प्रचण्डको पुष्पकमल रुपान्तरण- पृथ्वीनारायणको युद्ध प्रेरणादेखि राष्ट्रिय बिदासम्म – Nepal Press
टिप्पणी

प्रचण्डको पुष्पकमल रुपान्तरण- पृथ्वीनारायणको युद्ध प्रेरणादेखि राष्ट्रिय बिदासम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ, निर्णायक भने छैन । राप्रपाको समर्थनविना पनि प्रचण्ड सरकार बन्ने कुरा मंगलबार २७५ सदस्य सदनमा २६८ सांसदको विश्वासको मत आएबाट देखिन्छ ।

२८ वर्ष अगाडि नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले संसदबाट शतप्रतिशत मत पाएपछिको यो नै पहिलो अत्यधिक विश्वासको मत पाएको घटना हो ।

राजावादी शक्ति राप्रपाले संस्थागत रूपमा पुस २७ गते पृथ्वी जयन्तीको बिदा माग गर्दै आएको छ । १६ वर्ष अगाडि प्रचण्ड नेतृत्वको माओवादी शान्ति प्रक्रियामा आएपछि स्थापना भएको गणतन्त्रसँगै पृथ्वी जयन्तीमा बिदा दिन बन्द गरिएको थियो ।

अहिले प्रचण्डै प्रधानमन्त्री भएको समयमा पृथ्वी जयन्तीको बिदा व्युँतिएको छ । राप्रपाको मागको रुपमा जबरजस्त मान्नुपर्ने कुनै संसदीय बाध्यता नहुँदानहुँदै प्रचण्ड पृथ्वी जयन्तीको बिदा दिन राजी भएका छन् ।

पृथ्वीनारायण शाहको दानवीकरणबाट सुरू भएको माओवादी युद्धका सुप्रिमोले यसरी बिदा दिने कुरा निकट विगतमै अकल्पनीय थियो । दलाल संसदीय व्यवस्था भन्दै माओवादी युद्ध छेडेका प्रचण्डले शान्तिपूर्ण संसदीय राजनीतिमा आएपछि चारवटा चुनाव चार ठाउँबाट लडिसकेका छन् ।

रोल्पा, काठमाडौं, सिरहा र चितवनपछि पृथ्वीनारायण शाहको जिल्ला गोरखाबाट चुनाव जितेर आएपछि पृथ्वी जयन्तीमा बिदा दिने कित्तामा उभिएका छन् । प्रचण्ड सरकारले २६ गते सूचना प्रकाशन गरेर २७ गतेलाई सार्वजनिक बिदा दिएको छ ।

प्रचण्डमा आएको पृथ्वीनारायण प्रेमको स्लो मोसन

तीन वर्ष अगाडिको माओवादी ‘जनयुद्ध’ दिवसमा हास्य कलाकार सुवोध गौतमले प्रचण्ड अगाडि हुँदा प्रज्ञा भवनको डबलीमा क्यारिकेचर गर्छन् । र भन्छन्, ‘म त एउटा अर्गानिक हुन खोजेकोमात्रै हो । वास्तवमा म कृतिम हो ।’

यत्ति भन्दा प्रचण्ड मज्जाले हाँस्छन् । दर्शकहरु पनि हाँस्छन् । कलाकार गौतमले भनेजस्तै प्रचण्ड अर्गानिक हुन खोजेको तर कृतिम भएको मुद्दा पृथ्वीनारायण मामिलामा पनि हो ।

उनले माओवादी युद्धका दौरानमा र गणतन्त्र आएका केही वर्षहरूसम्म दिएको अभिव्यक्ति हेर्दा त्यो देखिन्छ । माओवादी पहिलो दलबाट तेस्रोमा झरेपछि प्रचण्डमा पृथ्वीनारायण प्यारका झिल्काहरु आउन थालेका हुन् ।

२०७६ साउन २५ गते बिहान ९ बजे आफ्नो निवास खुमलटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा प्रचण्डले पृथ्वीनारायण शाहको तारिफ गरेका थिए । हिलिहाङ फाउन्डेसनले प्रकाशन गरेको तथा हर्कबहादुर योङहाङले लेखेको पुस्तक ‘नेपाली इतिहासमा हिलिहाङ’ बारेमा बोल्दै प्रचण्डले पृथ्वीनारायण शाहको प्रसंग ल्याएका थिए ।

उनले भनेका थिए, ‘बाइसे-चौबीसे राज्यलाई सकेर विशाल एउटा राज्य हुनु थियो । त्यो पृथ्वीनारायण शाहले गरे पनि हिलिहाङले गरेको भए पनि हुन्थ्यो । तर, इतिहासको संयोग के भने पृथ्वीनारायण शाहले गर्ने वातावरण बन्यो र नेपाल राष्ट्र बन्यो ।’

लिम्बूवानका अन्तिम राजा मानिने हिलिहाङबारेको पुस्तक विमोचनमा मात्रै होइन माओवादीको युद्ध दिवसकै अवसरमा पनि प्रचण्डले पृथ्वीनारायणको प्रसंग ल्याएका थिए ।

२०७७ फागुन १ गते माओवादी मुख्यालय पेरिस डाँडामा ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’ आयोजना भएको थियो । उक्त कार्यक्रममा प्रचण्डले आफूले माओवादीको युद्ध गर्ने प्रेरणा पृथ्वीनारायण शाहबाट पाएको उल्लेख गरेका थिए ।

उनले भनेका थिए, ‘मैले जतिवेला जनयुद्धको तयारी गर्ने भनेको थिए त्यति बेला शिक्षा लिन खोजेको पृथ्वीनारायण शाहको युद्ध कलाबाट नै हो । समृद्ध रहेका राज्यहरुलाई सानो र कमजोर मानिएको राज्यले कसरी जित्यो भन्ने शिक्षा लिन सकिन्छ ।’

गोरखामा चुनाव लड्न जाँदा धेरैले पृथ्वीनारायणको सालिक माओवादीहरूले तोडेको बारेमा प्रश्न गरेका थिए । यो प्रश्न हिमालय टीभीको टक सो ‘यक्ष प्रश्न’का सञ्चालक राजेन्द्र बानियाँले प्रचण्डलाई नै गरेका थिए ।

चुनावी माहोलका दुई महिना अगाडि बानियाँको प्रश्न थियो, ‘हिजो पृथ्वीनारायणको सालिक फोड्यौ । आज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको जिल्लामा तिमी किन जाने भनेर प्रश्न गर्नेहरुलाई जवाफ के दिनुपर्‍यो अब ?’

जवाफमा प्रचण्डले भनेका थिए, ‘मैले कहिल्यै पनि पृथ्वीनारायणको सालिक तोड्न पर्छ भन्ने निर्णय गरेको छैन । तोड्ने कामलाई समर्थन गरेको पनि छैन । यो गल्ती भयो नै भनेको छु मैले ।’

माओवादी सुप्रिमोले पृथ्वीनारायणको सालिक तोड्ने निर्णय र समर्थन नगरेको दाबी सही हो या गलत हो त्योबारेमा सालिक तोडेको भिडियोमा देखिएका माओवादी नेता लेखनाथ न्यौपानेले भनेपछि मात्रै प्रस्ट हुन्छ ।

त्यो प्रस्ट हुनुभन्दा अगाडि यो प्रस्ट भएको छ कि प्रचण्ड माओवादी युद्ध र त्यसपछिको शान्तिपूर्ण रापताप सकिएपछि गलेका छन् । गलेर उनले आफैंले विरोध गरेको दौरा सुरुवालमा ठाँटिन थालेका छन् । आफैं दानवत्वको नेतृत्व लिएका पृथ्वीनारायण शाह सम्झिने दिने पृथ्वी जयन्तीमा बिदा दिएका छन् ।

सबैभन्दा महत्वपूर्ण सन्देश चाहिँ के हो भने जसरी प्रचण्डले संसदको लगभग शत प्रतिशत संख्यामा विश्वासको मत पाएर राष्ट्रिय सहमतिको प्रधानमन्त्री बनेका छन्, ठीक त्यसकै भोलिपल्ट पृथ्वी जयन्तीको बिदा दिएर राष्ट्रिय एकता दिवसलाई स्वीकार गरेकामात्र छैनन्, विगतको बुझाइ र कर्मप्रति प्रायःश्चित पनि गरेका छन् । दौरा सुरुवाल र पृथ्वी जयन्तीसम्म आउँदा प्रचण्डबाट पुष्पकमल भएका दाहालमा तीब्र रुपान्तरण भइरहेको पुष्टि हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *