चीनले बनाइदिएकाे ६ लेन सद्दे, नेपाली ठेकेदारले बनाएकाे सर्भिस लेन साढे तीन वर्षमै जीर्ण (भिडिओ) – Nepal Press
बल्खु-कलंकी सडक

चीनले बनाइदिएकाे ६ लेन सद्दे, नेपाली ठेकेदारले बनाएकाे सर्भिस लेन साढे तीन वर्षमै जीर्ण (भिडिओ)

काठमाडौं । बेसमेन्ट काम नलाग्ने भएपछि अघिल्लो साता काठमाडौंको कलंकी-कोटेश्वर सडक खण्डअन्तर्गत कलंकीको खसीबजारदेखि बल्खु चोकसम्म बायाँतर्फको सर्भिस लेन भत्काइयो । सुपरमार्केटदेखि बल्खुचोकसम्मको एक किलोमिटर सर्भिस लेनमा फुट्ने, चर्किने र भासिने समस्या देखिएपछि भत्काइएको सडक डिभिजन कार्यालय काठमाडौंको दाबी छ ।

डिभिजन प्रमुख नारायणप्रसाद निहुरेका अनुसार सर्भिस लेनको बेसमेन्ट फेलियर भएपछि भत्काएर नयाँ बेस राखेर कालोपत्रे गर्न लागिएको हो । त्यसको लागि अहिले नयाँ ग्राभेल राखेर सम्याइएको छ । जसले गर्दा उक्त लेन अहिले धूलाम्मे छ ।

कालोपत्रे गरिएको सर्भिस लेन चार वर्ष नबित्दै  रातारात भत्काइएको हो । खसी बजारसँगैको गांखेलतर्फको सडक सर्भिस लेन हालसम्म धूलाम्मे हुँदा पनि त्यतातर्फ ध्यान नदिई दुरुस्त देखिएको सडक धमाधम भत्काइएपछि सर्वसाधारण आक्रोश पोखिरहेका छन् ।

साथै चीन सरकारले गुणस्तरहीन सडक बनाएकाले भत्काइएको भन्ने भ्रम सर्वसाधारणमा परेको छ । तर, अहिले भत्काइएको एक किलोमिटर सर्भिस लेन भने चीन सरकारले बनाएको नभई नेपाल सरकारले बनाएको हो ।

साढे ३ वर्षमै कसरी कमजोर भयो सडक ?

सरकारले अर्बौं रुपैयाँ खर्च गरेर ठेकेदार कम्पनीमार्फत निर्माण गरेको सडक साढे ३ वर्षमै फेरि करोडौं खर्च गर्नुपर्ने भएको छ । अर्बौं खर्च गरेको सडकको भित्री भाग साढे ३ वर्षमै कसरी कमजोर रहेको पाइयो ? के सडक बन्दै गर्दा विभागले अनुगमन तथा गुणस्तर परीक्षण गरेको थिएन ? नत्र सोही समयमा चीनले बनाएको सडक दुरुस्त रहने तर नेपाली ठेकेदार कम्पनीले बनाएको सडकमात्रै कसरी साढे ३ वर्षमै कमजोर देखियो ?

नेपाली ठेकेदार कम्पनी ‘कन्टेक खरिढुङ्गा जेभी’ले बल्खु चोकदेखि कलंकी खसीबजारसम्मको एक किलोमिटर सडकमध्ये सर्भिस लेन बनाउने ठेक्का पाएको थियो । बाँकी ६ लेनको सडक चीनले नै बनाएको हो । एक किलोमिटर सर्भिस लेन निर्माणमा मात्रै बदमासी गरेको पाइएको छ ।

खासमा कलंकीदेखि कोटेश्वरसम्मको सडकको बीचको भागमा जमिनको भारवहन क्षमता कम छ । बीच भागमा कालोमाटो बढी भएकाले सोहीअनुसार अध्ययन गरेर सडक निर्माण गर्नुपर्ने हो ।

त्यसबेला कलंकी कोटेश्वर सडक खण्डको बीचको ४ लेन सांघाई कन्स्ट्रक्सन गु्रप लिमिटेडले निर्माण गर्दा साढे १ देखि २ मिटर गहिरो खनेर कालोमाटो निकालिएको थियो । त्यसपछि त्यहाँ दुई तह ठूल्ठूला ढुंगा हालेर त्यसमाथि बेस, सबबेस प्याक गरेर एक फुट लिंक क्रंकिट ढलान गरेर त्यसमाथि पिच गरिएको थियो । चीनले चार तह बेसप्याक गरेर जमिनको भारवहन क्षमता वृद्धि गरी सडक निर्माण गरेको थियो । चीनले जमिनको भारवहन क्षमता वृद्धि गर्न पूरा गरेको प्रकिया देखेका सडक विभाग र नेपाली ठेकेदारले सोहीअनुसार किन काम गरेन वा गर्न दिएन ?

त्यसैले अहिले नेपाल सरकारले हचुवामा डिजाइन गरेको आरोप लागेको छ । यस कार्यमा डिजाइन फेल नभएको तर निर्माण गुणस्तरहीन भएको स्वयं सडक विभागकै कर्मचारी स्वीकार्छन् । तर, राज्यको यत्रो बजेट दुरुपयोगको जिम्मा कसले लिने ? यदि डिजाइन सही थियो भने सडक विभागले किन प्रभावकारी ढंगले अनुगमन गरेन ? नेपाल प्रेसले प्रश्न गर्दा सडक विभागका प्रमुखले जवाफ दिन आलटाल गरे ।

सडक विभागका पूर्वमहानिर्देशक शिवहरि सापकोटा केही ठाउँमा सडक विभाग चुकेको स्वीकार गर्छन् । उनीमात्र होइन विभागकै एक कर्मचारीले भने, ‘चीनले गुणस्तरीय सडक निर्माण गरेको देख्दादेख्दै नेपालले त्यस्तो मापदण्ड पूरा गरेन । डिजाइन सही हुन सक्ने भए पनि विभागले राम्रोसँग अनुगमन गरेन ।’

कलंकी-कोटेश्वरको ८ लेन सडकको साढे १० किलोमिटर खण्ड चीन सरकारको सहयोगमा निर्माण भएको थियो । उक्त सडकखण्ड विस्तार तथा पुनर्निर्माणको ठेक्का चिनियाँ सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुप लिमिटेडले पाएको थियो ।

२०७० साल असारदेखि कलंकी-कोटेश्वर सडक विस्तारको काम गरेको चिनियाँ कम्पनीले २०७३ पुस महिनासम्म सडक विस्तार सम्पन्न गरिसक्ने गर्नेगरी ठेक्का लिएको थियो । २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण समयमा काम गर्न नसक्ने भएपछि २०७५ असारसम्म म्याद थप गरिएको थियो ।

सांघाई कम्पनीले तीन वर्षको ठेक्का पाँच वर्ष लगाएर २०७५ माघ १४ मा निर्माण सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको थियो । जसमा चीन सरकारले पाँच अर्ब रुपैयाँ खर्च गरेको थियो ।

सडक खण्डमा चार लेनको मुख्य सडकसहित दुईतर्फ दुई-दुई लेनका सर्भिस सडक चीन सरकारले बनाएको थियो भने त्योभन्दा बाहिरको दायाँबायाँ ६-६ मिटरको एक-एक लेनको ट्रयाक रोड नेपाल सरकारले बनाएको थियो ।

त्यसअघि सबै सडक बनाउने जिम्मा चीन सरकारकै थियो । सम्झौताअनुसार साढे १० किलोमिटर नै सांघाई कम्पनीले बनाउनुपर्ने थियो । तर, त्यसबेला कलंकीको अण्डरपास निर्माण गर्दा चोकबाट स्वयम्भूतर्फ पनि थप सडक लानुपर्ने भयो । जसले सम्झौताभन्दा बढी काम गर्नुपरेको तथा अण्डरग्राउण्डको भाग बढेकाले बजेटले नभ्याउने बताउँदै चीन सरकारले कलंकीको भाटभटेनी सुपरमार्केटदेखि बल्खुको पुलसम्मको सर्भिस लेन नेपाल सरकारलाई बनाउन भनेको थियो । सोहीअनुसार भत्काइएको सडक नेपाल सरकारको बजेटमा नेपाली ठेकेदारले कालोपत्रे गरेको हो ।

भाटभटेनी स्टोरदेखि बल्खु पुलसम्मको सर्भिस लेनको काम गर्न सडक विभागअन्तर्गत चक्रपथ विस्तार आयोजनाले टेन्डर गरेको थियो । उक्त सडक निर्माणका लागि ‘कन्टेक खरिढुङ्गा जेभी’ले ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार ‘कन्टेक खरिढुङ्गा जेभी’ले २०७६ सालमा उक्त सडक निर्माण गरेको थियो ।

कन्टेक खरिढुङ्गा जेभीले निर्माण गरेको सोही सडक आवधिक मर्मत (पेरियोडिक मेन्टेनेन्स) को नाममा सरकारलाई हस्तान्तरण भएको पाँच वर्ष नपुग्दै रातारात भत्काइएको हाे।

विश्व बैंकले केही समयअघि काठमाडौंको कुन कुन सडक कमजोर छ भनेर पहिचान गरेको थियो । विश्व बैंकले छनोट गरेको सडक विश्व बैंक र सडक विभागको रोहवरमा ‘विश्व ल्याब’मा टेस्ट गरिएको थियो ।

उक्त परीक्षणमा बल्खु-खसीबजारको सर्भिस लेनमा जमिनको भारवहन क्षमता कमजोर देखिएको र ग्राभेल बेस प्याक गर्दा राम्रोसँग नगरेको देखियो । सडक विभागका एक कर्मचारीका अनुसार सर्भिस लेन टेस्ट गर्दा भित्री भाग कमजोर देखिएकाले रातारात भत्काइएको हो ।

‘विश्व बैंकले पहिचान गरेको सडकलाई विश्व ल्याबमा विश्व बैंक र सडक विभागको प्रतिनिधि बसेर परीक्षण गर्दा त्यहाँको जमिनको भारवहन क्षमता कमजोर देखिएको थियो’, उनले भने, ‘त्यहाँ ग्राभेल बेसप्याक गर्दा राम्रोसँग नगरेको र कम्प्रेस राम्रोसँग नगरेको हुनाले सडक भासिने भएकाले पुनः मर्मत गर्न लागिएको हो ।’

ग्राभेल बेसप्याक राम्रोसँग नगरिँदा सडक भासिने डरले सर्भिस लेन मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय काठमाडौंले स्पष्ट गरेको छ । विश्व बैंकको ऋण सहयोगमा उक्त सडक पुनर्निर्माण गरिएको हो ।

निर्धारित समयअगावै आवधिक मर्मत

सडक चुस्तदुरुस्त छ छैन भनेर हेर्न सडक निर्माण सम्पन्न भएको पाँच वर्षपछि आवधिक मर्मत (पेरियोडिक मेन्टेनेन्स) गरिन्छ । ‘कन्टेक खरिढुङ्गा जेभी’ ले उक्त सडक बनाएको साढे ३ वर्षमात्रै भएको छ । साढे ३ वर्षमै पेरियोडिक मेन्टेनेन्स थालिएको छ । नियमानुसार पाँच वर्ष नभई पिरोडिक मेन्टेनेन्स भनेर गर्न पाइँदैन ।

नियमानुसार ठूला आयोजनामा आवधिक मर्मत गर्नुअघि सडक भत्किएमा, चर्किएमा वा भासिएमा त्यो बनाउनुपर्ने वा मर्मत गर्नुपर्ने देखिएमा ठेकेदार कम्पनीले नै गर्नुपर्ने हुन्छ । त्यसको खर्च ठेकेदार कम्पनीले व्यहोर्नुपर्छ ।

तर, सडक डिभिजन कार्यालयका कर्मचारीले ठेकेदार कम्पनीलाई जोगाएको आरोप छ । यसमा सडक विभागले नै ठेकेदार कम्पनीलाई उन्मुक्ति दिएको छ । कोटेश्वर कलंकी सडक निर्माण गर्नमात्रै सरकारले १ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

फेरि गल्ती दोहोर्‍याइँदै

अहिले भत्काइएको सडक मर्मत गर्न सडक डिभिजन कार्यालयले आह्वान गरेको नयाँ टेन्डर असार २५ गतेभित्र बनाइसक्ने गरी ओल आर पीआरएसके जेभीले पाएको छ । प्याकेज सडक निर्माण गर्न भ्याटसहित ३७ करोड २ लाख ९९ हजार रुपैयाँमा ठेक्का दिइएको छ । पहिलेको गल्तीलाई सच्याएर सडक मर्मत गर्दा साढे १ देखि २ मिटर गहिरो रहेको कालोमाटो निकालेर सडकको भारवहन क्षमता बढाउन ढुङ्गा भर्नुपर्छ । यसरी जमिनको भारवहन क्षमता वृद्धि गरी सडक निर्माण गर्नुपर्ने हो ।

तर, अहिले २ मिटर सम्म गहिरो खनेर न माटो निकालिएको छ न त ढुंगा हालेर ग्राभेल गरिएको छ । मात्र कालोपत्रे भत्काएर नयाँ ग्राभेल हालेर रोलरले सम्याइएको छ । त्यसैमाथि कालोपत्रे गर्ने तयारी छ । स्रोत भन्छ, ‘अहिले बनाउँदा माटो निकालेर सडकको भारवहन क्षमता बढ्ने हिसाबले ढुंगा हाल्नुपर्ने हो कि ग्राभेल हाल्नुपर्ने हो कि के कुरा हालेर प्याक गर्नुपर्ने ठाउँमा अहिले केही पनि हालेको छैन ।’

स्रोतका अनुसार पाँच फिट जति ग्राभेल पेलेर त्यसमै पीच गर्ने कोसिस गरिँदैछ ।

प्राविधिकदेखि हाकिमसम्म मिलेमतोको आशंका

गुणस्तरहीन सडक निर्माणमा सडक डिभिजन कार्यालयका प्राविधिकदेखि प्रशासनिक कर्मचारीसम्मको मिलेमतो रहेको आंशका गरिएको छ । ‘ठेकेदारलाई त उनीहरुले पेलिहाल्छ । ठेकेदारले धेरै नाफा बनाउन सक्दैन । सडक डिभिजन कार्यालयको कर्तुत देखिन्छ । अहिलेको ठेक्का सडक डिभिजन कार्यालयले नै लगाएको हो’, स्रोतले भन्यो ।

चक्रपथ हेर्नलाई चक्रपथ विस्तार आयोजना छुट्टै छ । चक्रपथको दोस्रो विस्तार आयोजनाले कलंकी चोकदेखि चक्रपथसम्म दोस्रो खण्डमा सडक विस्तार गरिरहेको छ । यो मर्मत चक्रपथ विस्तार आयोजनाले नगरी सडक डिभिजन कार्यालयले गरेको छ ।

अहिले बन्दै गरेको सडकमा विश्व बैंकको ऋण लगानी छ । सरकारले बजेट अभावको कारण ठूला निर्माणमा बजेट निकासा गरेको छैन । तर, यो विश्व बैंकको ऋण भएको हुनाले तुरुन्तै भुक्तानी आउँछ । त्यसैको कारण पनि रातारात समय नै नपुगी पेरियोडिक मेन्टेनेन्सको कारण देखाएर ठूलै रकम दुरुपयोग भइरहेको छ ।

‘यो एउटा नमूना हो । काठमाडौं जस्तो ठाउँमा त यस्तो हुन्छ भने मान्छेले नदेख्ने, थाहा नपाउने ठाउँमा कस्तो हुन्छ होला ?’, स्थानीयको प्रश्न छ ।

कसरी गरिन्छ बेसमेन्ट फेलियर मर्मत ?

सडक डिभिजन कार्यालयले बेसमेन्ट फेलियर भएर सडक पुनर्निर्माण गर्नुपर्ने बताएको छ । कार्यालयले भनेअनुसार बेसमेन्ट फेलियर भए चार तहको काम गरिसकेपछि मात्रै पीच गर्नुपर्ने बताउँछन् सडक विभागका पूर्वमहानिर्देशक शिवहरि सापकोटा ।

सापकोटाको भनाई जस्ताको तस्तै :

बेसमेन्ट फेलियर देखिएमा सबैभन्दा पहिला माटोको लेभल मिलाउनुपर्छ । त्यसलाई मज्जाले पेलिन्छ । त्यसपछि ग्राभेल राख्ने काम गरिन्छ । त्यसलाई सबबेस भनिन्छ । त्यसलाई पनि आवश्यकअनुसार परीक्षण गरेर रोलरले पेल्ने काम गरिन्छ । त्यसपछि त्यसले बहन गर्ने भारवहन क्षमता ठीक छ भनेपछि अर्को बेस कोर्स त्यही हिसाबले राखिन्छ । त्यो राखेर तयार भएपछि मात्रै कालोपत्रको काम सुरु हुन्छ । कालो माटो देखिएको ठाउँमा सकभर सबै फाल्नुपर्छ । कहिलेकाहीं अलिकति रातो माटो आउने अनि त्यही दुई तीन फिट तल जानेबित्तिकै कालो माटो छ भन्ने थाहा नहुन पनि सक्छ । तर, कालो माटो देखियो भने त्यसलाई फालेरै नयाँ माटो राखेरमात्रै काम गर्नुपर्ने हुन्छ । रिङरोडमा दुई ठाउँमा त्यस्तो समस्या देखिएको छ । कालो माटो निकालेर गर्नुपर्ने ठाउँमा चुकेको छ । दोस्रो कारण, सबै ठाउँमा जाँचेर पनि सय, डेढ सय, पाँचसय मिटरमा चारवटा जाँच्नुपर्छ भन्ने नियम छ । त्यो फ्रिक्वेन्सीअनुसार जाँच्दा जहाँ कमजोर छ । त्यहाँ जाँच्ने पोइन्ट नभएको पनि हुनसक्छ । त्यस्तो अवस्थामा फेलियर भयो भने अन्त पनि तान्छ । सायद त्यस्तो भएको हुनसक्छ ।

के भन्छ सडक डिभिजन कार्यालय ?

सडक डिभिजन कार्यालयले अहिले भत्काएको सडकमात्रै मर्मत गर्न लागेको छ ।

सडकको दाहिने साइटको सडक भने उपत्यका चक्रपथ विस्तार आयोजनाले बनाउने भन्दै छाडेको छ । बाहिर हेर्दा सग्लो कालोपत्रे देखिए पनि भित्रबाट बाटोले आफ्नो रुप छोडिसकेको कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए ।

उनले भने, ‘अहिले हामी देब्रेमात्र गर्छौं । दाहिने भाग उपत्यका चक्रपथ विस्तार आयोजनाले नै गर्छ । अहिले हामीले जुन ठाउँमा भत्काएका छौं, त्यहाँ रिह्याब गर्ने हो । त्यो बाटो पहिला चिराचिरा परेर खत्तम भएको थियो । त्यसलाई रिह्याब गर्न भत्काएका हौं ।’

उक्त सडक असार मसान्तभित्र बनाइसक्ने उनले दाबी गरे । उनी भन्छन्, ‘कालोपत्रे कोतरेर फालेको ठाउँमा १५ सेन्टिमिटर बेस थप्छौं । त्यसलाई कम्याक्सन गर्छाैं । त्यसमाथि ६ सेन्टिमिटरको एस्पाल ओभरले गर्छौं ।’

बेसमेन्ट फेलियर भएको खण्डमा चार तहमा काम गर्नुपर्ने हुन्छ । तर, यहाँ दुई तहमा मात्रै काम गरिने सूचना अधिकारी इञ्जिनियर केसीले बताए । उनले भने, ‘पहिले बेस हुन्छ, त्यसपछि एस्पाल ओभरले हुन्छ । त्योभन्दा पहिला नै चार पाँच लेयर काम भएको हो । त्यसलाई सच्याउन त्यहाँ भएको पीच फाल्यौं । पीचभन्दा मुनि १५ सेन्टिमिटरको बेसमा गिटी माटो मिसिएको अर्को बेस हालेपछि ६ सेन्टिमिटर बराबरको एस्पालको पीच गर्छौं ।’

पाँच वर्षमा सडकको अवस्था के छ भनेर पेरियोडिक मेन्टेनेन्स गर्नुपर्ने उनको दाबी छ । कोटेश्वर कलंकीसम्मै सर्भिस लेनमा कालोपत्रे गर्ने तयारी भइरहेको छ । ‘बल्खु चोकदेखि खसीबजारसम्म भने बिग्रेको हुनाले त्यसलाई मजबुत बनाउन कोतरेर बेस थपेर बनाउँछौं’, उनले भने ।


प्रतिक्रिया

One thought on “चीनले बनाइदिएकाे ६ लेन सद्दे, नेपाली ठेकेदारले बनाएकाे सर्भिस लेन साढे तीन वर्षमै जीर्ण (भिडिओ)

  1. काम बिगार्ने नेपाली ठेकेदारलाई कारवाही गरेर अब कामै दिनै बन्द गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर