तनहुँ २ का उम्मेदवार किरण गुरुङ भन्छन्ः जहाँका जनताले जन्माए, म त्यहीको सेवामा हरबखत छु – Nepal Press
नेपाल टक

तनहुँ २ का उम्मेदवार किरण गुरुङ भन्छन्ः जहाँका जनताले जन्माए, म त्यहीको सेवामा हरबखत छु

– संघीय वनमन्त्री हुनुहुन्थ्यो, प्रदेश झरेर मुख्यमन्त्री बन्छु भन्ने थियो । तर, अर्थमन्त्री बन्नुभो । के गरें भन्ने लागेर प्रतिनिधि सभामा उठ्नुभएको हो ?

मुख्यमन्त्री बन्ने भनेर नै त्यस वेला मैले उम्मेदवारी दिएको थिएँ । जनताले लोकप्रिय मत दिएर जिताउनुभयो । पछि पार्टीको आन्तरिक समस्या समाधान गर्ने हिसाबले मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । त्यो संस्थापक सरकार भएकाले हामीले जिरोबाट नै सरकार स्थापना र सञ्चालन गर्नुपर्ने भयो । कार्यान्वयन गर्नुपर्ने भयो । नीतिगत र कानूनी कुराहरु सबै जिरोबाट नै हामीले आरम्भ गर्‍यौं । त्यसपछि हामीले आवधिक योजनाहरु पनि निर्माण गर्‍यौं । त्यसैको आधारमा हामीले विकास निर्माणका बजेट पेश गरेर कार्य प्रारम्भ गर्‍यौं ।

संघीयताको जग हाल्ने ऐतिहासिक काम गरेका छौं । हाम्रो नेतृत्वको सरकार सातै प्रदेशमा उत्कृष्ट थियो । यो प्रदेशको नामकरणदेखि अस्तित्व बचाउन र देखाउन थुप्रै ठाउँमा म आफैं जुधेको छु । यो ऐतिहासिक कामका बाबजुद पनि मैले पूरा गर्नुपर्ने जनताका सपनाहरु छन्, त्यही पूरा गर्न चुनाव उठेको हुँ । यो प्रदेशकै जीवन, सभ्यता र संस्कृतिसँग गाँसिएको कालीगण्डकीलाई डाइभर्सन गर्न हुँदैन भनेर आफ्नै सरकारसँग जुधेर रोकेको छु । त्यो कालीगण्डकी डाइभर्सन हुँदा हामीबाट धेरै कुरा गुम्न सक्थे ।

प्रदेशको नामकरणमा दलहरुबीच नै द्वन्द्व थियो । मैले नै गण्डकी प्रदेश राख्न सार्वजनिक रुपमै विचार राखें, नेतृत्व गरें । गण्डकी नाम नै राख्ने गरी अन्त्यमा सबै सहमति जुट्यो । यो ऐतिहासिक थियो । पहिले अर्थमन्त्री भएर अनुत्पादक क्षेत्रमा हुने खर्चलाई रोकेको छु । स्वार्थ समूहबाट प्रहार हुँदा प्रदेशको आर्थिक अनुशासनलाई कायम गरेको छु । कृषि, पर्यटन, शिक्षा, पूर्वाधार हरेक क्षेत्रलाई प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको छु । हो, यिनै कुराले म संघमा गएर संघीयतालाई अझै बलियो बनाउनुपर्छ भनेर लागेको हुँ ।

जनताको सेवा गर्ने मान्छेलाई गठबन्धनको डर छैन । जनताले कसले काम गरेको छ, कसले यो देश र माटोका लागि पसिना सिञ्चिएको छ भन्ने चिनेका छन् । गठबन्धन पनि नाममात्रैको गठबन्धन त हो !

– अघिल्लोपालि मुख्यमन्त्रीको सपना पूरा हुन नसकेपछि यसपटक पूरा गर्न प्रदेशमै उम्मेदवार दिन सकिन्थ्यो होला । किन संघतिर उक्लनुभएको ?

मुख्यमन्त्री बन्ने सपनाभन्दा पनि जनताको सेवा गर्ने कुरा ठूलो हो । आर्थिक मामिला तथा योजनामन्त्री भइसकेपछि मुख्यमन्त्री नै बन्नुपर्छ भन्ने मलाई लागेन । अहिले प्रदेशबाट प्रतिनिधिसभामा उठ्नुको कारण भनेको संघीयतालाई कसरी बलियो बनाउने भन्ने नै हो ।

हामीले प्रदेशको नेतृत्व गर्दा महसुस गर्‍यौं, संघीयतालाई बलियो बनाउन, धेरैभन्दा धेरै जनताको घरदैलोमा विकास पुर्‍याउन संघबाटै प्रयत्न गर्नुपर्छ । प्रतिनिधिसभामा जानुपर्छ, केन्द्रमा जानुपर्छ । प्रदेश र स्थानीय तहका समस्यालाई कसरी समाधान गर्ने, कस्तो नीति निर्माण गर्ने ? कस्तो योजना निर्माण गर्ने ? कसरी यसलाई समायोजन गरेर संघीय व्यवस्थालाई बलियो बनाउने भनेर नै म प्रतिनिधिसभाको उम्मेदवार बनेको हुँ । संघीयतालाई बुझाउन पनि प्रतिनिधिसभामा जानुपर्ने देखियो ।

– अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीको गठबन्धन थियो । चुनाव जितेर अर्थमन्त्रीसमेत बन्नुभयो । अहिले तपाईंका विरुद्ध पाँच दलीय गठबन्धन छ, चुनौती होला नि ?

मलाई चुनौती जनताका दुःखहरु कसरी दूर गर्ने भन्ने हो । मेरो लागि चुनौती भ्रस्टाचार कसरी रोक्ने र सुशासन कायम गर्ने भन्ने हो । मेरो चुनौती जनतालाई कसरी सुखी र खुशी राख्ने भन्ने हो । जनताको सेवा गर्ने मान्छेलाई गठबन्धनको डर छैन । जनताले कसले काम गरेको छ, कसले यो देश र माटोका लागि पसिना सिञ्चिएको छ भन्ने चिनेका छन् । गठबन्धन पनि नाममात्रैको गठबन्धन त हो ! गठबन्धनमा रहेका राजनीतिक दलहरु जुन छन्, उनीहरुको न विचार मिल्छ न त सोच नै ।

त्यसैले पनि एउटा पार्टी भएर एक ढिक्का भएर अगाडि बढ्ने जुन शक्ति प्राप्त हुन्छ, त्यो शक्ति गठबन्धनमा छैन । देख्दा गठबन्धन भए पनि उनीहरु बहुरुपी, बहुरङ, बहुधारमा विभाजित छन् । मप्रति जनताको विश्वास र सद्भाव छ । म विनास्वार्थ राजनीतिमा लागेर कुनै दागसमेत नलागेको पात्र हुँ भन्ने कुरा जनताले नजिकबाट चिनेका छन् । मतदाताको सद्भाव, हौसला नै मेरो जीत हो ।

जनता सचेत छन् । साँच्चै असल मान्छे को हो ? असल पार्टी कुन हो ? असल पार्टीका पनि उम्मेदवार कहिलेकाहीं गलत हुन सक्छन् । दुवैलाई उनीहरुले हेरिराखेका हुन्छन् । कांग्रेसले २८ वर्षसम्म गर्न नसकेका काम हामीले ३ वर्षमा गर्‍यौं । त्यसैले चुनौती छैन ।

मलाई लाग्छ, जनताले कुन नाटक हो, कुन नौटंकी हो भन्ने थाहा पाइहाल्छन् । त्यसले गर्दा उनी मेरो प्रतिस्पर्धी जस्तो पनि लाग्दैन ।

– योभन्दा अगाडि जिताएर पठाएकै हो, संघीय वनमन्त्री बनेकै हुन् । तर, जितेर गइसकेपछि मतदातालाई हेर्नुभएन भन्छन् नि !

गाउँ फर्किएन भन्ने जनगुनासो छैन । केही प्रतिद्वन्द्वी राजनीतिक पार्टीहरुले लगाएको आरोप हो । यो विपक्षी पार्टीको फण्डा हो । म प्रदेशको अर्थमन्त्री भएर यो क्षेत्रमा अर्बौंको बजेट हालेको छु, अनि म गाउँ नफर्किएर को फर्कियो होला त ? विकासका योजना लिएर गाउँ-गाउँ पुगेको छु । ती जनतालाई थाहा छ, म जमिनमै छु भन्ने ।

२०४८ सालमा चुनाव जित्दा जम्मा ३ वर्ष कार्यकाल भयो । मध्यावधि चुनाव भयो । त्यतिवेला पनि पटकपटक आएको हुँ । कोही कसैसँग भेट नपाएको पनि हुनसक्छ, उहाँहरुले चुनावको बाध्यता बुझिदिनुभएको छ ।

– देशमा स्वतन्त्रका कुराहरु पनि आइराखेका छन्, जनताले नयाँ अनुहारको खोजिरहेको आवाज पनि आइरहन्छ, २०४८ सालदेखि तपाईंलाई भोट किन हाल्ने भनेर विपक्षीले एजेण्डा बनाइरहेका छन्, के भन्नुहुन्छ ?

नयाँ अनुहार खाजेको होइन, काम नयाँ खोजेका हुन् । २०४८ सालमा म उठें । त्यतिवेला राजनीतिक परिवर्तन नै मुख्य एजेन्डा थियो । त्यसपछि २०६४ सालमा उठें । त्यतिवेला संविधान बनाउन उठेको हुँ । २०७४ सालमा प्रदेशमा उठेर मन्त्री पनि भएँ । त्यतिवेला थुप्रै विकास निर्माणका काम थालनी गरें । त्यसैले अहिले पनि जनताको चाहना अनुहारको कुरा होइन, नयाँ काम, योजनाकै कुरा हो ।

– तनहुँको यो क्षेत्रमा संयोगले दुवैजना पूर्ववनमन्त्री हुनुहुन्छ । तपाईंले नै भन्दा उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?

वनमन्त्रीका रुपमा पनि म सफल भएर नै फर्केको हो, मलाई कुनै दाग छैन । अर्थमन्त्री हुँदा पनि कानुनविपरीत कुनै काम गरिनँ । अहिलेको जुन मेरो प्रतिद्वन्द्वी हुनुहुन्छ, उहाँ फेरि यो क्षेत्रको पनि होइन । अहिले गठबन्धनको सरकार छ । त्यसो हुँदा उनले कति काम गरे त यो क्षेत्रका लागि ? अहिले आएर पैसाको बलमा बोल्दै हिँड्नुभएको छ भनेर मतदाताको गुनासो सुन्छु । आमा समूहहरुलाई १० लाख, २० लाख, योजनाबारे २ करोड, ३ करोड अर्थात् ५० करोड, ६० करोड उहाँले भन्नुहोला । तर, यसरी भने पनि त्यसको कुनै अर्थ रहँदैन ।

बजेट नै बाँड्न सक्नुहुन्छ भने प्रतिनिधिसभामा किन उठ्नुपर्‍यो ? उनलाई सरकार किन चाहियो ? पैसाले विकास निर्माणका निम्ति यो दिन्छु, त्यो दिन्छु भन्ने हो भने त त्यो आवश्यकता नै पर्दैन । नत्र भने मलाई लाग्छ, जनताले कुन नाटक हो, कुन नौटंकी हो भन्ने थाहा पाइहाल्छन् । त्यसले गर्दा उनी मेरो प्रतिस्पर्धी जस्तो पनि लाग्दैन ।

त्यो गठबन्धन गठबन्धन जस्तो नै छैन । आफैंमा विभाजित छ । न सोच छ न त कार्यक्रम । त्यसले गर्दा पनि गठबन्धन बलियो अवस्थामा छैन ।

– तर, गठबन्धन त पाँच दलीय शक्तिसहित आएको छ नि !

त्यो गठबन्धन गठबन्धन जस्तो नै छैन । आफैंमा विभाजित छ । न सोच छ न त कार्यक्रम । त्यसले गर्दा पनि गठबन्धन बलियो अवस्थामा छैन । हिजो स्थानीय तहको नतिजामा पनि त उनीहरु नै बलियो थिए । तर पनि मैले जितें । त्यसैले त्यो गठबन्धन भए पनि बलियो अवस्थामा छैन । कांग्रेसकै मान्छेहरुले पनि उनलाई ‘टुरिस्ट उम्मेदवार’ भन्छन् । भनेपछि यहाँको जनताले त स्वीकार गरेकै छैनन् । नेपाली कांग्रेसले नै स्वीकार गरेको छैन । गठबन्धनले स्वीकारेकै छैन ।

यो क्षेत्रमा गठबन्धनबाट कुनै योग्य उम्मेदवार नभएजस्तो, नेपाली कांग्रेसको सक्षम नेतै नभएजस्तो उनी जबरजस्ती आएका छन् । त्यसले गर्दा पनि गठबन्धन त्यसमा पनि नेपाली कांग्रेसभित्रै रुष्ट छन् । अहिले झुक्याएर, नाटक गरेर, यतिउति पैसा दिन्छु भनेर भ्रममा राखेर जति उनले भोट ल्याउन सक्छन्, उनको भोट त्यति नै हो ।

– एमालेभित्र पनि अन्तरविरोध छ, एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको छ, गाह्रो हुँदैन ?

स्थानीय तहमा केही अन्तरविरोधहरु थिए । वडा सदस्यदेखि वडाध्यक्ष, मेयर उपमेरसम्म धेरै उम्मेदवार, धेरै प्रत्यासी भएर त्यसवेला केही अन्तरविरोधको अवस्था थियो । तर, अहिले त्यस्तो केही छैन । एमालेभित्र हामी कल्पना पनि गर्दैनौं । हिजो पार्टी फुटाएर जाने एकीकृत समाजवादीका यो क्षेत्रका सबै फर्किइसके ।

बाँकी १, २ जना जो समाजवादी भनेर बसेका छन्, उनीहरुले पनि मलाई नै भोट हाल्छन् । हाम्रोमा सैद्धान्तिक भोट, राजनीतिक भोट र असन्तुष्टहरुको पनि भोट मलाई नै आउँछ । मेरा प्रतिद्वन्द्वी अहिले यहाँका चिल्ला बाटो देखाएर मैले बजेट हाल्न लगाएको भन्दै आएका छन् । उनलाई थाहै छैन, कुन बाटो प्रदेशको, कुन बाटो संघको ? बजेट कसरी विनियोजन हुन्छ भन्ने थाहै छैन । पहिले जितेर पनि केही विकास गरेका होइनन्, त्यतिवेला पनि जम्मै भोट किनेर जितेका हुन् । अहिले पनि भोट किनेरै विजय प्राप्त गर्ने सपना देखेका छन् । तर, सपना अधुरो रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *