भारतमा नेपालीलाई थपियो सास्ती- भिसा र आधार कार्डविना पाइँदैन सीम कार्ड – Nepal Press

भारतमा नेपालीलाई थपियो सास्ती- भिसा र आधार कार्डविना पाइँदैन सीम कार्ड

आधार कार्ड प्राप्त गर्न पनि अनेक झमेला

काठमाडौं । सन् १९५० को सन्धिको भावनाविपरीत भारतले आफ्नो देशमा आउने नेपालीहरुलाई झमेला थपेको छ । केही समयदेखि भारतमा भिसा र आधार कार्ड नभएका विदेशी नागरिकलाई सीम कार्ड दिन रोकिएको छ, जसले सबैभन्दा बढी नेपालीहरु प्रभावित बनेका छन् ।

नेपाल-भारत सीमा खुला भएकाले दुवै देशका नागरिकहरु विनाभिसा एक-अर्को देशमा आवतजावत गर्न सक्छन् । विगतमा भारतमा नेपालीहरुले आफ्नै देशको कागजात (नागरिकता वा पासपोर्ट) का आधारमा सहजै जुनसुकै कम्पनीको सिम कार्ड लिन सक्थे ।

तर, गत वर्षको जुलाइदेखि अस्थायी प्रयोजनका लागि जाने नेपालीहरुलाई सीम कार्ड पाउन असम्भव बन्दै आएको छ । जसले गर्दा उनीहरुले नेपालमा परिवारजनसँग सम्पर्क गर्न कठिनाइ भोगिरहेका छन् । साथै इन्टरनेटको प्रयोग गर्न पनि असुविधा भइरहेको छ ।

भारतले घोषित नभई अघोषित रुपमा भिसा र आधार कार्ड नभएका विदेशी नागरिकलाई सीम कार्ड दिन रोकेको हो । मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई सरकारले यस्तो निर्देशन दिएको पाइएको हाल दिल्लीमा रहेका नेपाली पत्रकार पर्शुराम काफ्लेले जानकारी दिए । सरकारी स्तरबाट भने यसबारेमा केही नबताइएको उनको भनाइ छ ।

यता भारतले अहिले आफ्नो देशको आधार कार्ड वितरण गर्न पनि कडाइ गरिरहेको छ । विगतमा १८० दिन भारतमा बिताएकाले सजिलै आधार कार्ड पाउने गर्थे । तर, अहिले अनेकथरि कागजात माग्ने गरिएको दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्काले बताए ।

नेपाल प्रेससँग खड्काले भने, ‘अहिले आधार कार्ड लिन अनेकौं झमेला थपिएका छन् । भारतमा रहेका लाखौं नेपालीले आधार कार्ड पाएका छैनन् । यसले गर्दा खासगरी यहाँ अध्ययनका लागि आएका विद्यार्थीहरु मर्कामा परेका छन् । उनीहरु भारतकै बैंकिङ प्रणालीमा समेत जोडिन सकेका छैनन् ।’

भारतमा सीम कार्ड र आधार कार्डको समस्याबारे यहाँको सरकारबाट कुनै पहल भएको छैन । दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको बताए पनि भारत सरकारले बेवास्ता गरेको छ । नेपाल सरकारले नै ताकेता गर्दा त नसुन्ने भारतले नेपाली दूतावासलाई कुनै महत्व नै दिँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपालमा आउँदा संसदमा बोल्दै भारतबाट नेपालमा फोन गर्दाको शुल्क घटाउने बताएका थिए । तर, शुल्क घटाउने त परै जाओस्, महँगो शुल्क तिरेर पनि फोन गर्न नपाइने अवस्था उनले सिर्जना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *