पशुपतिमा भारतीय जोगीको बितण्डा : वाईफाई चाहियो भन्दै होहल्ला, भक्तजनमाथि कुटपिट – Nepal Press

पशुपतिमा भारतीय जोगीको बितण्डा : वाईफाई चाहियो भन्दै होहल्ला, भक्तजनमाथि कुटपिट

काठमाडौं । महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले हिजो पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले यसरी दर्शनार्थीमाथि जाइलागेका थिए । भिडिओमा बाबाहरूले दक्षिणा थोरै भएको भन्दै आक्रोश व्यक्तगरेको पनि सुनिन्छ ।

हरेक वर्ष महाशिवरात्रिमा भारतबाट हजारौँको संख्यामा नागाबाबा र जोगीहरू आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले उनीहरूको रेखदेख मात्रै होइन केही दिनको खान बस्ने व्यवस्था गरेको हुन्छ । साथै केही दक्षिणासमेत दिएर बिदा गर्छ ।

महाशिवरात्रिका दिन पशुपति क्षेत्रका विभिन्न निर्धारित स्थानमा नागाबाबाहरु बस्छन् । उनीहरूलाई भक्तजनहरूले पैसा दान पनि गर्छन् । तर यस्ता नागाबाबाहरुको हर्कत भने सामान्य खालका हुँदैनन् । हरेक शिवरात्रिमा उनीहरू दक्षिणको विषयलाई लिएर लफडा गर्छन् । महिला भक्तजनप्रति अभद्र तरिकाले प्रस्तुत हुन्छन् । यसपालि त उनीहरूले झनै अराजकता देखाए ।

सोही क्रममा एक नागाबाबाले युट्यूव च्यानलमा आपत्तिजनक अभिव्यक्तिहरू समेत दिए । भारतकै रोटी खाएर बाँचेका नेपालीहरूले आफूहरूलाई अपमान गरेको भन्दै उनी जंगिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

नागाबाबाहरु उत्तेजित बन्नुको ठूलो कारण थिएन । उनीहरूले आफूहरूलाई खानबस्नको व्यवस्था राम्रो नभएको भन्दै आक्रोश पोखिरहेका बेला एक भक्तजनले साधुलाई केको आलिसान व्यवस्था चाहियो भन्दै प्रश्न गरेका थिए । त्यसैको रिसमा उनीहरू ती भक्तजनमाथि जाइलागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले लोभलालच, लाज र संसारलाई त्यागेर हिँडेका नागाबाबाहरुले सानातिना कुरामा चित्त दुखाएर यस्तो रवैया देखाउनु दुखको कुरा भएको उल्लेख गरे ।

‘कतिपय साधुले हामीलाई वाइफाइ चाहियो, इन्टरनेटको सुविधा भएन भनेर पनि कराइरहेका थिए । यस्तो भौतिक सुविधा खोज्नेहरूलाई कसरी व्यवस्थापन गर्ने ?’ उनले भने ।

हिजो नागाबाबाको आक्रमणमा परेका व्यक्ति सामान्य भक्तजन भएको अधिकारीले जानकारी दिए ।

‘भक्तजनहरूले साधुसन्तलाई स्वैच्छिक दान दिने हो, यसमा जबरजस्ती हुँदैन,’ उनले भने, ‘कतिपय भक्तजनले दान दिएनन् भने पनि उनीहरू रिसले आगो हुन्छन् ।’

योग, ध्यान, साधना, सत्सङ्ग उच्च कोटीको साधुका रूपमा नागाबाबालाई मान्ने गरिन्छ । उनीहरूको शरीरको स्पर्शले पनि आफूमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वासका साथ पशुपतिमा उनीहरूको उपस्थितिलाई स्वीकार गरिएको अधिकारीले बताए ।

उनले हिजोको घटनाबारे थप प्रष्ट्याउँदै भने, ‘उहाँहरूले खाने बस्नेलगायतका सुविधाहरूमा गुनासो गर्नुभयो रे, अनि कसैले तपाईँहरू त नागा हो किन यस्तो चाहियो र भनेर प्रश्न गरेपछि उहाँहरू आवेगमा आएको भन्ने कुरा मैले जानकारी पाएको हुँ ।’

कति आए नागाबाबा ? दक्षिणा कति ?

महाशिवरात्रिका दिन उल्लेख्य संख्यामा नागाबाबाहरु आउने गर्छन् । प्रवक्ता अधिकारीका अनुसार कोषले बोलाउने नभइ ठूलो मेला लाग्ने अवसरमा बाबाहरु भारतबाट आफैँ आउने गरेका छन् ।

यसपालि करिब ३५ सयको हाराहारीमा नागाबाबाहरु पशुपतिमा आएको उनले जानकारी दिए ।

नागाबाबाहरुलाई वरिष्ठताका आधारमा दक्षिणा दिने चलन छ । उनीहरूलाई उनीहरूकै अखडाले तोकेको स्तरबमोजिम व्यक्तिगत रूपमा न्यूनतम ५०० रुपैयाँदेखि सात हजार १०० रुपैयाँसम्म दक्षिणा दिइने गरेको अधिकारी बताउँछन् ।

हरेक साल लफडा

महाशिवरात्रिका दिन पशुपतिनाथमा आएका नागाबाबाहरुले प्रत्येक साल केही न केही विषयमा लफडा गर्छन् । खासगर महिलाहरूप्रति उनीहरूले अवाञ्छित क्रियाकलाप गर्ने गरेको पाइन्छ । यो दुखको कुरा भएको अधिकारीले बताए ।

‘संसार त्यागेर हिँडेको, घरपरिवार त्यागेको, संन्यास लिएर हिँडेको व्यक्तिहरूले समाजलाई सही मार्ग देखाउनुपर्नेमा असभ्यता देखाउनु भनेको दुखद हो । त्यस्तालाई सम्झाउने बुझाउने र त्यसले पनि भएन भने त कानूनी दायरामा ल्याउनुपर्छ,’ अधिकारी भन्छन् ।


प्रतिक्रिया

One thought on “पशुपतिमा भारतीय जोगीको बितण्डा : वाईफाई चाहियो भन्दै होहल्ला, भक्तजनमाथि कुटपिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर