शेखरको समर्थनपछि गगन थापा हौसिए, चमत्कारिक परिणामको अपेक्षा – Nepal Press
कांग्रेस संसदीय दल

शेखरको समर्थनपछि गगन थापा हौसिए, चमत्कारिक परिणामको अपेक्षा

यस्तो छ संसदीय दलको गणित

काठमाडौं । चरण-चरणको छलफलपछि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिन संस्थापनइतरमा सहमति जुटेको छ । शेखर-गगन समूहबाट आज दिउँसो २ बजे हुने मनोनयनमा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

सोमबार र मंगलबार भएको छलफलपछि शेखरको समर्थनमा गगन थापालाई अघि सार्ने टुंगो लागेको हो ।

१४औं महाधिवेशनमा शेखरको नेतृत्वमा प्यानल बनाएर लडेको इतर समूहले १५औं महाधिवेशनसम्म आफूहरू एकढिक्का हुनुपर्ने दबाब दिँदै एकजनामात्र उभ्याउने गरी नेताहरूलाई दबाब दिएका थिए ।

पार्टीका सहमहामन्त्री जीवन परियारले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन आफूहरूले दबाब दिएको बताए । इतर समूह फुटाउन केही लागेको भन्दै त्यस्ताका विरुद्ध एक ढिक्का बन्नुपर्ने उनको भनाइ थियो ।

गगन कति बलिया ?

चुनावअघिदेखि नै गगन थापाले संसदीय दलको नेता लड्न तयारी थालिसकेको बताएका थिए । सुरूमा केही संकेत नगरेका शेखरले पनि पछिल्लो समयमा आकांक्षा देखाए । यसरी इतर समूहमै दुई दावेदार हुँदा देउवालाई प्रतिस्पर्धा सहज बनेको थियो । तर, अब शेखरको समर्थनपछि गगनको मनोबल बढेको छ ।

के शेखरको समर्थनप्राप्त गगनले देउवालाई कडा चुनौती देलान् ? कांग्रेसको गणित हेर्दा अहिले पनि देउवा नै बलिया देखिन्छन् । यदि शेखर समूह एक ढिक्का भएर गगनलाई भोट हाल्यो भने पनि उनले जित्न सहज छैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ गगन थापा पक्षका नेताहरू बताउँछन् ।

आजको बैठकमा ३८ जना सांसद उपस्थित भएको इतर समूहका नेताको भनाइ छ । कांग्रेस संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर ‘चमत्कारिक जित’ हासिल गर्ने अपेक्षामा गगन थापा छन् ।

तर, संस्थापन पक्षका नेताहरू भने इतर समूहकै सबैले गगनलाई भोट नहाल्ने दाबी गर्छन् ।

‘उमेर र राजनीतिक अनुभवले पाका नेताहरू गगनलाई प्रधानमन्त्रीको कुर्सीमा देख्न चाहँदैनन्,’ एक नेताले भने, ‘फराकिलो अन्तरलले देउवा संसदीय दलको नेता बन्ने निश्चित छ ।’

त्यसो भए के संस्थापन पक्षका युवाहरूले चाहीँ देउवालाई समर्थन गर्लान् त ? जस्तो कि प्रदीप पौडेलले आफू परिवर्तनको पक्षमा रहेको बताउँदै आएका छन् । के उनी र उनीजस्ता नेताहरू गगनको पक्षमा खुल्लान् । स्रोतले त्यो सम्भावना पनि क्षीण रहेको बतायो ।

यो पनि पढ्नुस्- इतर समूह एकजुट भए देउवा बराबर सीट, गगन एक्लै लड्दा कट्नै गाह्रो ‘डबल डिजिट’

‘सार्वजनिक खपतका लागि बाहिर जे बोले पनि प्रदीप पौडेलले पनि भोट हाल्ने शेरबहादुरलाई नै हो,’ स्रोतले भन्यो ।

बरु यसअघि गगनसँगै महामन्त्रीमा प्रतिस्पर्धा गरेका विश्वप्रकाश शर्मा गगनको पक्षमा उभिँदै आएका छन् । उनले चुनावअघि नै गगनलाई भावि प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गर्ने बताएका थिए । उनको समर्थनले गगनलाई नैतिक बल छ मिल्छ, तर कांग्रेसभित्र विश्वप्रकाशको पकडमा खासै सांसदहरु छैनन् । त्यसैले संख्यात्मकरूपमा ठूलो फाइदा हुँदैन ।

देउवाले भने सांसदको टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । गठबन्धनबाट ९१ सीटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ । संस्थापन पक्षबाट ५० जनाले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन् । शेखर-गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, रामचन्द्र-शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन् ।

अहिले रामचन्द्र-शशांक र प्रकाशमान दुवै समूहले देउवालाई समर्थन गर्ने देखिएको छ । तर, गगन थापाले ती दुवै गुटबाट पनि आफूले भोट पाउने आशा राखेका छन् । खासगरि युवा पुस्ताका सांसदहरूप्रति उनलाई ठूलो भरोसा छ ।

यता देउवा भने महाधिवेशनपछि चुनावसम्म आइपुग्दा इतर समूह तितरबतर भएकाले त्यसलाई ‘क्यास’ गर्ने दाउमा छन् । केही सांसदहरू अहिले मन्त्रीलगायत विभिन्न लाभदायी जिम्मेवारीका लागि बालुवाटारको आश्वासनको कारण देउवालाई सघाउन राजी बनेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरीलगायत केही नेताहरूले चुनाव हार्दा राजनीतिक रूपमा केही क्षति व्यहोरेका देउवाले टिकट वितरणको क्रममा इतर समूहकै केही नेता हात लिएको कांग्रेस वृत्तमा चर्चा छ ।

यसरी हेर्दा इतर समूह एकजुट हुन नदिन देउवा एक हदसम्म सफल भइसकेका छन् । अहिलेसम्म संसदीय दलमा देउवा सुविधाजनक बहुमतमा छन् ।

गगन थापालाई शेखरनिकट केही सांसदले भोट नहाल्ने अनुमान भइरहदा देउवानिकट केही सांसदले भोट दिने अपेक्षा छ । देउवा पक्षका भनेर चिनिएका कतिपय सांसद गगनको सम्पर्कमा छन् र उनीहरुले गोप्य मतदानमा गगनलाई सघाउने आश्वासन दिएकाछन् ।
त्यसो त प्रकाशमान सिंह निकट मानिएका राजेन्द्र केसी र सन्तोष चालिसेले पनि देउवा र गगन छान्दा गगनको पक्षमा मतदान गर्ने दावी छ । विश्वप्रकाश गगनको समर्थक बस्नुको सन्देश आफैंमा अर्थपूर्ण मानिएको छ । गगन पक्ष कन्फिेडेन्सका साथ चुनावमा गएको छ ।

यस्तो छ कांग्रेस संसदीय दलको अंकगणित

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर