१०० वटा मतदान स्थल अपांगतामैत्री, दृष्टिविहीनलाई भने उपेक्षा (भिडिओ) – Nepal Press

१०० वटा मतदान स्थल अपांगतामैत्री, दृष्टिविहीनलाई भने उपेक्षा (भिडिओ)

काठमाडौं । पोखरा स्थायी घर हाल काठमाडौंमा बस्दै आएकी दृष्टिविहीन स्मारिका पोख्रेल स्नातक तहमा अध्ययनरत छिन् । १९ वर्षकी स्मारिकाले नेत्रहीन युवा संघ नेपालको सहयोगमा यसै वर्ष मतदाता नामावलीमा नाम दर्ता गराएकी छन् । तर, स्मारिकामा मतदान गर्ने उत्साह एवं चाहना छैन ।

किन ? उनी भन्छिन्, ‘अरु सहयोगीले मतदान गर्ने भएपछि म किन जाने ? मतदान एकदमै गोप्य र व्यक्तिगत कुरा हो । तर, मेरो त गोप्यता नै भंग हुने भयो ।’

निर्वाचन आयोगले भनेअनुसार मतदान अधिकृत वा एकाघरको परिवारले पनि आफूले चाहेको चिह्नमा स्वस्तिक छाप हाल्छ कि हाल्दैन भन्ने विश्वास परीक्षण गर्ने विकल्प नहुँदा आफू मतदान गर्न उत्साहित नभएको उनले स्पष्ट पारिन् ।

उनले थपिन्, ‘हामी दृष्टिविहीन व्यक्ति हातले छुन सक्छौं, सुन्न सक्छौं । निर्वाचन चिह्न हेरेर मतदान गर्ने प्रक्रियामात्रै त हुन्न होला । हाम्रो क्षमतालाई ध्यान दिएर मतदान गर्ने प्रक्रिया बनाउनुपर्‍यो ।’

सिन्धुपाल्चोकी २२ वर्षीया दृष्टिविहीन विष्णुमाया दनुवारले नेपाली नागरिकता बनाएको ६ वर्ष पुग्यो । तर, अहिलेसम्म मतदान गरेकी छैनन् । मतदाता नामावलीमा नाम दर्ता नगरेकै कारण उनले मतदान गर्न पाएकी छैनन् ।

अहिलेसम्म किन मतदाता नामावलीमा नाम दर्ता नगरेको त ? उनले जवाफ दिइन्, ‘कसरी नाम दर्ता गर्ने ? कहाँ दर्ता गराउने ? मलाई केही पनि जानकारी छैन । कसैले नाम दर्ता गराउनुपर्छ पनि भनेको थिएन त्यसैले ।’

तर, विष्णुमायाले यस पटक नेत्रहीन युवा संघको सहयोगमा मतदाता नामावली नाम दर्ता गराएकी छन् । अध्ययन र काम गर्न काठमाडौंमा बस्दै आएकी उनी मंसिर ४ मा हुने निर्वाचनमा पहिलोपटक मतदान गर्दै छिन् ।

तर, आफैंले सहज मतदान गर्न सक्छु कि सक्दैन भन्ने चिन्तामा छिन् उनी । उनले भनिन्, ‘म आफैं मतदान गर्न सक्दिनँ । तर, दृष्टिविहीनमैत्री मतपत्र छ भने आफैं गर्नसक्छु ।’

उनले पनि मतदान अधिकृत र एकाघरका व्यक्तिले हाल्ने आफ्नो मतदानमा अविश्वास व्यक्त गरिन् । ‘अन्तै हालेर मैले भनेको चिह्नमा स्वस्तिक छाप लगाइदिएँ भन्न पनि सक्छ नि !’, विष्णुमायाले भनिन्, ‘कसरी विश्वास गर्ने ?’

स्याङजाको चापाकोट स्थायी घर भई हाल काठमाडौंमा भाषा अनुवादकको काम गर्दै आएका दृष्टिविहीन रामचन्द्र गैरेले धेरै पटक मतदान गरिसकेका छन् । तर, आफ्नै हातले अहिलेसम्म मतपत्रमा स्वस्तिक छाप लगाउन नपाएको उनले सुनाए ।

‘त्यसकारण मेरो मत सही व्यक्तिलाई गयो कि गएन, म अञ्जान छु’, रामचन्द्रले भने, ‘मतदान गोप्य भनिएको छ । तर, मैले विश्वासिलो व्यक्ति लिन नपाउँदा मेरो गोप्य मतदानको अधिकार हनन भइरहेको छ ।’

आयोगले दुइटामात्रै विकल्प राखेका ढुक्क भएर मतदान गर्ने अवस्था नभएको गुनासो गरे । उनले यस्तै समस्याका कारण धेरै दृष्टिविहीन मतदान गर्न नजाने बाध्यात्मक अवस्थामा पुगेको बताए ।

रामचन्द्रले सरकारसँग आफ्नो मत गोप्य रुपमा आफैंले दान गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरे । उनले भने, ‘अपांगता भएका व्यक्ति आफैंले मतदान गर्ने व्यवस्था गरिनुपर्छ । नभए सबै विकल्प खुला गर्दै हामीले इच्छाएको व्यक्तिलाई लैजान पाउने व्यवस्था गरिनुपर्छ ।’

नेत्रहीन युवा संघले लामो समयदेखि दृष्टिविहीन तथा अपांगता भएका व्यक्ति आफैंले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आएको छ । अपांगता भएकालाई मतदान गर्ने निर्वाचन आयोगको व्यवस्था विभेदकारी भएको संघका अध्यक्ष कलाधर भण्डारीको भनाइ छ । आयोगले अपांगता भएको व्यक्तिले इच्छाएको व्यक्तिमार्फत मतदान गर्न पाउने व्यवस्था कार्यान्वयन नगरेकाे उनले बताए ।

‘हामीले कहाँ मतदान गर्‍यौं भनेर ढुक्क हुने अवस्था छैन । त्यसैले मतदान गर्ने व्यक्तिले इच्छाएको व्यक्तिमार्फत मतदान गर्न पाउने व्यवस्था गरिनुपर्छ’, अध्यक्ष कलाधरले भने, ‘यदि त्यस्तो गर्न नसकिने हो भने हामी आफैंले मतदान गर्ने व्यवस्था गरिनुपर्छ ।’

आयोगले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था गर्न सकेमा सबै समस्या समाधान हुने उनको भनाइ छ । ‘आवाजसहितको इलेक्ट्रोनिक भोटिङ मेसिन भयो भने हामीले सहजै चाहेको व्यक्ति र दललाई मतदान गर्न सक्छौं’, अध्यक्ष कलाधरले भने, ‘यसका लागि निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ सिस्टम सुरु गर्नुपर्‍यो । त्यो हुन सकेन भने हामीलाई ब्रेल लिपिको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिनुपर्‍यो ।’

आयोगका अनुसार आगामी निर्वाचनमा देशभरका १० हजार ८९२ मतदान स्ठलमध्ये १०० वटा मतदान स्थल लाई अपांगतामैत्री बनाइएको छ । जसमा र्‍याम्प, ह्विलचियर, सांकेतिक भाषा, अनुवादक सबैको व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल प्रेससँग बताए ।

उनका अनुसार सबै किसिमका अपांगता भएका व्यक्तिलाई यस्ता मतदान स्ठल उपयुक्त हुनेछन् । ती मतदान स्ठलमा सांकेतिक भाषा सूचीको व्यवस्था गरिएको छ । ती मतदान केन्द्रमा खटिने कर्मचारीलाई पनि सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।

यसैगरी मतदान गर्ने तरिकासम्बन्धी ब्रेललिपि सामग्री, रंगीचंगी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिएको छ ।

इलेक्ट्रोनिक भोटिङ सिस्टम प्रयोग गर्न आयोग तयार भए पनि राजनीतिक दल तयार नहुँदा समस्या आएको बताइएको छ ।

के छ कानुनी व्यवस्था ?

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०७९ को दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने व्यवस्था गरिएको छ । जसको उपदफा १ मा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैं मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्न अनुमति दिनुपर्ने व्यवस्था छ ।

उपदफा २ मा शारीरिक अशक्तता भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा मतदान अधिकृतले प्रचलित कानूनबमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकिन गरी अनुमति दिनुपर्ने व्यवस्था छ ।

उपदफा ३ मा दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भनेबमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने उल्लेख छ ।

उपदफा ४ मा कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैं मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई उक्त कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्नेछ ।

यस्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ को दफा ६ मा आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि विशेष व्यवस्था गरिएको छ । जसको उपदफा १ मा अपांगता भई आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि वासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्र (क र ख वर्ग) को आधारमा सवारीसाधनको प्रयोग गर्न सकिने व्यवस्था छ ।

उपदफा २ मा अशक्तताको कारणले आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले अनुमतिपत्र जारी गर्नसक्ने व्यवस्था छ ।

कति छन् अपांगता भएका व्यक्ति ?

२०६८ सालको जनगणनाअनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात ५ लाख १३ हजार विभिन्न प्रकारका अपांगता भएका व्यक्ति रहेका छन् । जसमा सबैभन्दा धेरै ३६ प्रतिशत शारीरिक अपांगता भएका छन् । दोस्रोमा सबभन्दा धेरै १८ प्रतिशत अर्थात ९४ हजार दृष्टिविहीन अपांगता भएका व्यक्ति रहेका छन् ।

यस्तै १५ प्रतिशत बहिरा अपांगता भएका व्यक्ति रहेका छन् । बाँकी ३० प्रतिशत विभिन्न खालका अन्य अपांगता भएका व्यक्ति छन् । २०७८ सालको जनगणना भइसकेकाले यो १० वर्षको अवधिमा अपांगता भएका व्यक्तिको संख्या बढेको हुनसक्ने राष्ट्रिय अपांग महासंघको दाबी छ ।

२०७८ सालमा भएको जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक भइसकेको छ । तर, अपांगता भएका व्यक्तिको जनसंख्याको प्रारम्भिक विवरण भने सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *