कर्णालीमा निर्वाचनको तयारी पूरा, ९ सय बढी मतदान केन्द्र अति संवेदनशील – Nepal Press

कर्णालीमा निर्वाचनको तयारी पूरा, ९ सय बढी मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । कर्णालीमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । १० जिल्लाका १ एक हजार ४ सय ७६ मतदान केन्द्रमध्ये डोल्पाका केही ठाउँ बाहेक अन्य मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगेका छन् ।

१२ वटा मतदान केन्द्र रहेको हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा निर्वाचन सामाग्री पुगिसकेका छन् भने, भौगोलिक कठिनाईका कारण कर्मचारीहरु आज मात्रै पुग्ने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा १२ प्रतिनिधिसभा सदस्यका लागि ७४ जना र २४ प्रदेशसभाका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा रहँदा कुल मतदाता संख्या ९ लाख ८४ हजार ४ सय ३३ रहेका छन् ।

निर्वाचनलाई लक्षित गरी प्रेदशभर सुरक्षा अवस्था कडा पारिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १४ हजार ८ सय ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार सात सय २९ जना नेपाल प्रहरी र ९ हजार ७८ म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएका छन् ।

यस्तै आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरी पवत्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठको भनाई छ ।

श्रेष्ठका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यस्तै, प्रदेशभर सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदानकेन्द्र अति संवेदनशील मानिएका छन् भने ४ सय १३ मतदानकेन्द्र संवेदनशील र १ सय ४३ मतदान केन्द्र सामान्य रहेका आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

जस अनुसार कालिकोटमा सबै भन्दा धेरै ७४ मतदान केन्द्र अतिसम्बेदनशिल रहदा जुम्लामा ५३ मतदान केन्द्र सुरक्षा र भौगोलिक हिसावल अति संवेदनशील रहेका छन् ।

मन्त्रालयका अनुसार निर्वाचनका बेला कुनै घटना घटेमा १५ देखि ३० मिनेट भित्र मतदान केन्द्रमा पुग्ने गरि नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ । प्रदेशभर सबैभन्दा धेरै मतदाता सुर्खेतमा रहेका छन् । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १४ मतदाता छन् भने मतदान केन्द्र २ सय ९३ रहेका छन् ।

यस्तै हुम्ला जिल्लामा ३२ हजार ८ सय ५७, मतदान केन्द्र ५९, डोल्पामा २२ हजार ७ सय ७२ मतदाता र ६६ मतदान केन्द्र रहेका छन् । दैलेखमा १ लाख ५८ हजार ९ सय ५८ मतदाता र २ सय ८० मतदान केन्द्र, रुकुम पश्चिममा १ लाख ४ हजार २ सय ८० र मतदान केन्द्र १ सय ३९, कालिकोटमा ८० हजार ७ सय ३३, मतदान केन्द्र १ सय २३, जाजरकोटमा १ लाख ३ हजार ३ सय ६३, मतदान केन्द्र १ सय ४२, जुम्लामा ६८ हजार ६ सय ३८, मतदान केन्द्र १ सय ६, मुगुमा ३५ हजार ४ सय ८५, मतदान केन्द्र ६६ र सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहँदा मतदान केन्द्रको संख्या २ सय २ रहेको निर्वाचन अयोगले जनाएको छ ।

यस्तै, कर्णाली भित्रने २ मुख्य नाका सुर्खेतको बइई र कुइनेलाई विशेष सुरक्षा निगरानीमा राखिएको जनाइएको छ, भने उत्तरी चीनसँग जोडिएका नाकासमेत बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *