पहिलो पटक कैदीबन्दीले गरे मतदान – Nepal Press

पहिलो पटक कैदीबन्दीले गरे मतदान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गरेका छन् ।

मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गरेका हुन् । उपत्यका भित्र काठमाडौंका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाको मतदाता नामावली रहेका थिए । जस अनुसार ललितपुरस्थीत कारागारबाट ५१ कैदीबन्दीले मतदान गरेको कारागार कार्यालय ललितपुरका प्रशासक एवं मतदान केन्द्रको मतदान अधिकृत बद्रीनाथ गैरेले जानकारी दिए ।

त्यस्तै, उनले कारागारमा खटिएका सुरक्षाकर्मीले पनि मताधिकार प्रयोग गरेको जानकारी दिए । निर्वाचन आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको थियो । त्यसका लागि देशभर १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *