क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसकेका एमबाप्पेका लागि अर्जेन्टिनाविरुद्ध मुख्य दुई चुनौती – Nepal Press

क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसकेका एमबाप्पेका लागि अर्जेन्टिनाविरुद्ध मुख्य दुई चुनौती

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आइतबार राति हुने अर्जेन्टिनाविरुद्धको फाइनलमा फ्रान्सका सबैभन्दा बढी आशा गरिएका खेलाडी हुन्, केलियन एमबाप्पे ।

चार वर्षअघि रुसमा आयोजित विश्वकप जित्दा एमबाप्पेले पेलेको कीर्तिमान चुम्दै विश्वकप जितेका थिए । उनी विश्वकपको फाइनलमा गोल गर्ने र उपाधि जित्ने पेलेयताका पहिलो किशोर खेलाडी बनेका थिए ।

जारी विश्वकपमा एमबाप्पे गोल्डेन बुटको दौडमा छन् । उनले प्रतियोगितामा ५ गोल र दुई असिस्ट गरेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनल मेस्सीको नाममा ५ गोल र तीन असिस्ट रहेको छ ।

एमबाप्पेले जारी प्रतियोगिताका क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न सकेका छैनन् । फाइनलमा गोल गरे मात्र उनले गोल्डेन बुट जित्ने सम्भावना रहन्छ ।

फ्रान्स विश्वकपमा ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्ने प्रयासमा रहेको छ । यस्तो सफलता अन्तिमपटक पेलेसम्मिलित ब्राजिलले सन् १९६२ मा हात पारेको थियो ।

विश्वकप फुटबल इतिहासमा ब्राजिल र इटालीले मात्र उपाधि रक्षा गरेका छन् । इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको थियो । विश्वकप इतिहासमा यसअघि केवल चार खेलाडीले मात्र दुईवटा संस्करणको फाइनलमा गोल गरेका छन् ।

ब्राजिलका भाभा र पेले, जर्मनीका पल ब्रेइटनर र फ्रान्सका जिनेदिन जिदान दुई वटा फाइनलमा गोल गर्ने खेलाडी हुन् ।
जिदानले सन् १९९८ र २००६, भाभाले सन् १९५८ र १९६२, पेलेले १९५८ र १९७० विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्रेइटनरले सन् १९७४ र १९८२ को विश्वकपको फाइनलमा गोल गरेका थिए । यो हिसाबले अर्जेन्टिनाविरुद्ध गोल गर्न सकेको अवस्थामा एमबाप्पे लगातार विश्वकपको फाइनलमा गोल गर्ने केवल दोस्रो खेलाडी पनि बन्नेछन् ।

क्लब फुटबलमा एमबाप्पेले नेमार र मेस्सीसँगै फ्रान्सको पेरिस सेन्ट जर्मनबाट ब्यावशायीक फुटबल खेलिरहेका छन् ।
उनी लिग वानका पछिल्लो लगातार चार सिजनका सर्वाधिक गोलकर्ता हुन् । यो सिजन पनि उनी मेस्सी र नेमारजस्ता खेलाडीलाई पछाडि पार्दै घरेलु लिग र क्लबका लागि अगाडि रहेका छन् ।

फ्रान्सले सन् २०१८ को विश्वकपमा अर्जेन्टिनालाई पाखा लगाउँदा एमबाप्पेले दुई गोल गरेका थिए । त्यतिबेला फ्रान्सले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई हराएको थियो । विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई हराएको त्यो पहिलो र अन्तिम अवसर थियो। त्यसयता यी दुई टोली पहिलोपटक भिड्दैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर