चितवनमा पत्रकार-रवि संवाद : पहिले मत गनिसक्न दिनुस् न ! – Nepal Press

चितवनमा पत्रकार-रवि संवाद : पहिले मत गनिसक्न दिनुस् न !

'हामी राम्रो साइजमा आउँछौं'

काठमाडौं । केही अघिसम्म सञ्चारकर्मीका रुपमा अरुलाई प्रश्न गर्ने भूमिकामा थिए रवि लामिछाने । अब उनी नेता बनेका छन् र आफैं पत्रकारहरुका विभिन्न प्रश्न सामना गरिरहेका छन् ।

हिजो सम्पन्न आमनिर्वाचनको प्रारम्भिक मतगणनामा लामिछानेद्वारा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले निकै सकारात्मक संकेत देखाएको छ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा घन्टी चुनाव चिन्ह बोकेका उम्मेदवारले ठूला भनिएका दलहरुलाई हराबरा खेलाइरहेका छन् । लामिछाने लडेको चितवन २ मा मतगणनाअगावै उनको जीत सुनिश्चित मानिएको छ ।

पार्टीको उत्साहजनक मतपरिणाम आउँदै गर्दा सोमबार चितवनमा लामिछाने स्थानीय सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए । उनको अनुहारबाट खुशी लुकिरहेको थिएन । पत्रकारले नागरिकताको विषयसमेत उप्काएर उनलाई तनाव दिन खोजे । तर, रविले यसलाई मामुली विषयका रुपमा लिए ।

यस्तो थियो, पत्रकार र रवि लामिछानेबीचको संवाद

पत्रकार : अब चुनाव जितेपछि सरकार बनाउनलाई अर्को पार्टीमा टाँसिनुहुन्छ कि के गर्नुहुन्छ ?

रवि : (हास्दै) पहिले मत गन्न दिनुस् न । यो प्रश्न धेरै चाँडो भयो ।

पत्रकार : होइन होइन, तपाईंको जीत त सुनिश्चित भइसक्यो नि ?

रवि : हामीले त्यस्तो केही छलफल र निर्णय गरेका छैनौं । निर्वाचन जितेपछि के गर्ने भन्ने कुरा गर्नेछौं । अहिले नै बोल्न मलाई चैं उचित लाग्दैन । अहिले मतगणनामा फोकस छौं । यद्यपि, आन्तरिक तयारी आफ्नो ठाउँमा छ ।

पत्रकार : तपाईंले आयोगलाई स्पष्टीकरण दिने अन्तिम दिन आज हो नि, के गर्नुहुन्छ ?

रवि : आज होइन, भोलि हो ।

पत्रकार : कहिले दिनुहुन्छ त स्पष्टीकरण ?

रवि : अब भोलि नै हुन्छ होला । हिजोसम्म बिजी थिएँ । आज तयारी गरेर भोलि बुझाउँछु ।

पत्रकार : तपाईंको नागरिकताको विषयले मत परिणामलाई प्रभावित पार्ने हो कि भन्ने चर्चा पनि छ, त्यसमा के सोच्नुभएको छ ?

रवि : मैले मत नै हालिसकेँ । अवश्य चासोको विषय हो । तर के हो त भन्दा उजुरी हो । गृह मन्त्रालयलाई थाहा छ । सबै राज्य संयन्त्रलाई थाहा छ । उजुरीको क्रममा रहेको हो । प्रक्रियाका कुरा न हुन् ।

पत्रकार : आजको बैठकमा पनि यो विषयमा कुरा उठ्यो ?

रवि : त्यस विषयको बैठक होइन यो । आयोगलाई मैले स्पष्टीकरण दिने हो । आयोगले त्यसमा निर्णय गर्ने हो । सही लागे सही हुन्छ । गलत लागे अदालत छ । त्यसको प्रक्रिया अर्कै हो । सामान्य उजुरी पर्नु र स्पष्टीकरण दिने कुरा हो । मैले भोटै हालेर आइसकें । मैले के आधारमा भोट हालें त ? पार्टी नै मेरो त्यसैमा दर्ता भएको छ । मेरो सबै प्रोसेस कहाँ लैजाने त ? एउटा मान्छेलाई राज्यले अनागरिक कसरी बनाउन सक्छ ?

उजुरी आइसकेपछि जिम्मेवार व्यक्ति वा दलको उम्मेदवार भएको हिसाबले जवाफ दिनुपर्छ । त्यसमा कुनै आपत्ति जनाउनुपर्ने वा आत्तिनुपर्ने कुरा छैन । प्रोसिडरमा इरर भएका होलान् । बेसिक चिज भनेको गृह मन्त्रालयलाई राम्रोसँग थाहा छ । उसले आफ्ना कार्यालयलाई भन्ने कुरा हो । मेरो विचारमा त्यो प्रोसेस छँदैछ । भोलि हामी दिइहाल्छौं ।

पत्रकार : चुनावी परिणाम अपेक्षा गरेझैं भयो कि त्योभन्दा बढी पाउनुभो ?

रवि : अब मत गणनामा थाहा हुन्छ । ठाउँ–ठाउँबाट आएका रिपोर्टहरु एकदमै राम्रो छ । मैले त्यति धेरै हेर्न पाएको छैन । एकदमै अपरिपक्व अवस्था छ केही बोल्नका लागि ।

पत्रकार : कति नम्बरको पार्टी बन्ने सोच्नुभएको छ ?

रवि : यो पनि एकदम छिटो सोध्नुभयो । म एकदमै फाइफुईं लगाएर यो त्यो भन्न रुचाउँदिनँ । एकदमै सरल बनेर देखावटी गर्न पनि मन लाग्दैन । हामी राम्रो साइजमा आउँछौं । धेरै महत्वपूर्ण अवस्थामा हामी रहन्छौं ।

पत्रकार : फर्स्ट, सेकेन्ड, थर्ड के बन्नुहुन्छ ?

रवि : त्यो पनि म अहिले भन्न सक्दिनँ । तर, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अघि बढ्न गाह्रो हुन्छ होला । हामी त्यो साइजमा रहन्छौं । यति भनौं अहिले ।

पत्रकार : भोलि पावरफुलै मन्त्रालयको डिमान्ड गर्नुहुन्छ ?

रवि : त्यो चरणमा पुगिएको छैन । अहिले जति समय लगाए पनि मबाट त्यो खुलाउन सक्नुहुन्न । सबैको समय बचाउन यतिमात्रै भनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *