प्रकाशमानलाई बधाई दिँदै मिश्रले भने- देशलाई शिरमा राखेर जिम्मेवारी निर्वाह गर्ने प्रेरणा मिलोस् – Nepal Press

प्रकाशमानलाई बधाई दिँदै मिश्रले भने- देशलाई शिरमा राखेर जिम्मेवारी निर्वाह गर्ने प्रेरणा मिलोस्

काठमाडौं। काठमाडौं-१ मा झिनो अन्तरले पराजित रवीन्द्र मिश्रले प्राप्त जनमतलाई टुट्न नदिने बताएका छन् । उनले विजयी प्रकाशमान सिंहलाई समाज र देशलाई शिरमा राखेर जिम्मेवारी निर्वाह गर्ने शक्ति र प्रेरणा मिलोस् भन्दै बधाई पनि दिएका छन् ।

‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी छु, तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु । गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीका बीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन’, मिश्रले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले हारबाट कतिपनि विचलित नभएको भन्दै अगाडि लेखेका छन्, ‘धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ । अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म ‘कर्म गर फलको ‘भर’ नपर’ भन्ने मान्यता राख्दछु । कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु । तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु ।’

आफूमाथि ठूलो विश्वास गर्ने मतदातालाई विगतमा केही गर्न नसकेको भन्दै उनले आगामी दिनका लागि २५ लाख रूपैयाँ राशीको ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ स्थापना गरेको घोषणा गरेका छन् ।

‘मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिनँ । तर, व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नम्बर एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि ९बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु । त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ’, मिश्रले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *