । सायद एउटा प्लास्टिकको बोतललाई कारखानामा लगाएर कुनै खेलौना आदिमा रूपान्तरित गरिए जस्तै ।

कलाका विभिन्न क्षेत्रमा यस्तो नियम लागू हुने गर्छ । कलाका क्षेत्रमा यस्तो विशेष क्रियालाई बा ‘अपरिचितीकरण’ औ अंग्रेजी भाषामा ‘डिफेमिलियराइजेसन’ (Defamiliarization) शब्दको प्रयोग गरिन्छ । नौलो बनाउनु, अपरिचित बनाउनु, सामान्यलाई असामान्य बनाउनु आदि अर्थ दिन रसियाली रूपवादीहरूले प्रयोग गरेका ‘ओस्त्रोननय’ (Ostranenie) शब्दको अंग्रेजी र नेपालीमा प्रयोग हुन् यी माथिका दुई शब्द । कवि पुनियानीले अपरिचितीकरणको यही उपाय अपनाएर तङि्सङ् शब्दलाई तङसिङका रूपमा कसरी प्रयोग गरेका छन् ? कविको यस्तो प्रयोगको हङ्सिङ्गे ध्वनिको खोज यस विमर्शको उद्देश्य हो ।

तङि्सङ्, तङसिङ

कवि पुनियानीको कविता संग्रहको नाम ‘तङसिङ’ आफैंले नेपाली साहित्यको यस पछिल्ला कालमा लघु आख्यानले पाउनुपर्ने महत्वको वैचारिकीलाई बोकेको छ । कवि पुनियानीले काव्य भाषाका सन्दर्भमा परिचित अपरिचितीकरणको मार्ग समातेर ‘तङसिङ’ शब्दको प्रयोग गरेका छन् । तङि्सङ् शब्दले कविताको शीर्षकका रूपमा प्रयोग हुँदा यसले नयाँ अर्थ र सन्दर्भ प्राप्त गरेको छ ।

पाठको शीर्षक उही र एकै प्रकारको पढ्न र हेर्न अभ्यस्त भएको हाम्रो साहित्यिक संस्कारमा यसरी एउटा अर्कै सन्दर्भमा प्रयोग गरिने शब्दलाई पुस्तकको शीर्षक नै राख्नाले पाठकको चेतनामा ताजा वातावरण सिर्जना हुन्छ र यस्ता पाठहरू निकै रूचि लिएर पढ्ने गरिन्छ । केही वर्षअघि अपरिचितीकरणको यही कला समाएर उपन्यासकार छुदेन काविमोले आफ्नो उपन्यासको नाम ‘फातसुङ’ राखेर प्रकाशित गरे । ‘फातसुङ’ र ‘तङसिङ’ दुवै क्रमैले लेप्चा अनि लिम्बू भाषाका शब्द हुन् । पुस्तकका यी दुवै शीर्षकले नेपाली साहित्यका पाठकहरूलाई नयाँ उत्सुकता दिने काम गरेको छ । यसरी पहिलोचोटि झट्ट हेर्दा अलग, फरक देखिनु यस कलाको एउटा विशेषता हो । तर, हाम्रो पाठकीय झट्ट हेरिँदा पर्ने प्रभावसम्म मात्र सीमित रहन मान्दैन औ त्यस शब्दको उत्सव र मुहानतिर अग्रसर हुन्छ ।

शब्द ‘तङसिङ’को मुहान र परिवेश कवितासँग त्यसको तालमेल

झट्ट सुन्दा औ देख्दा शब्द ‘तङसिङ’ लयात्मक त छँदैछ । लिम्बूहरूले परापूर्वकालदेखि पालन गर्दै आएका एकाधिक मुन्धुमी अनुष्ठानमध्ये ‘तङि्सङ् तक्मा मुन्धुम’ पनि एउटा हो । कवि तथा मुन्धुमविद् वैरागी काइँलाले ‘आख्यान र अनुष्ठान’ नामकरण गरी लिम्बू लोक जीवनमा प्रचलित यस अनुष्ठानको संकलन गरी छापामा ल्याउँदा ‘तङि्सङ्’ भनी यस शब्दमा आएका दुईवटा ‘ङ’ मा हलन्त प्रयोग गरेका छन् । यही शब्दलाई कवि राजा पुनियानीले आफ्नो कविता संग्रहको शीर्षक राख्दा हलन्त हटाएर अजन्त प्रयोग गरी ‘तङसिङ’ राखेका छन् । यसर्थ यी दुई शब्दबीच पार्थक्य ल्याउन हलन्तको हेरफेरमात्र गरिएको छ । यसरी यहाँ भन्न सकिन्छ ‘तङ्सिङ्’ शब्दले लिम्बू जातिमा प्रचलित विशेष प्रकारको अनुष्ठान औ ‘तङसिङ’ भन्नाले कवि राजा पुनियानीद्वारा प्रकाशित कविताको पुस्तक बुझिन्छ ।

स्व. इमानसिंह चेम्जोङ मूल सम्पादक औ वैरागी काइँला प्रधान सम्पादक रहेको लिम्बू-नेपाली-अंग्रेजी शब्दकोशको एउटा अर्थअनुसार ‘तङि्सङ्’ भन्नाले ग्रह-खड्गो वा ग्रहदशा आदिबाट बच्न गरिने स्वस्तिशान्तिको (तीन राते) अनुष्ठान हो ।

यसरी ‘तङसिङ’ शब्दको मुहान ‘तङि्सङ्’ रहेको तथ्य उद्घाटित छ । यसो हुनाले तङसिङलाई बुझ्न तङि्सङ् शब्दको अर्थ पहिल्याउनुपर्ने हुन्छ । स्व. इमानसिंह चेम्जोङ मूल सम्पादक औ वैरागी काइँला प्रधान सम्पादक रहेको लिम्बू-नेपाली-अंग्रेजी शब्दकोशको एउटा अर्थअनुसार ‘तङि्सङ्’ भन्नाले ग्रह-खड्गो वा ग्रहदशा आदिबाट बच्न गरिने स्वस्तिशान्तिको (तीन राते) अनुष्ठान हो । यसरी तङ्सिङ् शब्दको मूल अर्थ एक विशेष प्रकारको अनुष्ठान, जसमा मान्छेको रक्षार्थ प्राथना गरिन्छ ।

तङि्सङ् तक्मा मुन्धुमको अध्ययन गर्दा त्यहाँ ‘तुतु तुम्याङ’ औ ‘याक्ला सुहाङमा’ भनी क्रमैले गन्यमान्य पुरुष औ भद्र नारीहरूको उपकार, रक्षा र स्वस्तिशान्तिका निम्ति प्रार्थना गरिएको पाइन्छ । यसबाहेक यस अनुष्ठानमा ‘सिसा मेन्छिन’ र ‘नालि थाङबेन’ भनी क्रमैले युवा औ युवतीको योवन र जोवनको प्रसङ्ग पनि आउँछ । यसप्रकार तङि्सङ् मूल रूपमा मान्छेको सुरक्षार्थ सम्पन्न गरिने अनुष्ठान विशेष हो ।

तङि्सङ् मुन्धुममा एकाधिक उद्भित एवं प्राणीहरूको वर्णन गर्दा ती मान्छेका जीवनमा उपयोगी वस्तुका रूपमा हेरिएको छ । विशेषतः विभिन्न फूलहरूलाई जीवन र मृत्युको प्रतीकका रूपमा हेरिएका छन् भने विभिन्न रूखहरूमध्ये कुन रूखको उपयोग कसरी गर्नुपर्ने भन्ने प्रसङ्ग पनि आउँछ । यसमा आगो, सूर्य, चन्द्र आदिको शक्तिलाई प्रतीकात्मक रूपमा सम्बोधन गरिएको छ । तर, त्यसको पूजा र अर्चना भने कतै गरिएको छैन ।

मूलतः तङि्सङ् संसार र प्रकृतिको चिन्तनमा केन्द्रित नभएर मान्छेको रक्षामा केन्द्रित छ । यसो हुनाले मान्छेको रक्षार्थ गरिने अनुष्ठानका निम्ति प्रयोग गरिने ‘तङि्सङ्’ शब्दबाट ग्रहण गरी कवि पुनियानीद्वारा प्रयोग गरिएको कविता संग्रहको शीर्षक ‘तङसिङ’ मान्छेको अतिक्रमणविरुद्ध पर्यावरणको सुरक्षार्थ सैद्धान्तिक रूपमा अघि बढेको पर्यालेखनसँग सम्बन्धित इको कविता संग्रहको नाम कतिको सार्थक छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *