वाचापत्र टेक्दै रास्वपाले उपराष्ट्रपति चुनावमा भाग नलिने सम्भावना – Nepal Press

वाचापत्र टेक्दै रास्वपाले उपराष्ट्रपति चुनावमा भाग नलिने सम्भावना

काठमाडौं । उपराष्ट्रपति चुनाव सुरू भइसक्दा पनि संसदको चौथो ठूलो दल नेपाल स्वतन्त्र पार्टी (रास्वपा) कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छ । यस विषयमा छलफल गर्न आज बस्ने भनिएको पार्टीको संसदीय दल वैठक स्थगित गरियो ।

निर्वाचन आयोगले मौन अवधिमा बैठक बसेर कुनै निर्णय नलिन दलहरूलाई सचेत गराएकाले रास्वपा बैठक स्थगित भएको हो । यद्यपि, नेताहरू पार्टी कार्यालयमा बसेर अनौपचारिक सरसल्लाह गर्दैछन् ।

स्रोतका अनुसार उपराष्ट्रपति चुनावमा रास्वपाले मतदान नगर्ने सम्भावना बलियो बनेको छ । पार्टीको वाचापत्रमा नै देशमा उपराष्ट्रपति पद नै नचाहिने भनिएकाले मतदानमा भाग लिँदा विरोधाभास देखिनेमा धेरै नेताहरू सहमत छन् । यद्यपि, ठोस समझदारी भइसकेको छैन ।

एक सांसदले भने, ‘धेरै साथीहरू उपराष्ट्रपतिमा भोट हाल्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । सम्भवतः त्यही नै हुन्छ होला ।’

यसअघि राष्ट्रपति चुनावमा भने रास्वपाले मतदान गरेको थियो । त्यसबेला पनि अन्तिम क्षणमा निर्णय लिएर रास्वपाले सत्ता गठवन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्यो । तर, उपराष्ट्रपतिमा भने सत्ता गठबन्धनलाई साथ दिने मुडमा धेरै नेताहरू छैनन् । यदि भोट हाल्नैपर्ने भयो भने एमालेकी अष्टलक्ष्मीलाई हाल्नुपर्ने मत बलियो छ ।

रास्वपा प्रवक्ता डा. मुकुल ढकालले उपराष्ट्रपति चुनावका सन्दर्भमा कुनै निर्णय भइनसकेको बताए ।

‘निर्वाचन आचारसंहिताका कारण हामीले औपचारिक निर्णय लिन सकिने भएन । यद्यपि, अनौपचारिक कुराकानी हुनसक्छ, एक दुई-घन्टामा क्लियर होला,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर