इटहरी उपमहानगरले २ हजार विपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य बीमा गर्ने – Nepal Press

इटहरी उपमहानगरले २ हजार विपन्न परिवारकाे नि:शुल्क स्वास्थ्य बीमा गर्ने

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका २ हजार अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो ।

‘सबैका लागि सधैंका लागि स्वास्थ्य’ भन्ने नारालाई अवलम्बन गर्दै उपमहानगरले स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रमअन्तर्गत बीमा कार्यक्रम सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा हरेक वडाका ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिएको छ । इटहरीमा २० वटा वडा छन ।

साधारण स्वास्थ्योपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय भएको मेयर पौडेलले बताए । उनका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निःशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ ।

स्वास्थ्य बीमाले भवितव्य रुपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिब तथा विपन्नहरुको निःशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले जानकारी दिए ।

बीमाकर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जनासम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर