प्रदेश १ मा कुन दलले कति सीट जित्छन् ? यस्तो छ सुरक्षा संयन्त्रको प्रक्षेपण – Nepal Press

प्रदेश १ मा कुन दलले कति सीट जित्छन् ? यस्तो छ सुरक्षा संयन्त्रको प्रक्षेपण

विराटनगर । सुरक्षा संयन्त्रले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेश १ को परिणाम प्रक्षेपण गरेको छ । नेपाल प्रेसलाई प्राप्त भएको सुरक्षा निकायको चुनावी आंकलनको रिर्पोटमा प्रदेशमा रहेका प्रतिनिधि सभाका २८ सिटमध्ये कांग्रेसले १० स्थानमा जित्ने उल्लेख छ ।

एमालेले ८ स्थानमा जित्ने र माओवादीले २ स्थानमा जित्ने अनुमान सुरक्षा प्रशासनको रहेको छ । यो सुरक्षा निकायको पहिलो चरणको चुनावी आंकलन हो ।

त्यस्तै, प्रदेशमा रहेका प्रतिनिधि सभाका एउटा प्रतिनीधि निर्वाचन क्षेत्र जनता समाजवादी र एकीकृत समाजवादीले जित्ने सो रिर्पोटमा उल्लेख छ ।

प्रदेश १ का ६ निर्वाचन क्षेत्रमा भने उच्च प्रतिस्पर्धा रहेको सो रिर्पोटमा उल्लेख छ । उच्च प्रतिस्पर्धा रहेका क्षेत्रमध्ये झापा १, झापा ३, इलाम २, पाँचथर, मोरंग २ र खोटाङ रहेका छन् ।

अन्तिम आंकलनमा भने फेरबदल हुन सक्ने अन्तिम आंकलनको रिर्पोट तयार भइनसकेको र रिर्पोट तयार गर्ने काम भइरहेको सुरक्षा श्रोतले जानकारी दिएको छ । प्रदेश १ का २८ क्षेत्रमध्ये नेपाली कांग्रेसबाट १९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन् ।

माओवादीले ७ र एकीकृत समाजवादीले २ क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार उठाएका छन् । स्थानीय तहको निर्वाचनमा वडामा आएको मत परिणामअनुसार सुनसरी मोरङका आधा भन्दा बढी क्षेत्रमा एमालेको मत बढी छ । पहाडी जिल्लामा भने अधिकांश निर्वाचनमा सत्ता गठबन्धनको मत बढी हुन आउँछ ।

तर मत ट्रान्सफर हुने भएकाले एमालेले यस पटक पनि प्रदेश १ मा प्रतिनधि सभमा बहुमत ल्याउने एमाले अध्यक्ष तुलसी न्यौपाने बताँउछन् । निर्वाचनको परिचालन, एमालेको संगठन र एमालेको एजेण्डा प्रतिको विश्वासका आधारमा एमाले प्रदेश १ मा पहिलो पार्टी हुने दाबी गरे ।

उनले भने, ‘हामीले उठाएका सबै उम्मेदवारले जित्छन् भन्ने हो । सवै स्थानमा जित ननिकाले पनि हामी प्रदेशमा पहिलो पार्टी भएर प्रतिनीधि सभामा जानेछौं ।’

एमालेले २८ मध्ये २५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङदेनलाई सघाएको एमालेले, मोरङ ५ मा जनता समाजवादीका राजकुमार यादबलाई सघाएको छ । त्यस्तै, सुनसरी १ मा जनता समाजवादीकै अशोक राईलाई एमालेले सहयोग गरेको छ ।

सुरक्षा निकायको पहिलो चरणको चुनावी परिणामलाई हेर्ने हो भने उच्च प्रतिस्पर्धा रहेका ६ स्थानमा पनि एमाले अगाडि छ । दुई निर्वाचन क्षेत्रमा कांग्रेस र झापा ३ मा राप्रपाका उम्मेदवार अगाडि देखिन्छन् ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले आफूहरुले उठाएका सबै निर्वाचन क्षेत्रका उम्मेदवारले जित निकाल्ने दाबी गर्छन् ।

उनले यस पटकको निर्वाचन संबिधान रक्षा गर्ने पक्षधर र संविधान मिच्नेहरुबीचको भएकाले संविधान रक्षा गर्नेहरुले जित्ने दाबी गरे ।

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले भने प्रदेश १ का प्रतिनीधि सभामा अधिकांश क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने बताए । यस पटक भोट ट्रान्सफर नहुने उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *