आरजुको ‘नायबी’ शासन, स्यालको बाँच्ने चतुर्‍याइँ र कांग्रेसको समीक्षा बैठक – Nepal Press
फरक मत

आरजुको ‘नायबी’ शासन, स्यालको बाँच्ने चतुर्‍याइँ र कांग्रेसको समीक्षा बैठक

कांग्रेसले ‘बोल्ड डिसिजन’ लिन नसके अन्ततोगत्वा पार्टीलाई बनाउने भनेकै ‘खरानी’ हो

नेपालको सबैभन्दा जेठो दल ‘नेपाली कांग्रेस’ मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि ठूलो दल तर, बहुमत अप्राप्त हैसियतमा देखापर्‍यो । त्यसो त निर्वाचनपूर्व उक्त दलमा ‘गठबन्धन’ गरेर निर्वाचनमा ‘जाने-नजाने’ विषयमा पनि दुई वटा बलिया ‘मत’ थिए । पार्टी संस्थापन पक्ष एक्लै जनतामा जाने आँट गरिरहेको थिएन । अन्ततः निर्वाचनपूर्व गठबन्धन गर्न हुन्न भन्ने संस्थापनइतर ‘कोइराला-थापा’ पक्ष अल्पमतमा पर्‍यो । निर्वाचन परिणाम ‘जगजाहेर’ नै छ ।

निर्वाचन परिणाम सार्वजनिक भैसक्दा नसक्दै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पहिलो चरणको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा पर्दा पछाडि ‘वाक युद्ध’ नै चल्यो । यतिवेला दुवैलाई पहिलो चरणमा प्रधानमन्त्री नछाड्न ‘जग हाल्ने’ राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति को थिए र देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राखेर ‘नायबी शासन’ चलाउने आरजु राणाको ‘महत्वाकांक्षा’मा कसले ‘धावा’ बोल्यो भन्ने विवेचना नै आजको आवश्यकता हो । यो विवेचनासहितको निर्मम समीक्षा कांग्रेसको आसन्न केन्द्रीय समिति बैठकले गर्ला या ‘काशी जाने तर कुतीको बाटो’को शैलीमा बैठक टुंगिएला भन्ने सवाल अगाडि आएको छ ।

आरजुको नायबी शासन

इतिहासको एउटा घटना यहाँ उठाउनु सान्दर्भिक रहला । जक २३ वर्षकै उमेरमा राजा बन्न पुगेका प्रतापसिंह शाहको मृत्यु भयो, तब पृथ्वीनारायण शाहकी बुहारी तथा प्रतापसिंहकी श्रीमती राजेन्द्र राज्यलक्ष्मीले नाबालक छोरा रणबहादुर शाहका नाममा ‘नायबी शासन’ प्रारम्भ गरिन् । प्रतापसिंह शाहको मृत्युपश्चात शासनका हकदार त बज्रनाथ पण्डित पनि थिए । तर, ती पण्डितलाई पनि राज्यलक्ष्मीले ‘चार पाटा मुढेर, चार भञ्ज्याङ’ कटाइदिइन् । राज्यलक्ष्मीको ‘राजपाठ’मा सम्भावित अवरोध देखिएका भारदार परशुराम थापालाई ‘नेल गल्फन्दी’ हालियो । जसरी ‘देउवा दम्पती’सँगै केही बफादार भारदारले आफूइतरका लागि बालुवाटार ‘प्रवेश निषेध’ गरे झैं उक्त कालखण्डमा नायबी शासन चलाउन राज्यलक्ष्मीले कुनै कसर बाँकी राखिनन् । हुँदा-हुँदा देवर बहादुर शाहसँगको ‘कलह’का कारण दरवार भारदारिया षड्यन्त्र र हत्या हिंसाको ‘केन्द्रविन्दु’ नै बन्न पुग्यो ।

आफ्नै महामन्त्रीसँग संसदीय दलको नेतामा चुनाव लड्न सुराकी गर्न ‘गुप्तचर’ खटाउने देउवाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ‘प्लान ए, बी र सी’ अन्तर्गत के के योजना बुनिएका छन् भनेर बुझ्न गुप्तचर खटाउन आवश्यक ठानेनन् र विकसित राजनीतिक घटनाक्रमको भेउ पनि पाएनन् ।

उक्त कालखण्डको घटनालाई नलम्ब्याउँ, उल्लेखित घटनासँग बालुवाटारलाई व्यक्ति हत्याको थलो बनाउनेबाहेक ‘देउवा’लाई प्रधानमन्त्रीको कुर्सीमा राखेर ‘नायबी शासन’ चलाउँदै आफू ‘इतर’कालाई बालुवाटार प्रवेश नै नदिने तर आफ्ना ‘एसम्यान’का लागि भने बालुवाटारको ढोका ‘खुल्जा सिमसिम’ भन्नासाथ खुल्दै गयो । आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय कार्यान्वयन गर्ने कामका बैठकमा समेत आफ्नै महामन्त्रीद्वय ‘थापा-शर्मा’ माथि ‘छोई छिटो’ गरियो । बालुवाटारमा केवल देउवा दम्पतीका अलावा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीले मात्र सहज प्रवेश पाए ।

बालुवाटारमा जारी पार्टीका बैठकहरुमा महामन्त्रीहरुलाई बोलाउनै छाडियो । बैठकहरु पार्टी कार्यालयमा नबसी प्रधानमन्त्रीका सरकारी निवासमा बस्न थालियो । आफ्नै महामन्त्रीसँग संसदीय दलको नेतामा चुनाव लड्न सुराकी गर्न ‘गुप्तचर’ खटाउने देउवाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ‘प्लान ए, बी र सी’ अन्तर्गत के के योजना बुनिएका छन् भनेर बुझ्न गुप्तचर खटाउन आवश्यक ठानेनन् र विकसित राजनीतिक घटनाक्रमको भेउ पनि पाएनन् । ‘नायबी शासन’ चलाएकी राज्यलक्ष्मीले देवर बहादुर शाहलाई ‘दुश्मन’ देखे झैं तत्कालीन बालुवाटारले दुश्मन केवल महामन्त्रीद्वय ‘थापा-शर्मा’लाई मात्र देखिरह्यो । त्यतिमात्र नभई उनै थापा-शर्माकै कारण नायबी शासन गुमाउनुपरेको गज्जबको ‘भाष्य’ सिर्जना गरिँदैछ ।

नछाड्नुस मितज्यू, नछाड्नुस्

खाइपाइ आएको प्रधानमन्त्री पदमा निरन्तरता दिन चाहने ‘देउवा’ र नेकपा नै छाडेर प्रधानमन्त्री पदमा देउवालाई यसअघि नै पु¥याइ सकिएकाले ‘अबको प्रधानमन्त्री आफू’ भन्ने प्रचण्डबीचको ‘प्रधानमन्त्रीको कुर्सी हत्याउने रस्साकस्सी’का विषयमा एउटा रोचक प्रसंग जोड्नु सान्दर्भिक रहला । प्रसंगका अनुसार एउटा घनघोर जंगलमा विभिन्न जनावरहरु बस्दथें । उक्त जंगलमा अन्य जनावरसँगै सिंह र बाघको पनि बसोबास थियो । जंगलमा राजा भने कोही थिएन । ‘सिंह-बाघ’ दुवैले सल्लाह गरेर एउटा राजा चयन गर्नैपर्ने निधो गरे, जसरी देउवा र प्रचण्डले गरेका थिए । राजा चयन गर्ने सन्दर्भमा सिंह र बाघमध्ये को राजा भन्ने असहज परिस्थिति आइलाग्यो । सिंह र बाघले आ-आफैं राजा भएको घोषणा गर्दा मान्यता प्राप्त गर्ने स्थिति नभएकाले उनीहरु दुवै मिलेर आफूहरुमध्ये एकलाई राजा घोषणा गरिदिन चतुर जनावर ‘स्याल’लाई आग्रह गरे । मिति दुई दिनको तोकियो ।

आफू ‘डीपीएम’ प्राप्त गर्ने चाहनालाई मूर्त बनाउन प्रचण्डलाई ‘पीएम’ नछाड्नुस् भन्ने तर परिणाम ‘कांग्रेसरहित’को सरकार निर्माण हुने स्थितिमा सारा दोषको भागीदार ‘गगन-विश्व’ हुन भन्ने ‘भाष्य’ले कांग्रेसलाई अन्ततोगत्वा बनाउने भनेकै ‘खरानी’ हो ।

‘राजा तोक्ने’ अधिकार पाएको स्याल प्रारम्भमा त खुशी नै भयो । तर, सिंह र बाघमध्ये एउटालाई राजा तोक्दा राजा बन्न नपाउनेले आफंैलाई शिकार बनाइदिने भेउ स्यालले पछि मात्र बुझ्यो । फन्दामा परेको स्यालले राजा तोक्नेभन्दा पनि पहिला आफू बाँच्ने जुक्ति निकाल्न थाल्यो । आखिर समय पनि दुई दिनभन्दा थिएन । भोलिपल्ट बिहानै स्याल सिंहकोमा पुगेर सिंहलाई भन्यो- ‘जंगलको राजा बन्न लायक तपाईं नै हो । जंगली जनावरमध्ये सिंहभन्दा सर्वाेत्कृष्ट कुनै पनि जनावर हुँदै सक्दैन । बाघले तपाईंसामु राजाको दाबी गर्नु नै मूर्खता हो ।’ यति भनिसकेर स्यालले दुःखेसो गर्दै मलिन स्वरमा भन्यो- ‘तपाईंलाई मैले राजा घोषणा गर्नासाथ बाघले मेरो हत्या गरिदिने निश्चित भएकाले तपाईं र म ‘मित’ लगाउँ ।’ राजा बन्ने सपना देखेको सिंह राजी भयो र सिंहसँग मित लगाएर स्याल घर फर्कियो ।

सोही साँझ स्याल फेरि बाघको निवासमा पुग्यो । बाघलाई पनि सोही प्रकृतिले तर्क राख्दै तपाईंको ‘लुक्स’ र तपाईंको दौडाइको सामु ‘झ्याम्म भुत्ला’ भएको तथा हेर्दै घिनलाग्दो सिंहले राजा माग्न सुहाउला भन्दै स्यालले उल्टै प्रतिप्रश्न गर्‍यो । त्यसपछि सिंहसँग अपनाएको फर्मुला झैं बाघसँग पनि मित लगाएर स्याल घर फर्कियो । राजा घोषणा गर्ने दिन दुवैलाई खुला चौरमा भेट गराएर स्यालले भन्यो- ‘तपाईंहरु दुई भिड्नुस्, जसले जित्छ उही राजा । सिंह र बाघ राजा प्राप्त गर्ने होडमा नराम्रोसँग भिड्न थाले र माथिल्लो डिलमा बसेर सिंह र बाघ दुवैसँग मित लगाउन पुगेको चतुर स्यालले भन्यो- ‘नछाड्नुस् मितज्यू, नछाड्नुस्, म छु ।’

कांग्रेसको आसन्न समीक्षा बैठकमा ‘देउवा र प्रचण्ड’ दुवैलाई प्रधानमन्त्रीको कुर्सीको लडाइँबाट ‘नछाड्नुस् मितज्यू’ भन्ने छट्टु स्यालहरु कांग्रेसभित्र को हुन् ? कांग्रेसइतरमा को हुन् ? र, राष्ट्रिय अन्तराष्ट्रियस्तरका खेलाडी पनि छट्टु स्याल बनेर देखापरेका हुनसक्छन् । ती को हुन् भन्ने विहंगम समीक्षा जरुरी छ । आफू ‘डीपीएम’ प्राप्त गर्ने चाहनालाई मूर्त बनाउन प्रचण्डलाई ‘पीएम’ नछाड्नुस् भन्ने तर परिणाम ‘कांग्रेसरहित’को सरकार निर्माण हुने स्थितिमा सारा दोषको भागीदार ‘गगन-विश्व’ हुन भन्ने ‘भाष्य’ले कांग्रेसलाई अन्ततोगत्वा बनाउने भनेकै ‘खरानी’ हो । कांग्रेसले आफ्नो समीक्षा बैठकमा आफूबाट भए गरेका ‘नायबी शासन’देखि ‘सिंह र बाघ’ को राजा बन्ने सपनासम्मका कमी कमजोरीको निर्मम समीक्षा गर्न सक्नुपर्दछ ।

समयको गति र विपक्षीको रणनीति बुझ्न नसक्ने नेतृत्वबाट अब कांग्रेसले पार पाउनै पर्दछ । तसर्थ, टालटुलका निम्ति ‘नीति महाधिवेशन’ नभई विशेष महाधिवेशन नै गरेर कांग्रेसलाई ‘रिफर्म’मा लैजाने निर्णय कांग्रेसको आसन्न बैठकले लिन नसक्ने हो भने कांग्रेसलाई कमजोर र फुटउन्मुख गराउने ‘नछाड्नुस् मितज्यूवाला’ शक्तिले कांग्रेसलाई ‘रसातल’मै पुर्‍याउने निश्चित छ ।

नायबी शासन सञ्चालकी पात्र आरजु राणाले भने झैं ‘गगन-विश्व’को पनि यतिवेला कांग्रेसले शासनभार गुमाउँदै गर्दा ‘हड्डी हाँसेकै हो भने’ त्यो स्थिति कांग्रेसका लागि मात्र नभई मुलुक र लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण स्थिति बन्नेछ । देश दुनियाँले बुझेकै विषय हो । ‘नायबी शासन’को निरन्तरताको अभिलाषाले कांग्रेसले केन्द्रदेखि प्रदेश सरकार हुँदै राष्ट्रपतिदेखि सभामुखसम्मका सम्पूर्ण पद गुमायो । अब, घाम झैं छर्लङ विषयमा महामन्त्री पोखरा किन गा’को भन्नु भनेको चाहिं खोल्साको माथि भएको बाघले तल खोल्सामा रहेको गाईलाई पानी किन धमिल्याएको भनेर आरोप लगाउँदै शिकार गरे जस्तै हो ।

राजनीतिका चतुर खेलाडी केपी शर्मा ओली गठबन्धनभित्रको ‘खटपट’ कुरेर बसेका थिए । दोस्रो तहका नेता ओली कहाँ पठाएर प्रधानमन्त्री पद ‘कन्फर्म’ गराएकैले देउवासँग औपचारिक ‘ब्रेकअप’को प्रतीक्षामा अर्का खेलाडी प्रचण्ड थिए । त्यहीवेला कांग्रेसका चुनाव जितेका दोस्रो तहका नेता ‘डीपीएम’ तथा ‘हुक’ लगाएर नेता बनाइएका नेता ‘अर्थमन्त्री’ पाउन प्रचण्डलाई ‘पीएम’ नछाड्नुस भनिनै रहेका थिए । नायबी शासन चलाउँदै आएकी राज्यलक्ष्मी रुपी ‘फष्ट लेडी’ले फरक विचार र सम्भावनाको खेलमा जे पनि हुन सक्ने भएकाले प्लान ए अन्तर्गत देउवा बन्नेबाहेक प्लान बी र प्लान सी पनि बनाऊ भन्नेलाई बालुवाटार प्रवेशमै रोक लगाइदिएकी थिइन् ।

अन्ततः जब केपी ओलीको प्लान ए अनुसार देश अगाडि बढ्यो, तब बालुवाटार नै ‘डिप्रेशन’मा गयो । समयको गति र विपक्षीको रणनीति बुझ्न नसक्ने नेतृत्वबाट अब कांग्रेसले पार पाउनै पर्दछ । तसर्थ, टालटुलका निम्ति ‘नीति महाधिवेशन’ नभई विशेष महाधिवेशन नै गरेर कांग्रेसलाई ‘रिफर्म’मा लैजाने निर्णय कांग्रेसको आसन्न बैठकले लिन नसक्ने हो भने कांग्रेसलाई कमजोर र फुटउन्मुख गराउने ‘नछाड्नुस् मितज्यूवाला’ शक्तिले कांग्रेसलाई ‘रसातल’मै पुर्‍याउने निश्चित छ । तसर्थ, ‘बोल्ड डिसिजन’ लिनका निम्ति कांग्रेसलाई यतिवेला शुभकामनामात्र दिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *