नेपाली फुटबल प्रशिक्षक कटुवाल भन्छन्- अर्जेन्टिनामा टीम भावना, फ्रान्सको थोरै बढी सम्भावना – Nepal Press

नेपाली फुटबल प्रशिक्षक कटुवाल भन्छन्- अर्जेन्टिनामा टीम भावना, फ्रान्सको थोरै बढी सम्भावना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका निमित्त प्रमुख प्रशिक्षक प्रवेश कटवालले विश्वकप फुटबलको आइतबार राति हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराउन सक्ने अनुमान गरेका छन् ।

झापाको बिर्तामोडनजिकै रहेको सैनिक बजारस्थित बास्केटबल कोर्टमा प्रोजेक्टर राखेर ४/५ सय दर्शकमाझ फाइनल हेर्ने तयारी गरिरहेका कटवाल भन्छन्, ‘फाइनलमा अनुमान लगाउन गाह्रो छ । फ्रान्सको ५५ प्रतिशत र अर्जेन्टिनाको ४५ प्रतिशत सम्भावना देखिरहेको छु ।’

उनले फ्रान्सले पछिल्लोपटक अर्जेन्टिनालाई हराएकाले मनोबल उच्च भएको हुनसक्ने बताए ।

‘पछिल्लोपटक जितेको मानसिकताले धेरै काम गर्छ । फ्रान्सको टीम सन्तुलित देखिन्छ । अघिल्लोपटक विश्वकप खेलेका धेरै खेलाडी टोलीमा छन् । मिडफिल्ड धेरै बलियो देखिन्छ । ग्रिजम्यान परिपक्व बनेका छन् । एमबाप्पे फर्ममा देखिन्छन्’, उनी भन्छन्, ‘तर, पोग्बा र कान्टेजस्ता खेलाडी चोटका कारण नभएकाले मिडफिल्डमा अनुभवको कमी देख्न सकिन्छ ।’

उनले अर्जेन्टिनामा टीम भावना बलियो रहेको बताए ।

‘अर्जेन्टिना यो प्रतियोगितामा पहिलो खेल हारेर पनि फर्किएको टोली हो । सेमिफाइनलमा ब्राजिल, जर्मनीजस्ता टिमहरु भिड्ने समीकरण देखिए पनि उनीहरु चाँडै आउट हुँदा त्यसको फाइदा अर्जेन्टिनालाई देखियो’, कटवाल भन्छन्, ‘अर्जेन्टिनाको सबैभन्दा बलियो पक्ष भनेकै टीम भावना हो । सबै जनाले मेस्सीका लागि खेलिरहेका छन् जस्तो देखिन्छ । त्यसले गर्दा टीम निकै बलियो बनेको छ । डिफेन्समा केही बुढा खेलाडी भएकाले फ्रान्सविरुद्ध अर्जेन्टिनालाई समस्या पर्न सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर