वागमतीको मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी, गुटमै विवादपछि माओवादीलाई दिने मुडमा देउवा – Nepal Press

वागमतीको मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी, गुटमै विवादपछि माओवादीलाई दिने मुडमा देउवा

काठमाडौं । सत्तागठबन्धनबाट वागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा तीन दलले दाबी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेका हुन् ।

सरकार गठनका लागि गठबन्धनसँग सुविधाजनक बहुमत आएपछि गठबन्धन दलमा संसदीय दलको नेता बन्ने दौडधुप सुरू भएको छ । दलहरूबीच मुख्यमन्त्रीसहित प्रदेश सभामुख, उपसभामुख पदमा पनि प्याकेजमै भागबण्डाको प्रयास जारी नै छ ।

वागमतीको भावी मुख्यमन्त्रीका कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको दाबी छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल र पूर्वसामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल र वसन्त मानन्धरले आ-आफ्नो दाबी पेस गर्दै मुख्यमन्त्रीको रेसमा छन् ।

मुख्यमन्त्रीका लागि दलका नेताभित्र आन्तरिक दौड चलेपनि केन्द्रको निर्णयमा निर्भर हुन्छ । वागमतीमा मुख्यमन्त्रीको दाबी गर्दै आएका कांग्रेसका बानियाँ सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रुचाइएका व्यक्तिमा पर्दैनन् । आफ्नै गुटका बहादुरसिंहले पनि दाबी गरिरहेका बेला देउवाले वागमती सरकारको नेतृत्व माओवादीलाई छाड्ने संकेत देखाएको स्रोतले बतायो ।

माओवादीले सुदूरपश्चिम र वागमती पाउँदा कांग्रेसले गण्डकी, कर्णाली र लुम्बिनी पाउने गरी शीर्ष तहमा समझदारीको प्रयास भइरहेको छ ।

तर, गठबन्धनमा आबद्ध रहेको नेकपा एसले पनि एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । प्रदेश १ र मधेस प्रदेशमा गठबन्धनको बहुमत नपुग्ने भएकाले त्यहाँ टुंग्याउन सकेको छैन ।

प्रदेश १ मा सत्तागठबन्धनभन्दा पनि एमाले गठबन्धनको सरकार बन्ने सम्भावना छ भने मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

११० सांसद रहेको वागमती प्रदेशमा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्छ । यहाँ कांग्रेसले ३७, एमालेले २७, माओवादीले २१, राप्रपाले १३, एकीकृत समाजवादीले ७, नेमकिपाले ३ र हाम्रो नेपाली पार्टीले २ सीट जितेको छ ।

तर, गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एसले ६५ सीट जितेकाले सरकार गठनको लागि पर्याप्त बहुमत छ ।

बानियाँलाई लामाको चुनौती

वागमती प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका कांग्रेसका बानियाँलाई बहादुरसिंह लामाले चुनौती दिएका छन् । नुवाकोटबाट जितेका लामाले मुख्यमन्त्री बन्न आन्तरिक तयारी थालेपछि बानियाँ दबाबमा छन् ।

तर, पहिलो ठूलो दलको नाताले पनि वागमतीमा कांग्रेसको दाबी स्वाभाविक भएको बानियाँ बताउँछन् । यसअघि पनि गठबन्धनमा आलोपालो सहमति हुँदा पनि छाडेकाले अहिले आफ्नो दाबी प्रस्तुत गर्दै आएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पहिलो दल भएकाले यहाँको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हो । त्यसैले मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ ।’

उनले चुनावअघि गठबन्धन बनेदेखि नै दाबी गर्दै आइरहेपनि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीका प्रभावशाली नेता पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्य निर्वाचित भएका लामा अहिले प्रदेशमा उठेका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद लामा अहिले मुख्यमन्त्रीकै लागि प्रदेशमा उठेको चर्चा छ । बानियाँमाथि गठबन्धनको उम्मेदवार हराउन लागेको आरोप लागेको छ ।

माओवादीमा हानथाप

पार्टी संसदीय दलका नेता नै पार्टी सरकारमा जाँदा मुख्यमन्त्री हुने भएकाले माओवादीभित्र पनि उस्तै गर्मागर्मी छ । माओवादीबाट प्रदेश अध्यक्ष पौडेलसहित शालिकराम जमकट्टेल र युवराज दुलाल ‘शरद’ आकांक्षी छन् ।

चर्चामा तीनजना रहेपनि दलको नेताका लागि पौडेल र जमकट्टेलबीच कडा टक्कर पर्ने नेताहरू बताउँछन् । नेता पौडेलले गत साता नेपाल प्रेसँगको कुराकानीमा पौडेलले आफू वागमती प्रदेश अध्यक्ष भएको नाताले दलको नेतामा स्वाभाविक दाबी रहने बताएका थिए ।

उनले भनेका थिए, ‘हाम्रो विधानमा पनि पार्टीले सरकार चलाउने भनिएको छ, म वागमती प्रदेशको अध्यक्ष पनि हुँ, अहिले हाम्रो प्रदेश कमिटी कार्यकारी अधिकार रहेको कमिटी पनि भएको कारण पार्टीको नीतिअनुसार सरकार चलाउन मैले दलको नेता हुनैपर्छ र यो मेरो दाबी पनि हो ।’

अध्यक्ष पौडेलले आफू सकेसम्म सर्वसम्मत ढंगबाट दलको नेता चुनिने नभए लोकतान्त्रिक विधिबाट दलको नेतामा चयन हुने विश्वास व्यक्त गरे ।

दलको नेतामा पार्टीकै अरु दुईको चर्चाबारे नेपाल प्रेसको जिज्ञासामा उनले भनेका थिए, ‘उहाँहरू पहिले पनि दलको नेता तथा सरकारमा रहिसक्नु भएका नेताहरू भएको कारण चर्चा हुनुलाई मैले स्वाभाविक रूपमा बुझेको छु, यसको मतलब मेरो दाबी रहन्न भन्ने छैन । तर, प्रदेश अध्यक्षको नाताले मेरो दाबीलाई स्वाभाविक पनि मान्नुपर्छ ।’

यस्तै, पूर्वमन्त्री समेत भइसकेका दुलालले मुख्यमन्त्रीमा आफ्नो दाबी भएको नेपाल प्रेसलाई बताए।

उनले भने, ‘दुई वर्ष मन्त्रालय चलाइसकेको अनुभव छ । अब संसदीय दल र मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ । त्यही अनुसारको तयारीमा लागेको छु ।’

प्रदेश सरकारको नेतृत्व माओवादीको भागमा पर्ने सम्भावना बढेसँगै नेताहरूबीच दौडधुप बढेको बताइएको छ । उनीहरूमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसलाई रोज्छन् भन्नेमा भर पर्छ ।

नेकपा एस भन्छ : हामीले पाउनुपर्छ

तर, गठबन्धनमा संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति हुँदा वागमती प्रदेशको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने नेकपा एसबाट मुख्यमन्त्रीका दाबेदार कृष्णप्रसाद खनाल बताउँछन् ।

उनी भन्छन्, ‘हामी गठबन्धनबाट निर्वाचनमा गएका हौँ । अब प्याकेजमा भागबण्डा हुँदा हामीले यहाँको मुख्यमन्त्री पाउनुपर्छ भनेर लागेका छौँ ।’

गठबन्धनको बैठकमा पनि शीर्ष नेताहरूले वागमतीको नेतृत्व दाबी गरिरहेको उनले बताए ।

उनले भने, ‘हाम्रो पहिलाको संसदीय दलको नेता संघमा चुनाव जितिसक्नुभयो । अब संसदीय दलको उपनेता म हुँ । त्यसैलै हाम्रो भागमा नेतृत्व पर्दा मुख्यमन्त्रीको दाबेदार हाम्रो पार्टीबाट स्वत: म हुन्छु नै ।’

त्यस्तै काठमाडौं ७ (१) बाट निर्वाचित वसन्त मानन्धरले पनि दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर