संसदमा ‘थर्ड पोल’ खडा गर्ने तीन दलको प्रयासमा कहाँ अड्कियो हलो ? – Nepal Press

संसदमा ‘थर्ड पोल’ खडा गर्ने तीन दलको प्रयासमा कहाँ अड्कियो हलो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समाजवादी मोर्चा बनाउने प्रयास अलपत्र परेको छ । गत मंसिरमा भएको निर्वाचनअघि नै नेकपा एकीकृत समाजवादी र जसपासँग कार्यगत एकता गरेर समाजवादी मोर्चा बनाउने प्रयास सुरू भएको थियो ।

तर, चुनावपछि आफ्नै नेतृत्वको सरकार बनेपछि पनि प्रचण्डले समाजवादी केन्द्र निर्माणको प्रयास छाडेका छैनन् । प्रधानमन्त्री भइसकेपछि फागुन २७ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा केही दिनमै समाजवादी मोर्चा बन्ने दाबी गरेका थिए । प्रचण्डको प्रयासमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मिसिएको छ । तर, अहिलेसम्म कुनै ठोस सहमति तय गर्न सकेका छैनन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित दश दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रचण्डले मोर्चाको गृहकार्यका लागि पार्टीका दोस्रो तहका नेताहरुलाई लगाइरहेका छन् ।
चुनावपछि सरकार गठनको बेलामा एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेपछि प्रचण्डको मोर्चाको प्रयास केही सेलाएको थियो । तर, अहिले चुनावअघिकै गठबन्धन ब्यूँतिएपछि मोर्चाको बनाउने प्रयास भइरहेको नेताहरू बताउँछन् ।

मोर्चा निर्माणको विषयमा छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बताउँछन् ।

उनी भन्छन्, ‘मोर्चाको बारेमा अहिले गृहकार्य भइरहेको छ । अहिलेसम्म कुनै टुंगोमा पुगेको छैन ।’

प्रचण्डको रणनीति झैं मोर्चाको प्रयास सफल रहे ५४ सीटसहित तेस्रो शक्तिशाली मोर्चा बन्नेछ । अहिले प्रतिनिधि सभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट छ । तीन दल मिल्न सके कांग्रेस र एमालेलाई कडा टक्कर दिन सकिने उनीहरूको बुझाइ छ ।

तीन दलबीच समाजवादी मोर्चा र पार्टी एकताको आधार तयार पार्नेबारे छलफल भइरहेको नेकपा एसका नेता मेटमणि चौधरी दाबीले गरे ।

उनले भने, ‘निर्वाचनअघि नै बनाउने कुरा भएको थियो। गृहकार्य नटुंगेको कारणले सकिएन । अहिले गठबन्धन र सरकार गठनको कारणले रोकिएको हो । अब चाँडै घोषणा हुन्छ ।’

उनले अब केही दिनमै मोर्चाको घोषणा हुने दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीको संयोजक बेदुराम कमरेड सरकारमा जानुभयो । अब उहाँले पार्टीको कामलाई धेरै समय दिन सक्नुहुन्न । अब अर्को व्यक्तिलाई कार्यदलको जिम्मा दिएर काम अगाडि बढ्छ । त्यसबारेमा छलफल भइरहेको छ ।’

माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा र जसपाबाट नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदलले काम गरिरहेको जिकिर गरे । कार्यदलमा रहेकाबाहेक माधव नेपाल, उपेन्द्र यादव, जनार्दन शर्मा, घनश्याम भुसाललगायत नेताहरू गृहकार्यमा गरिरहेका थिए ।

अहिले उपनिर्वाचनको कारणले रोकिएको ठोस प्रगति नभएको नेताहरूको भनाई छ । चुनावअघि गृहकार्य भएपछि अहिले चुनावको कारणले अघि नबढेको जसपा नेता प्रदीप यादप बताउँछन् ।

उनी भन्छन्, ‘मोर्चाको विषयमा पहिलादेखि नै छलफल भइरहेको हो । तर, अहिले उपनिर्वाचनको कारणले रोकिएको छ । चुनावपछि अघि बढ्छ ।’

तर, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले मोर्चाको विषयमा पार्टीमा छलफल नभएको जिकिर गरे ।

बिहीबार नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘मोर्चाको विषयमा चर्चा त भइरहन्छ । तर, कस्तो प्रक्रियाले साकार रूप लिन्छ भन्नेमा भरपर्छ । कुनै अवरोध छ भने त्यसविरुद्ध लड्न मोर्चा गठन गर्ने गरिन्छ । तर, अहिले मोर्चा केका लागि गठन गर्ने भन्नेमा हाम्रो पार्टीमा कुनै छलफल भएको छैन ।’

छलफलपछि मात्रै खास लक्ष्य र उद्देश्यको निम्ति मोर्चा बन्नसक्ने उनले बताए। विभिन्न राजनीतिक दलका लागि पनि आवश्यकताअनुसार कार्यगत एकता हुनसक्ने उनको भनाई थियो । समाजवादी मोर्चाको विषयमा अहिले सबै फाइनल भइनसकेको माओवादीका सचिव लीलामणि पोखरेल बताउँछन् ।

उनले भने, ‘समाजवादी मोर्चा आवश्यक छ भनेर बनााउने भन्नेमा सैद्धान्तिक सहमति पहिला नै भइसकेको हो । यो मंसिमा सम्पन्न निर्वाचनअघि पनि चर्चा चलेको हो । त्यसबेलामा पनि दुईचार पटक छलफल भएको थियो । चुनावमै मोर्चा बनाएर जाने भन्ने कुरा थियो त्यसबेलामा पनि । त्यसैले मलाई लाग्छ छिट्टै नै बन्ला ।’

मोर्चा किन ?

नेपालको संविधानले समाजवादको आधार निर्माण तयार गर्ने भनेकाले आवश्यक भएको नेता पोखरेल बताउँछन् । देश निर्माणका लागि समाजवादी मोर्चा बनाउन आवश्यक भएको उनको बुझाई छ ।

उनी थप्छन्, ‘हाम्रो पार्टीको कार्यदिशा पनि वैज्ञानिक समाजवाद स्थापना गर्ने भनिसकेपछि समाजवादका कार्यक्रम भएका राजनीति दलहरुले तत्कालिन राज्यसँग, तत्कालिन मुद्वालाई सहकार्य गरेर जाने भन्ने नै मुख्य उद्देश्य हो। त्यस बिषयमा पछिल्लो पटक छलफल भइरहेको छ ।’

तर, मोर्चा गठन तीन दलका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थसँग जोडिएको छ । प्रतिनिधिसभामा ३२ सीट रहेका प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेका छन् । तर, कतिपयले चुनावपछि कांग्रेस र एमालेको सहकार्य हुने टिप्पणी गरिरहेका छन् । त्यस्तो परिस्थितिमा आफूलाई तेस्रो शक्तिशालीरूपमा आफूलाई स्थापित गर्न चाहन्छन् प्रचण्ड ।

एमाले नेताहरूले आफू गठबन्धन भत्काउने खेलमा नलाग्ने दाबी गर्छन् । मोर्चा गठनको बिषयमा प्रचण्डको मात्रै नभएर नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको पनि स्वार्थ जोडिएको छ । गठबन्धनमा प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भद्र सहमति भइसकेको छ ।

तर, पछिल्ला दिनमा देउवासहित कांग्रेस शीर्ष नेताहरूले चाँडै सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिइरहेको बेलामा त्यो संशयलाई रोक्न उनी माओवादी र जसपासँग सहकार्य गर्न हतारोमा छन् । यस्तै, उपेन्द्रलाई पनि बारा २ बाट संसद हुँदै सिंहदरबार प्रवेशको हतारो देखिन्छ ।

मधेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीको उदयले टकराब दिइरहेको बेलामा उनले पनि आफूलाई सेफ जोनमा राख्नका लागि मोर्चाको विकल्प नदेखेको विश्लेषकहरूको भनाई छ ।

तर, प्रचण्डले नेकपा एस र जसपामात्रै नभएर पूर्वमाओवादी घटकहरूलाई पनि एकैठाउँमा ल्याउने प्रयास गरिरहेका छन् । द्वन्द्वकालीन मुद्दामा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि प्रचण्डको प्रयासमा केही सहजता देखिएको छ ।

माओवादी घटकहरू मिल्न तयार देखिएपनि विचारकै कारण एकजुट हुन सकेका छैनन् । प्रधानमन्त्री पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको वृहत्तर एकताका निम्ति बहस थाल्ने बताउँदै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर