कांग्रेस संसदीय दलको चुनाव आज – Nepal Press

कांग्रेस संसदीय दलको चुनाव आज

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै छ । निर्वाचन बिहान ८ देखि १० बजेसम्म हुनेछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् ।

मङ्गलवार दुवै नेताले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए । थापालाई नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूको साथ रहेको छ । देउवासँग भने वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरू रहेका छन् ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेस संसदीय दलको चुनाव आज

  1. यो भारत र अमेरिकाबीचको चुनाव हो । अरू त तिनका निर्देशन मान्ने आज्ञापालक मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर