आफैंले टिकट दिएकासँग ढुक्क छैनन् देउवा, बालुवाटार बोलाउँदै सांसदहरूलाई मन्त्रीको आश्वासन – Nepal Press

आफैंले टिकट दिएकासँग ढुक्क छैनन् देउवा, बालुवाटार बोलाउँदै सांसदहरूलाई मन्त्रीको आश्वासन

काठमाडौं । चुनाव अगाडि ‘दाइ भाउजू’ लाई धोका दिने छैन भनेर ‘तामो तुलसी’ भाकेको शैलीमा प्रतिबद्धता जनाएपछि टिकट लिएर गएका शेखर-गगन समूहका एक नेता प्रतिनिधिसभा सदस्य यसै साता बालुवाटार पुग्दा नसोचेको खातिरदारी पाए ।

महाधिवेशनमा शेखर-गगन समूहमा खुलेका तर टिकटको बेला आफ्नै मेहनत र बल प्रयोग गरेका ती नेतालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सघाएमा मन्त्री बनाइदिने आश्वासन दिए ।

अघिपछि सामान्यतः ५ मिनेट पनि कुरा नगर्ने देउवा त्यस दिन ती सांसदसँग करिब २५ मिनेट गफिएपछि उनी अचम्मितमात्र भएनन् मन्त्री बन्ने आश्वासन समेत पाएर फर्किए । पहिलोपटक टिकट पाएर जिते ती नेता अब खुलेर शेखर कोइराला वा गगन थापालाई संसदीय दलको नेतामा मत माग्ने वा दिने मुडमा छैनन् ।

अचेल बालुवाटारमा कांग्रेसका नवनिर्वाचित सांसदहरूले पाउने खातिरदारी र आश्वासनको यो सत्य घटनामा आधारित चित्रण हो । आफैंले टिकट दिएर चुनाव जितेका सांसदहरूबाट समेत ढुक्क नभएका देउवाले संसदीय दलको नेतामा सघाउन अर्को गुटबाट जितेका तथा समानुपातिकमा परेका सांसदहरूलाई समेत बोलाएर भेटिरहेका छन् ।

गठबन्धन सरकार बन्दा कांग्रेसले बढीमा ८ वा १० मन्त्रालय पाउन सक्छ । शशांक कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, रमेश लेखक, सीता गुरुङ, रमेश रिजालजस्ता नेताहरू यसपटक मन्त्री बन्ने लाइनमा छन् । तर, देउवाबाट अहिलेसम्म मन्त्रीको आश्वासन पाउने सांसदको संख्या ३८ पुगेको बालुवाटार पुगेर फर्किएका एक सांसदले बताए ।

कतिपय देउवानिकट भनिएकै सांसदहरूको पनि भर नभएपछि दलको नेताको निर्वाचनमा ढुक्क हुन देउवाले मन्त्री र समितिको सभापतिलगायतका आश्वासन दिएको आरोप गगन पक्षको छ । कतिपयलाई आलोपालोको आश्वासनसमेत दिइएको दाबी छ । यसपटक कतिपय सांसदहरूले परिवर्तनको पक्षमा उभ्याउन सक्ने देखिएपछि अहिले मेहनत गर्नुपरेको देउवानिकट नेताहरूको भनाइ छ ।

कांग्रेस नेताहरू भन्छन्- यसपटक धेरै नेताको अन्तिम मौका हो । शशांक, शेखर, विमलेन्द्र तहका नेताहरू समेत मन्त्री भने पनि खाने भनेर बसेका छन् । क्षेत्रीय सन्तुलनसमेत मिलाउँदा कांग्रेसका भेट्रान नेताहरूबाहेक अरुको चान्स छैन । तर, पनि टिकटबाट असन्तुष्ट भएकाहरूलाई राष्ट्रियसभा र नियुक्तिको आश्वासन दिएकै शैलीमा दलको नेता बन्न कम्फरटेबल संख्याका लागि सांसदहरूलाई मन्त्रीको आश्वासन दिइएको छ ।

पार्टी प्रवक्तासमेत रहेका नेता डा. प्रकाशरण महतले भने दलको नेतामा स्वाभाविकरूपमा देउवा निर्वाचित हुने निश्चित भइसकेको र सकेसम्म सर्वसम्मत नै हुने बताएका छन् । कसैलाई पनि आश्वासन दिनुपर्ने अवस्था नरहेको उनको भनाइ रहेकामे छ । सिनियर नेताहरू नै यसपटक मन्त्री बन्न लालायीत भएकाले कांग्रेसका जुनियर तथा पहिलोपटक चुनाव जितेर आएकाहरूको चान्स भने छैन ।

कांग्रेस नेताहरू भन्छन्- यसपटक धेरै नेताको अन्तिम मौका हो । शशांक, शेखर, विमलेन्द्र तहका नेताहरू समेत मन्त्री भने पनि खाने भनेर बसेका छन् । क्षेत्रीय सन्तुलनसमेत मिलाउँदा कांग्रेसका भेट्रान नेताहरूबाहेक अरुको चान्स छैन । तर, पनि टिकटबाट असन्तुष्ट भएकाहरूलाई राष्ट्रियसभा र नियुक्तिको आश्वासन दिएकै शैलीमा दलको नेता बन्न कम्फरटेबल संख्याका लागि सांसदहरूलाई मन्त्रीको आश्वासन दिइएको छ ।

शेखर कोइराला आफैं संसदीय दलको नेतामा उम्मेदवार बन्ने भनेर हिँडेपछि महाधिवेशनको शेखर-गगन समूह छिन्नभिन्न भएको बालुवाटारको ठहर छ । शेखर-गगन एकै ठाउँमा हुँदासमेत देउवासँग प्रतिस्पर्धा गर्न संख्या अपुग भएको बेला सो समूहबाट एउटैमात्र उम्मेदवार नहुँदा देउवालाई थप सहज हुने नै छ । तर, कतिपय सांसदहरूको भरोसा नभएका कारण मन्त्री पदको आश्वासन दिएर भनेपनि मिलाउन खोजिएको हो ।

यता गगन थापाले भने देउवा समूहकै केही सांसदहरूको समर्थन जुटाइरहेको सूचना बालुवाटार पुगेको छ । देउवा गुटभित्रै विभिन्न नेताहरूको उपगुटको अन्तरकलहका कारण कतिपय सांसदले भित्रभित्रै गगनलाई समर्थन गर्ने भएपछि बालुवाटारबाट मन्त्री पदको अफर बढेको हो । तर, कांग्रेसमा अहिले गुटको आधारमा भन्दा पनि मन्त्री पद सुरक्षित गर्न सांसदहरू आ-आफ्नै ढंगले लागेका छन् ।

उदाहरणका लागि दाङका दीपक गिरी महाधिवेशनमा शेखर-गगन समूहबाट सहमहामन्त्रीको उम्मेदवार थिए । पार्टीभित्र उनी डा. शशांक कोइराला निकट हुन् तर संसदीय दलमा गिरीले देउवालाई सघाउने देखिन्छ । मन्त्री बन्ने लाइनमा रहेका गिरी गगनतिर लागेर देउवालाई चिढ्याउन चाहँदैनन् । यस्तो संख्या कांग्रेसमा धेरै ठूलो छ ।

विभिन्न नेतासँग जोडिएर टिकट पाएका सांसदहरू यसपटक सिटौलाबाहेक अरु गुटका नेता आफैं प्रधानमन्त्री र मन्त्रीको दाबेदार बनेका कारण आफ्नै बुतामा मन्त्री बन्न लाइन मिलाउँदैछन् । शशांक आफैं मन्त्री बन्ने भएपछि दीपक गिरी, दीपक खड्काजस्ता नेताहरू आफैं देउवासँग नजिक भएका छन् ।

कृष्ण सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेल पनि गगनतिर खुल्ने अवस्था देखिएको छैन । पौडेल सिटौला कोटाबाट मन्त्री बन्ने सम्भावित सांसद हुन् । अहिले विश्वप्रकाश शर्मा जसरी गगनको पक्षमा खुलेका छन्,त्यति शेखर गगन समूहकै अरु सांसद कोही पनि खुल्न चाहेका छैनन् ।

चन्द्र भण्डारीले समेत देउवालाई भेटेर यसपटक आफूलाई मन्त्री बनाए दलको चुनावमा सघाउने आश्वासन दिएको सूचना गगनसम्म पुगेको छ । भण्डारी महाधिवेशनमा शेखर गगन समूहबाटै उपसभापति उम्मेदवार दिए । बालुवाटारबाट दलको चुनावअघि कांग्रेसका आधाभन्दा बढी सांसदलाई मन्त्रीको आश्वासन मिल्ने देखिएको छ ।

विभिन्न नेतासँग जोडिएर टिकट पाएका सांसदहरू यसपटक सिटौलाबाहेक अरु गुटका नेता आफैं प्रधानमन्त्री र मन्त्रीको दाबेदार बनेका कारण आफ्नै बुतामा मन्त्री बन्न लाइन मिलाउँदैछन् । शशांक आफैं मन्त्री बन्ने भएपछि दीपक गिरी, दीपक खड्काजस्ता नेताहरू आफैं देउवासँग नजिक भएका छन् ।

शेखर आफैं मन्त्री बन्न खोजेकाले सो समूहका सांसदहरू पनि अलमलमा छन् । कतिपय शेखर समूहका सांसदलाई बालुवाटारमा बोलाएर ‘चुनावअघि नै देउवा र शेखरबीच भद्र सहमति भइसकेको’ भन्दै अब दायाँ-बायाँ नगर्न भनिएको छ । यद्यपि मन्त्रीको आश्वासन पाएका धेरै सांसद भने आफ्नो उपादेयता संसदीय दलको चुनावसम्म मात्र हो भन्नेमा छन् ।

अर्को पक्षका सांसदलाई मन्त्रीको आश्वासन दिएर बालुवाटारले मानमनितो गर्दा देउवा गुटकै कतिपय चल्दापुर्जा सांसदहरू भने भड्किन थालेका छन् । उनीहरूलाई समेत मिलाउन दोस्रो तहका नेताहरूलाई लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर