रवि लामिछानेले खोलेको सीईओको भ्याकेन्सी – Nepal Press
टिप्पणी

रवि लामिछानेले खोलेको सीईओको भ्याकेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज फेसबुकमार्फत गरेको एउटा ‘भ्याकेन्सी’ ले धेरैको ध्यानाकृष्ट गरेको छ । उनले चितवनस्थित आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को एक पदमा दरखास्त आह्वान गरेका छन् ।

नेपालमा कुनै पनि पार्टीले सीईओ नियुक्त गरेर आफ्नो पार्टी कार्यालय सञ्चालन गरेको इतिहास छैन । राजनीतिमा लागेदेखि हरेक कुरामा नयाँपन खोजिरहेका रविले गर्न खोजेको यो नयाँ अभ्यास कत्तिको अर्थपूर्ण छ त ? सामाजिक सञ्जालमा धेरैखाले टिप्पणीहरु आइरहेका छन् ।

सामान्यतया सीईओ पद प्रायः व्यवसायिक प्रतिष्ठानहरुमा खडा गरिएको हुन्छ । यस पदमा रहेको व्यक्तिले आफ्नो कम्पनीलाई व्यवसायिक रुपमा माथि उठाउन समग्र टीमको नेतृत्व गर्छ । कम्पनीको सफलता-असफलतामा उसलाई मुख्य भागीदार मानिन्छ ।

व्यवसायिक कम्पनी र राजनीतिक दल धेरै नै फरक कुरा हुन् । उनीहरुको उद्देश्य, कार्यशैली, संगठन संरचनालगायतका यावत प्रणालीहरू भिन्न हुन्छन् । नेपालमा राजनीतिक पार्टीहरुले आफ्नो कार्यालय सञ्चालन गर्न कार्यालय सचिव वा केन्द्रमा मुख्य सचिव राख्ने प्रचलन छ । उसको मातहतमा कर्मचारीहरु राखिन्छन् । निजको कार्य क्षेत्र र अधिकार पनि विभिन्न पार्टीले आआफ्नै तरिकाले निर्धारण गरेका हुन्छन् । कार्यालयको रेखदेख र प्रशासनिक कामहरु कार्यालय सचिवले हेर्छन् । आर्थिक विषय पनि धेरथोर उनीहरुको जिम्मेवारीअन्तर्गत पर्छ ।

रविले मागेको सीईओ पार्टीको प्रधान कार्यालयका लागि नभएर आफ्नो निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयका लागि हो । उनले पार्टी सभापतिका हैसियतमा भन्दा पनि एउटा सांसदको हैसियतमा गर्ने कामहरुको संयोजन गर्न यो पदको सिर्जना गरेका हुन् । त्यसैले यस पदको विज्ञापन पनि उनले व्यक्तिगत तवरबाट गरेका छन् । ‘मजस्तै नेपाल फर्किन चाहनेहरुबाट’ भनेर उनले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरेका छन् । अर्थात् नेपालमै बसेकाहरुले अप्लाइ गर्न पाउँदैनन् ।

रविले आफ्नो स्टाटसमा लेखेका छन्, ‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ ।’

चुनावअघिको एउटा भाषणमा उनले आफ्नो कार्यकालमा विदेशबाट फर्किने सय जना नेपालीलाई स्वागत गर्न विमानस्थल पुग्ने घोषणा गरेका थिए । अहिलेको भ्याकेन्सी अनाउन्समेन्टमार्फत उनले चुनावअघिको प्रतिबद्धतामा इमानदारिता देखाएको संकेत गरेका छन् ।

रवि लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन् । विदेशमा बसेर श्रम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरालाई उनले आफ्नो राजनीतिको एउटा अभिष्ट बनाउँदै आएका छन् । चुनावअघिको एउटा भाषणमा उनले आफ्नो कार्यकालमा विदेशबाट फर्किने सय जना नेपालीलाई स्वागत गर्न विमानस्थल पुग्ने घोषणा गरेका थिए । अहिलेको भ्याकेन्सी अनाउन्समेन्टमार्फत उनले चुनावअघिको प्रतिबद्धतामा इमानदारिता देखाएको संकेत गरेका छन् । तर, विदेशमा बसेका नेपालीलाई स्वदेश फर्काउने कुरा यस्ता खुद्रा फण्डाहरु रचेर सम्भव छैन ।

नेपालीहरु विदेश किन जान्छन् ? रहरले वा बाध्यताले वा दुवैले ? यदि आँकडा हेर्ने हो भने रहरभन्दा बाध्यताले विदेश जानेहरुको संख्या निकै ठूलो देखिनेछ । बाध्यताले जानेहरु ती हुन्, जो देशभित्र रोजगारी प्राप्त गर्न असमर्थ छन् । जोसँग व्यवसायिक सीप र शैक्षिक योग्यता दुवै छैन, उनीहरु बढी मात्रामा श्रम गर्न विदेशिएको पाइन्छ । उनीहरुलाई स्वदेश फर्काउन तबमात्र सम्भव हुन्छ, जब देशभित्र उद्योगधन्धा–कलकारखानाहरुको विकास भएर यथेष्ट रोजगारीको सिर्जना हुन्छ ।

यस निम्ति सरकारी तथा गैरसरकारी स्तरबाट गतिलो कार्ययोजना र दूरदृष्टिको आवश्यकता पर्छ । हाम्रो देशको राजनीति सबैभन्दा चुकेको पनि यही पक्षमा हो । प्रजातन्त्र पुनःस्थापनायता बनेका कुनै पनि सरकारले स्वदेशभित्र कलकारखाना विस्तार गरेर रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेनन् । कागजमा राखे । तर, व्यवहारमा उतारेनन् । बरु भएका उद्योग पनि मासे । यसर्थ ठूलो जनशक्ति विदेश पलायन हुन बाध्य भयो र भइरहेकै छ ।

रविले सीईओको आह्वान गर्दा नेपालको रोजगारी समस्यालाई सम्बोधन गरेको भाव व्यक्त गरेका छन् ।

उनी लेख्छन्, ‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त ? सुरूवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला ।’

उनले थप योजना सार्वजनिक गर्दै जाने भने पनि एउटा सांसदका रुपमा उनले गर्न सक्ने कामहरुको निश्चित दायरा हुन्छ । संसद भनेको देशको नीति निर्माण गर्ने थलो हो । स्थानीयस्तरमा ठूला आयोजनाहरु अघि बढाउने क्षेत्राधिकार उनीहरुलाई हुँदैन ।

रविले एकजनाबाट सुरुवात गरेको भने पनि यसलाई कुनै हिसाबले पनि ‘सुरुवात’ मान्न सकिन्न । किनकि उनले सिर्जना गरेको पद ‘उत्पादनशील’ कामका लागि होइन, व्यवस्थापकीय कामका लागिमात्र हो । अरु पार्टीले कार्यालय सचिव भनेर राखेका छन् भने उनले फरक नाम दिएका छन् । उनले थप योजना सार्वजनिक गर्दै जाने भने पनि एउटा सांसदका रुपमा उनले गर्न सक्ने कामहरुको निश्चित दायरा हुन्छ । संसद भनेको देशको नीति निर्माण गर्ने थलो हो । स्थानीयस्तरमा ठूला आयोजनाहरु अघि बढाउने क्षेत्राधिकार उनीहरुलाई हुँदैन ।

रविले आफ्नो कार्यालयमा नियुक्त हुने सीईओलाई ‘अति आकर्षक तलब-सुविधा दिने’ पनि बताएका छन् । तर, एउटा निर्वाचन क्षेत्रमा खोलिएको पार्टी कार्यालयको आम्दानी स्रोत के हुन्छ ? कहाँबाट पैसा ल्याएर सीईओलाई अति आकर्षक तलब खुवाउने हो ? त्यो चाहिं उनले प्रस्ट पार्नुपर्ने छ । अनि उनले एउटा व्यक्तिलाई रोजगारी दिँदैमा विदेशमा रहेका नेपालीहरु हुरुरु फर्किएलान् ? बाकसमा फर्किनुपर्ने समस्या अन्त्य होला ? असम्भव छ ।

अर्को कुरा, रविको भ्याकेन्सीले ती नेपालीहरुलाई सम्बोधन गर्दैन जो बाध्यताले विदेशिएका छन् । बाध्यताले विदेशिएकाहरु खाडी मुलुकमा निम्नकोटीको श्रम गर्छन्, जोसँग सीईओ बन्ने ल्याकत र योग्यता हुँदैन । जोसँग यस्तो योग्यता छ, उनीहरु युरोप-अमेरिकामा राम्ररी सेटल भएर बसिरहेको वर्गमा पर्छन् । उनीहरुलाई रविको आह्वानले खासै आकर्षित नगर्न सक्छ ।

रविले चुनावअघि आफ्नो क्षेत्रका लागि अघि सारेको घोषणापत्रमा संसदीय योजना तर्जुमा बोर्ड बनाएर आफूलाई जनतासँग जोड्ने उल्लेख गरेका थिए । सोही बोर्डलाई नेतृत्व गर्न सीईओ नियुक्त गर्न लागेको बताउँछन् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल ।

‘जनप्रतिनिधिका रुपमा आफूलाई जनतासँग कनेक्ट गराइराख्न यस्तो संयन्त्रको अवधारणा ल्याउनुभएको हो’, ढकालले भने, ‘उहाँले चुनावअघि ल्याउनुभएको वाचापत्रमा नै यस्तो अवधारणा अघि सार्नुभएको थियो ।’

उनले रविको आह्वानलाई सांकेतिक रुपमा बुझ्न आग्रह गरे । ‘विदेशमा बसेका नेपालीहरुलाई स्वदेश फर्किन प्रेरित गर्नुभएको हो, यसैबाट समस्या हल हुन्छ भन्न खोजिएको छैन’, उनले भने ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेले खोलेको सीईओको भ्याकेन्सी

  1. विदेशमा काम गरीरहेको भनन्दा स्वदेश मा वेरोजगार लाई काम दिएर विदेशीने काम कम गर्दा उचीत होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *