‘सरप्राइज्ड’ विन्दवासिनी- यति चाँडै सांसद बन्ने कल्पनै थिएन – Nepal Press

‘सरप्राइज्ड’ विन्दवासिनी- यति चाँडै सांसद बन्ने कल्पनै थिएन

काठमाडौं । २०७० साल बैशाख ९ गते १९ वर्षीया किशोरी विन्दवासिनी कंसाकारमाथि हेटौंडामा एसिड आक्रमण भयो । टिनएज पार गर्न लागेकी कंसाकारले आफ्नो यस्तो दुर्घटना होला भनेर कल्पेकी पनि थिइनन् । तर, भारतीय नागरिक दिलीपराज केशरीले विवाहको प्रस्ताव अस्वीकार गरेका कारण उनलाई एसिड आक्रमण गरेका थिए ।

उक्त दुर्घटनापछि अभियुक्त केशरी फरार रहे । पछि २०७६ सालमा पक्राउ परे । अहिले ८ वर्षको कैद भुक्तान गरिरहेका छन् । तर, उक्त दुर्घटनापछि भने कंसाकारको सबथोक फेरियो । सपना फेरियो, दैनिकी फेरियो ।

उनी आफू जस्तै एसिड आक्रमणमा परेकाहरुको उद्धार र न्यायका लागि अग्रमोर्चामा रहेर काम गर्न थालिन् । अभियानमा सक्रिय रहिन् । शरीर जले पनि हिम्मत र ऊर्जा नजलेको प्रमाण पेस गरिरहिन् । पीडितहरुको न्यायका लागि सडकदेखि न्यायालयसम्म आफ्नो आवाज बुलन्द पारिरहिन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाअन्तर्गत सांसदमा सिफारिस भएकी छन् । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ व्यवसायी दुर्गा प्रसाईंसँगको दुई करोडको अडियो प्रकरणमा मुछिएपछि सांसद बन्ने उनको बाटो खुलेको हो । श्रेष्ठलाई रास्वपाले सांसदसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

अहिले समानुपातिक सांसद सिफारिस भएकी कंसाकारको अभियन्तादेखि राजनीतिसम्मको यात्रा भने गएको बैशाख-जेठतिर तय भएको थियो । कंसाकार आफ्नो उपचारका लागि भारतको तामिलनाडु पुगेकी थिइन् । एसिडले जलेको घाउको उपचार जीवनभर नै निरन्तर गरिरहनुपर्ने भएकाले कंसाकार समय-समयमा अस्पताल गइरहनुपर्छ ।

अस्पतालमै उपचार गराइरहेका वेला उनलाई रास्वपाका सभापति रवि लामिछानेको फोन आयो । रविले भने, ‘बहिनी, मैले नयाँ पार्टी खोलेको छु । तिमीलाई पनि मेरो पार्टीमा राख्ने इच्छा छ ।’

त्यसवेलासम्म कंसाकारको लामिछानेसँग धेरै चिनजान थिएन । टेलिभिजनमा एउटा अन्तर्वार्ता लिएका थिए लामिछानेले । कंसाकार सुनाउँछिन्, ‘उहाँको प्रस्तावलाई मैले अवसरको रुपमा लिएकी थिएँ त्यसवेला । उहाँले मलाई सम्झेर पार्टीमा सँगै काम गर्ने प्रस्ताव गर्नु पनि मेरा लागि ठूलो कुरा थियो । नेपालमा ठूल्ठूला पार्टीहरु छन् । तर, उहाँहरुले नगरेको प्रयास रवि दाइले गरिदिँदा म खुशी भएकी थिएँ, गर्व पनि लागेको थियो ।’

पार्टीमा जोडिए पनि यति चाँडै सांसद हुने सम्भावना कंसाकारले देखेकी थिइनन् । तर, परिस्थितिले उनी सांसद बन्ने लाइनमा छिन् । आफूले यति चाँडो सांसद हुने कल्पनासमेत नगरेको बताउने उनी भन्छिन्, ‘अहिले मलाई पार्टीले एउटा अवसर दिएको छ । चुनौती पनि सँगै थपिएको छ । सांसदको रुपमा सिफारिस हुँदा उत्साहित छु । तर, मेरो त परीक्षा अब बल्ल सुरु भएको छ ।’

कंसाकारका अनुसार नेपालमा ६० हजारभन्दा बढी मान्छेहरु जलेको शरीर लिएर बाँचिरहेका छन् । तर, आफ्नो सपनालाई जल्न दिएका छैनन् । ती सम्पूर्ण मान्छेहरुको प्रतिनिधि हुने गरी संसदमा उपस्थिति जनाउने योजना छ उनको ।

उनी भन्छिन्, ‘संसदमा बोलिरहँदा उहाँहरुले पाउने कानूनी न्यायदेखि सरकारको तर्फबाट पाउने सेवासुविधाबारे बोल्नेछु । म यसै पनि यस्तै मुद्दा र जलेका व्यक्तिले न्याय पाउने बाटोमा हिँडेको छु । राज्यले उनीहरुलाई गर्नुपर्ने संरक्षण र दिनुपर्ने न्यायबारे नै संसदमा बोल्नेछु ।’

कंसाकार आफैं पनि कुमारी बैंकमा जागिर गरिरहेकी थिइन् । सांसद भएपछि उनले जागिर छाड्नुपर्नेछ । तर, ६० हजारभन्दा बढी पीडितहरुलाई राज्यले कतै न कतै व्यवस्थापन गर्नुपर्ने कंसाकारको माग छ । उनी भन्छिन्, ‘जलेका व्यक्तिहरुले निरन्तर उपचार गरिरहनुपर्छ । प्रशस्त पैसा पनि खर्च हुन्छ । त्यसका लागि राज्यले हेरिदिनुपर्छ । यसबारे म आवाज उठाउनेछु ।’

तर, रास्वपाले सांसद सिफारिस गर्दैगर्दा कंसाकार आफैं सरप्राइज भएकी थिइन् । उनले सांसद हुनेबारे त कहिल्यै सोचेकी पनि थिइनन् । भन्छिन्, ‘यो अवस्था मैले सोचेकै थिएन । सायद यो विश्वमै पहिलो घटना होला । नेपालको इतिहासमा त पहिलो नै हो । संसदसम्मको मेरो यात्राले ती सम्पूर्ण पीडितहरुको ऊर्जा भरेको महसुस गरेकी छु । त्यसैले पनि सांसद सिफारिस भएको खबरले म सरप्राइज भएकी थिएँ ।’

उनलाई राजनीतिमा खासै चासो थिएन । राजनीतिमा ध्यान पनि दिएकी थिइनन् । राजनीति नै गर्ने इच्छा नै थिएन उनको । दश वर्षदेखि उपचार गराइरहेकी उनको आर्थिक अवस्था पनि खासै राम्रो थिएन । त्यसैले पनि उपचार कसरी गर्ने भन्नेबारे नै बढीजसो ध्यान दिने गर्थिन् । यसबीचमा लामिछानेले प्रस्ताव गरेपछि भने आफू उत्साहित भएको उनको भनाइ छ ।

कंसाकार भन्छिन्, ‘अबको मेरो संसदीय कार्यकाल पूर्ण रुपमा सफल बनाउन चाहन्छु । संसदमा सम्पूर्ण जनताको लागि बोल्नेछु । किनभने अब म सम्पूर्ण जनताको प्रतिनिधि आवाज बनेकी छु । साथै मेरो अर्को इच्छा भनेको जति पनि एसिड सर्भाइभरहरु हुनुहुन्छ, उहाँहरुलाई सरकारले सकेसम्म सरकारी जागिर दिनुपर्छ भनेर आवाज मुखरित गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर