पूर्वमाओवादीहरुलाई एकत्रित गर्ने प्रचण्डको प्रयास, माधव-उपेन्द्रलाई पनि समेटेर बन्ला त समाजवादी केन्द्र ? – Nepal Press

पूर्वमाओवादीहरुलाई एकत्रित गर्ने प्रचण्डको प्रयास, माधव-उपेन्द्रलाई पनि समेटेर बन्ला त समाजवादी केन्द्र ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्ने गर्छन्, ‘नेपालका सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा नआई सुखै छैन ।’

यही प्रक्रियाअनुसार प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनमा आएर प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि पनि प्रचण्ड समाजवादी केन्द्र निर्माणको योजनासहित अघि बढेका छन् ।

अहिले सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा प्रचण्डले आफ्ना पूर्वसहकर्मीहरुलाई एक गर्ने अभियान थालेका हुन् ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर माओवादीले विचार मिल्नेहरुसँग एकताको पहल थालेको छ ।

आइतबार विभिन्न देशका कम्युनिष्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरूको एकताका निम्ति मैले पहल गरिरहेको छु ।’

उनले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएको जिकिरसमेत गरे ।

आफूहरूकै पहलमा नेपालका कम्युनिष्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने उनको भनाइ छ ।

प्रचण्डले अहिले २०५२ सालदेखि दशवर्षे जनयुद्धका सारथिहरुलाई आफूसँग जोड्ने प्रयास गरिरहेका छन् । राजनीतिक वृत्तलाई आफ्नै शक्ति केन्द्रमा खिच्न चाहने प्रचण्डले अहिले फेरि पूर्वमाओवादी एकताको पहल थालेको कतिपयले टिप्पणी गरेका छन् ।

पछिल्ला चुनावी नतिजाले पार्टीको आरोलो यात्रा लागेपछि प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतसँगको एकता प्रयास सकारात्मक गतिमा अघि बढेको छ ।

माओवादीबाट एमाले हुँदै आम जनता पार्टी दर्ता गरेका प्रभु साहलाई पनि प्रचण्डले पार्टीमा फर्काउन लबिङ गरिरहेका छन् । नेता साह मधेस प्रदेशमा प्रभावशाली मानिन्छन् ।

तर, एमालेसँगको एकता भंग भएपछि साथ छाडेका प्रचण्डका जनयुद्धका सारथि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरू भने माओवादीमा फर्कने सम्भावना छैन ।

दशवर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको डेढ दशक पुग्दा प्रचण्ड अहिले एक्लिँदै गएका छन् । तर, तेस्रो शक्तिको रुपमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर आफूलाई लाभमा राख्न सफल छन् ।

बाबुराम फर्किन तयार

माओवादीमा प्रचण्डसँग असन्तुष्टि राखेर २०६९ मा मोहन वैद्य पार्टीबाट बाहिरिएका थिए । प्रचण्डलाई वैद्यपछि २०७२ मा बाबुराम भट्टराईले साथ छाडे । बाबुराम नयाँ शक्ति पार्टी दर्ता गरेर अघि बढ्न नसक्ने देखिएपछि मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)मा विलिन भएका थिए ।

तर, त्यहाँ पनि टिक्न नसकेपछि अहिले नेपाल समाजवादी पार्टी गठन गरेर अघि बढेका छन् । तर, उनी अहिले फेरि माओवादीमा फर्कने अन्तिम प्रयासमा छन् । माओवादी र नेसपाबीच पार्टी एकता गर्ने सहमति भए पनि नामको विषय टुंगिन बाँकी रहेको सचिव देवेन्द्र पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । हामीले धेरै कुरा अघि बढाइसकेका छौं । पार्टीको नाम र चुनाव चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ । अब प्रक्रिया धेरै लम्याउन हुँदैन भन्ने पक्षमा सहमत छौं ।’

एकतापछि पार्टीको नाम समाजवादी केन्द्र राख्ने बाबुरामको अडान भए पनि माओवादीले नेकपा नछाड्ने भएपछि सहमतिमा जुट्न समय लागेको एक नेताले बताए ।

ती नेताले भने, ‘बाबुरामजीलाई फेरि कम्युनिष्ट पार्टीमै फर्किन अप्ठ्यारो भएको होला । तर, सबै सहमति भइसकेपछि उहाँले स्वीकार्नुहुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

विप्लवसँग समझदारी

तर, प्रचण्डलाई साथ छाडेका विप्लव, गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) पनि अहिले अलगअलग यात्रामा छन् । उनीहरु पनि माओवादीमा फर्किने सम्भावना छैन ।

तर, प्रचण्डले आइतबार विप्लव र नेता खड्गबहादुर विश्वकर्मासँग छलफल गरेर माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने समझदारी बनाएका छन् ।

भेटबारे प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिना भन्छन्, ‘अहिलेको राष्ट्रिय आवश्यकता भएकाले उहाँहरुबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारेमा छलफल भएको छ ।’

माओवादी धारहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने निष्कर्ष निकालेको उनको भनाइ छ । त्यसअघि विप्लवलाई भेट्न माओवादीका प्रवक्तासमेत रहेका महरा कपिलवस्तु नेकपाको केन्द्रीय कार्यालयमै पुगेका थिए ।

महरासँगको भेटपछि नेकपाको केन्द्रीय सहमति बैठक बसेर ठोस योजना बनाएर प्रचण्डसँग भेट गरेको बुझिएको छ । पछिल्लो समय विप्लव पनि माओवादीमै फर्किन सकारात्मक रहेको देखिएको माओवादीका एक नेताले बताए ।

तर, उनले केही विषयमा असहमति राखेकाले त्यस विषयमा छलफल भइरहेको ती नेताको भनाइ छ ।

माओवादीका सचिव डिलाराम आचार्य पनि विप्लवहरुसँग पनि एक तहको कुरा भइसकेकाले सकारात्मक दिशामा अघि बढेको बताउँछन् ।

उनी भन्छन्, ‘हिजोका माओवादीहरु र अरु वामपन्थी पार्टीहरुलाई पनि एकै ठाउँमा केन्द्रित गर्ने भन्नेमै छौं । यो त सकारात्मक पहल नै भयो ।’

विप्लवबाहेक नेकपा बहुमत र नेकपा माओवादी केन्द्र क्रान्तिकारीसँग पनि छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘हामीले नेकपा बहुमत, किरणजीहरुले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र क्रान्तिकारीसँग पनि संवाद गरिरहेका छौं । तर, अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन ।’

बन्ला त समाजवादी केन्द्र ?

एमालेसँगको एकता भंग भएपछि प्रचण्डले चुनावअघि नै समाजवादी केन्द्र निर्माणको प्रयास गरेका थिए । तर, त्यो सफल भएन ।

अहिले प्रचण्डले पूर्वमाओवादीसहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपासँग पनि एकताको प्रयास अघि बढाएका छन् । यद्यपि नेकपा एस र जसपाबीच पनि बेग्लै पार्टी एकताबारे छलफल भइरहेको छ ।

पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादीसँग कुराकानी भइरहेको सविच आचार्यको भनाइ छ ।

उनले भने, ‘उहाँहरुसँग छलफललाई अगाडि लगेर हिजोका माओवादीहरु र अरु वामपन्थी पार्टीहरु पनि एउटै झण्डामा आउनुपर्छ भन्ने हाम्रो पहल हो । त्योबाहेक समाजवादी केन्द्र निर्माण गरेर जाने भनेर उपेन्द्र यादवजीको पार्टीसँग पनि छलफल भइरहेको छ ।’

उनले विचार, नीति र कार्यक्रम मिल्नेहरु एकै ठाउँमा आउने प्रयत्न गर्ने बताए । उनले एमालेबाहेकको कम्युनिष्ट एकताको पहल नगरेको समेत प्रस्ट पारे ।

तर, माओवादीसँग पार्टी एकताको विषयमा छलफल भए पनि कुनै सहमति नभएको नेकपा एसका उपमहासचिव गंगालाल तुलाधर बताउँछन् ।

उनी भन्छन्, ‘पार्टी एकताको विषयमा माओवादी र जसपासँग छलफल भएको हो । तर, कुनै सहमति भनेको छैन । छलफललाई निरन्तरता दिने सहमति भएको छ । त्यहीअनुसार अघि बढ्छौं ।’

नेकपा एस र जसपाले पनि यसअघि नै विचार मिल्ने शक्तिसँग एकता गर्न कार्यदल गठन गरेर छलफल चलाइरहेको छ । तर, अहिलेसम्म कुनै ठोस सहमति बनाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर