काठमाडौं उपत्यकामा मतदानको तयारी पूरा, चुनाव बिथोल्न खोजिए १० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्ने – Nepal Press

काठमाडौं उपत्यकामा मतदानको तयारी पूरा, चुनाव बिथोल्न खोजिए १० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्ने

काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसँग निर्वाचन र सुरक्षा व्यवस्थाबारे छोटो कुराकानी

काठमाडौं । मतदान सुरू हुन अब करिब १७ घण्टा बाँकी छ । अहिले मौन अवधि चलिरहेको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्लामा पर्छ काठमाडौं । जहाँ प्रतिनिधिसभाका १० र प्रदेशसभाका २० क्षेत्र छन् । ललितपुरमा ३ र भक्तपुरमा २ संघीय निर्वाचन क्षेत्र छन् ।

संघीय राजधानीका यी तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे हामीले तीनजनै प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका छौं ।

घनश्याम उपाध्याय (प्रजिअ, काठमाडौं)

– काठमाडौंमा सुरक्षाका दृष्टिकोणबाट निर्वाचनको तयारी सबै पूरा भयो ?

सुरक्षाको र व्यवस्थापन दुवै दृष्टिकोणले सबै तयारी पूरा भएको छ । मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याउने र त्यसको सुरक्षा व्यवस्था मिलाउने काम पनि सकिएको छ । काठमाडौंका १० वटा प्रतिनिधिसभा र २० वटा प्रदेश सभा गरेर ३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । अस्थायी मतदान केन्द्रसहित यो जिल्लामा ३२० वटा मतदानस्थल र ७७१ वटा मतदान केन्द्र रहेका छन् । ६ लाख ५५ हजार मतदाता रहेका छन् । यसको व्यवस्थापनका लागि ६ हजार १३६ कर्मचारी परिचालन गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा म्यादी प्रहरी गरेर ८ हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सबै मतदानस्थलमा निरिक्षण गरेर स्थानीय समस्या समाधान गरिसकेका छौं । सुरक्षाकर्मी आफ्नो क्षेत्रमा खटिसकेका छन् । मतगणना स्थलको तयारी पूरा भएको छ । वडा-वडामा मतदाता शिक्षा पुगिसकेको छ । हरेक निर्वाचन क्षेत्रमा नमूना मतदान सकिएको छ । सुरक्षाकर्मीको लागि सवारीसाधनको व्यवस्थापन गरिसकिएको छ । ३ जिल्लाको संयुक्त सुरक्षा समितिको बैठक बसेको छ । ४ जना निर्वाचन आचारंहिता अनुगमन अधिकृत खटाइएको छ । १० वटै निर्वाचन क्षेत्रमा सुरक्षा घुम्ती टोली परिचालन भएको छ । निर्वाचन अनुगमन समिति रहेको छ । ७२ घण्टाअघिदेखि मदिरा ओसारपसार तथा बिक्रिवितरणसँगै सेवन निषेध गरिएको छ । ४ गते बिहान ४ वजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यकबाहेक र पास बाहेकका सवारी साधन निषेध गरिएको छ । अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति खटाइएको छ । कुनै पनि विपद् आइपरेको अवस्थामा त्यसको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति खटाइएको छ । समग्रमा सुरक्षाको दृष्टिकोणले सबै तयारी पूरा भएको छ ।

– मौन अवधि भइरहेका आचारसंहिता उल्लंघन नियन्त्रण कसरी भइरहेका छन् ?

काठमाडौंमा ४ जना आचारसंहिता अनुमगन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा अनुगमन समिति रहेको छ । १० वटा निर्वाचन क्षेत्रमा १० वटा घुम्ती टोली पनि परिचालन गरिएको छ । कुनै पनि ठाउँमा कुनै समस्या आउनेवित्तिकै तत्काल कारबाहीमा जाने गरी व्यवस्थापन गरिएको छ ।

– मतदानको दिन सवारीसाधन कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

सवारी पासको बारेमा निर्वाचन आयोगले स्पष्ट रूपमा मापदण्ड बनाइसकेको छ । केही पास निर्वाचन आयोगबाट जारी हुन्छ । निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवार र प्रतिनिधिलाई पास दिइन्छ । त्यसपछिका कतिपय अत्यावश्यक पर्ने पासमात्र जिल्ला प्रशासन कार्यालयमा हुन्छ । त्यो भनेको अत्यन्त न्यून हो । आवश्यकता र औचित्य नखुलेका अनावश्यक पास कुनै पनि हालतमा जारी नहुने गरी व्यवस्थापन गरिएको छ ।

– जिल्लाका सीमा नाका कसरी व्यवस्थापन गरिएको छ ?

सम्बिन्धत जिल्लाका सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै पनि समस्या छैन ।

रुद्रादेवी शर्मा (प्रजिअ, भक्तपुर)

– भक्तपुरमा के-के तयारी पूरा भयो ?

निर्वाचनपूर्वको सबै तयारी सकिएको छ । सुरक्षाकर्मी आफ्नो क्षेत्रमा खटिसकेका छन् । मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदान अधिकृत र कर्मचारी पनि निर्वाचन सामग्री बोकेर गइसकेका छन् । मौन अवधिमा सम्भावित आचारसंहिता उल्लंघनका विषयलाई तीव्र रूपमा अनुगमन गरिरहेका छौं । मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइसकिएको छ । अत्यावश्यक सेवा तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारी मतदानमा खटिएकाले नियमित सेवा स्थगित गरेर व्यवस्थापन मिलाइएको छ । सीमा जोडिएको जिल्लामा बाहिरबाट हुने घुसपैठ रोक्नका लागि सवारीसाधानको चेकजाँचलाई कडाई गरेका छौं ।

– सुरक्षा व्यवस्था कस्तो छ ?

एकदमै बलियो संयन्त्र निर्माण गरिएको छ । निर्वाचन बिथोलिने गतिविधि हुन नदिन कर्मचारी र सुरक्षाकर्मीलाई सतर्कक बनाएका छौं । मतदाता शिक्षा पनि प्रभावकारी ढंगले दिइएको छ । उच्च निगरानीका साथ अनुगमन गरिरहेका छौं । राजाीतिक दल तथा सरोकारवालसँग छलफल गरेर अघि बढेकाले त्यस्तो नहुने अपेक्षा छ । र, पनि हामी एकदमै सजग छौं ।

– आचारसंहिताविपरीतका कार्य कसरी नियन्त्रण गर्नुभएको छ ?

सेना र अनुसन्धानको टोलीले काम गरिरहेको छ । बाहिर सर्वसाधारणलाई असर पर्ने गरी आन्तरिक कुरा सूचनाका आधारमा मात्र जानकारी पाउने हो । निर्वाचन आचारसंहिताविपरीतका कार्य हुन नदिनका लागि र सामाजिक सञ्जालबाट हुने गतिविधिमा पनि उच्च निगरानी गरेका छौ । उपसचिवको नेतृत्वमा ३ सदस्यीय घुम्ती टोली पनि परिचालन गरिएको छ । अनुगमन अधिकृत पनि तोकिसकेकाले विभिन्न संयन्त्रबाट सूचना संकलन गरेर निगरानी बढाएका छौं ।

– मतदानको दिन सवारी व्यवस्थापन कसरी गर्नुभएको छ ?

जिल्लास्तरमा सवारी पास व्यवस्थापनका लागि समितिको बैठक बसिसकेको छ । निर्वाचन आयोगबाट स्वीकृत मापदपण्डभन्दा बाहिर कुनै पनि पास वितरण गर्दैनौं । कर्मचारीलाई पनि ३ गते बेलुका नै मतदान केन्द्रमा पुगिसक्न भनेका छौं । यदि कोही कसैलाई ढिलो भयो भने हामी सहजीकरण गर्छौं । विदेश जानुपर्ने यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याउन राहदानी भिसाका आधारमा सहजीकरण गर्ने भनेका छौं । कोही कसैलाई अप्ठ्यारो पर्न नदिन सहजीकरण ग्छौं । अत्यावश्यक सेवाका लागि पास नचाहिने व्यवस्था छ । त्यसको दुरुपयोग अर्थात मतदाता बोक्नेलगायका कार्य रोक्नका लागि पनि सुरक्षा निकायलाई निर्देशन दिएर निगरानी बढाउन भनिसकेका छौं । मापदण्ड र आचारसंहिताविपरीत चल्ने सवारीसाधनलाई निषेध गरेका छौं ।

जयनारायण आचार्य (प्रजिअ, ललितपुर)

– जिल्लामा सबै तयारी सकिएको हो ?

ललितपुर जिल्लामा प्रतिनिधिसभाका ३ वटा निर्वाचन क्षेत्र छन् । सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका छन् । ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर एक दुर्गम क्षेत्र भएकाले हाम्रा गतिविधि त्यता बढी केन्द्रित छन् । सबैको परिचालन प्रभावकारी ढंगले गरिरहेका छौं ।

– मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधिलाई कसरी निगरानी गरिरहनुभएको छ ?

हामीले सुरुबाट नै आचारसंहिता कार्यान्वयनका लागि पहल गरिसकेका छौं । सुरक्षासँग सम्बन्धित अधिकारी तथा निर्वाचन कार्यालयका अधिकारीसँग सहकार्य गरेर काम गर्दै आएका छौं । कुनै पनि सामान्य सूचना आउनेवित्तिकै सुरक्षाकर्मीको टोली पुगिसक्छ । सहज ठाउँमा ५ मिनेटमा र अलिकित ग्रामीण ठाउँमा १० मिनेटभित्र सुरक्षाकर्मीको टोलीको पुगिसक्ने गरी व्यवस्थापन गरेका छौ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी तयारी अवस्थामा सबै ठाउँमा खटाइएको छ ।

– सवारीसाधन सञ्चालनको व्यवस्थापन के-कस्तो छ ?

३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गरिसकेका छौं । जरुरी काम परेर बाहिर जानेका लागि राहदानी र भिसाका आधारमा एयरपोर्टसम्म लान सहजीकरण गर्छौं । अपांगता भएका व्यक्ति, बिरामी, अशक्तको व्यवस्थापनका लागि मतदान अधिकृतले सहजीकरण गर्नुहुन्छ । अत्यावश्यक सेवाका लागि कुनै रोकतोक हुँदैन ।

– निर्वाचन बहिस्कार लगायतका गतिविधिका कार्य कसरी निगरानी भइरहेको छ ?

संवेदनशीलताको आधारमा हाम्रो जिल्लामा बिहान ४ देखि साँझ ७ बजेसम्म रिङ रोडभित्र, बिहान ४ देखि साँझ ८ बजेसम्म रिङ रोड बाहिर, क्षेत्र नम्बर १ का लागि बिहान ४ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरेका छौं । अत्यावश्यक सेवा रोकिँदैन । अनावश्यक सेवा पूर्णरूपमा निषेध गरेको छौं । हामी संवेदनशील छौं । सुरक्षित बनाउनका लागि निगरानी बढाएका छौं । यसलाई सफल पार्नका लागि कुनै पनि गतिविधि हुन दिँदैनौं ।

– ढुक्कसँग भोट हाल्न सक्ने वातावरण छ नि ?

पक्कै पनि । हरेक मतदाताका लागि ललिपतुर जिल्ला पूर्णरूपमा शान्ति र सुरक्षित छ । आम मतदाताले स्वतन्त्र र निष्पक्ष ढंगले सुरक्षित हिसाबले मतदानस्थलदेखि घरसम्म र घरदेखि मतदानस्थलसम्म पुग्ने वातावरण छ । यसमा ढुक्क भएर मतदाताले मतदान गरे हुन्छ । सुरक्षा व्यववस्थापनमा नडराए हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *