सुदूरपश्चिमका १३ क्षेत्रमा गणना जारी हुँदा कांग्रेस पहिलो, एमाले-उन्मुक्तिको बराबरी अग्रता – Nepal Press

सुदूरपश्चिमका १३ क्षेत्रमा गणना जारी हुँदा कांग्रेस पहिलो, एमाले-उन्मुक्तिको बराबरी अग्रता

एस दुई ठाउँ अगाडि, माओवादीले लिड गर्न सकेन

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये अहिले सम्म १३ निर्वाचन क्षेत्रमा मत गणना जारी छ । कैलालीकाका ४ वटा निर्वाचन क्षेत्र, कञ्चनपुरका ३ निर्वाचन क्षेत्र, अछामका २ निर्वाचन क्षेत्र, डडेल्धुरा, दार्चुला र बैतडीमा अहिले मत गणना जारी छ । कैलालीको ५, बाजुरा र बझाङमा अहिले सम्म पनि मत गणना सुरु हुन सकेको छैन ।

१३ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले सबै भन्दा धेरै क्षेत्रमा अग्रता बनाइरहेको छ । कांग्रेसले ५स्थानमा अग्रता बनाउँदा, एमाले र नागरिक उन्मुक्तिले ३/३ ठाउँमा अग्रता बनाइरहेका छन् । अहिले सम्म माओवादी केन्द्रले कुनै क्षेत्रमा पनि अग्रता बनाउन सकेको छैन । सत्ता गठबन्धनमा यहाँ कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ ठाउँमा भाग पाएको थियो ।

कांग्रेसले पाएको ९ क्षेत्र मध्ये अहिले सम्म कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक अगाडी छन् । साउदलाई एमालेका नरबहादुर धामी र लेखकलाई एमालेकै निरु पालले पच्छाइ रहेकी छन् ।

अघिल्लो निर्वाचनमा साउद धामीसँग पराजित भएका थिए । उता डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा मतान्तर फराकिलो बनाउँदै गइरहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् । त्यहाँ एमाले र नेकपा एकीकृत समाजवादीको सहयोग पाएका कर्ण मल्ल तोस्रो स्थानमा छन् ।

दार्चुलामा पनि कांग्रेसका दिलेन्द्र बडूले अहिले अग्रता बनाएका छन् । त्यहाँ एमालेका गणेश ठगुन्नाले बडूलाई पच्छाइरहेका छन् । ठगुन्ना अघिल्लो पटक निर्वाचित भएका थिए ।

अछाम २ मा पनि कांग्रेस अगाडी छ । यहाँ कांग्रेसका पुष्प शाहलाई एमालेका यज्ञ बोगटीले पच्छाइरहेका छन् । अघिल्लो पटक शाह बोगटीसँग पराजित भएका थिए ।

यता नागरिक उन्मुक्ति पार्टीले कैलालीको १,२ र ३ मा अग्रता बनाइरहेको छ । १ मा नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष तथा रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठले कांग्रेसका राम जनम चौधरीलाई पछि पारेकी छन् । यहाँ एमालेका तपेन्द्र रावल तेस्रो स्थानमा छन् । अघिल्लो पटक यहाँबाट रेशम चौधरी निर्वाचित भएका थिए ।

कैलाली २ मा पनि नागरिक उन्मुक्तिमा अरुण चौधरी अगाडी छन् । उनलाई एमालेका झपट रावलले पच्छाइरहेका छन् । यहाँ सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगत बडूवाल तेस्रो स्थानमा छन् ।

कैलाली ३ मा पनि नागरिक उन्मुक्तिका गङ्गा चौधरी अगाडी छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण चौधरीले पच्छाइरहेका छन् । अघिल्लो पटक यहाँ तत्कालीन माओवादीबाट गौरीशङ्कर चौधरी निर्वाचित भएका थिए । उनी अहिले एमालेबाट उम्मेदवार भएका छन् । उनी अहिले सम्म तेस्रो स्थानमा छन् ।

एमालेले अहिले सम्म कैलाली ४ मा अग्रता बनाएको छ । यहाँ एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरलाई पछि पारेका छन् । उनीहरू बिच निकै प्रतिस्पर्धा भइरहेको छ । अघिल्लो पटक यहाँ माओवादी केन्द्रबाट भट्ट निर्वाचित भएका थिए ।

कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । अघिल्लो पटक यहाँबाट मगर निर्वाचित भएकी थिइन् ।

उता बैतडीमा पनि एमालेका दामोदर भण्डारी अगाडी छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नरेन्द्र कुवरले पच्छाइरहेका छन् । अघिल्लो पटक पनि यहाँबाट भण्डारी निर्वाचित भएका थिए ।

नेकपा एकीकृत समाजवादीले अहिले डोटी र अछाम १ मा अग्रता बनाइरहेको छ । डोटीमा प्रेम आले र अछाम १ मा शेरबहादुर कुँवर अगाडी छन् । डोटीमा एमालेकी गौरी ओली र अछाम १ मा एमालेका झपट बोहरा उनीहरूलाई पच्छाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *