बाँके-२ का मतदाताले ल्याकत भएको सांसद खोजेका छन् : इश्तियाक राई – Nepal Press

बाँके-२ का मतदाताले ल्याकत भएको सांसद खोजेका छन् : इश्तियाक राई

प्रतिनिधि सभातर्फ बाँके–२ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद् छिर्न प्रयासरत छन् । यसअघि २ पटक संसद् र ३ पटक मन्त्री भइसकेका राई यो पटक पनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन् । उनको यस्तो दाबीको आधार के हो ? उनलाई फेरि जिताउँदा बाँके–२ लाई के लाभ मिल्छ ? उनको निर्वाचन गतिविधि कसरी अघि बढिरहेको छ ? यिनै विषयमा केन्द्रित भएर नेपाल टकका लागि राईसँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी ।

तपाईँ नै यस पटक उम्मेदवार किन हुनुभयो ?

मलाई मेरो दल जनता समाजवादी पार्टी नेपालले उम्मेदवार बनाएको हो । बाँके–२ का जनताको विकासको चाहना पूरा गर्ने मेरो पनि गन्तव्य हो । मेरो गन्तव्यमा साथ दिँदै पार्टीको जिल्ला तहबाट मेरो एकल सिफारिस भयो र केन्द्रले पनि त्यसलाई अनुमोदन ग¥यो । अब जनताले पनि मंसिर ४ मा मेरो उम्मेदवारीलाई अनुमोदन गर्दैछन् ।

सुरुमा निर्वाचनमा त्यति खटनपटन गर्न पाइनँ । सरकारबाट हटेपछि भने पूर्ण रुपमा निर्वाचनमा केन्द्रित छु । दिनदिनै जसपाका उम्मेदवारहरूप्रति मतदाताको आकर्षण बढिरहेको छ । पार्टी प्रवेश गर्न चाहने साथीहरूलाई समेत समय दिन नसकेको अवस्था छ । धेरैलाई त हामीले अहिले जो जहाँ हुनुहुन्छ त्यहीँबाट सहयोग गर्नुस्, निर्वाचनपछि औपचारिक रूपमा बृहत् रूपमै पार्टी प्रवेशको कार्यक्रम गरौँला भन्नुपर्ने अवस्था आएको छ ।

तपाईँका प्रतिबद्धता के के हुन् ?

मैले जनतालाई जहिल्यै पनि सम्भव र गर्न सक्ने कामको मात्र प्रतिबद्धता जनाउँदै आएको छु । पदमा पुग्नकै लागि हावादारी प्रतिबद्धता मैले कहिल्यै गरिन । अहिले पनि मैले प्रतिबद्धताभन्दा पनि आफूले नीतिगत रूपमा गर्न सक्ने कामकुरा जनतामाझ राखिरहेको छु । मैले बाँके–२ का लागि राखेको भिजन ’१० दृष्टि’ मार्फत आफ्ना भावी योजनाहरू जनतामाझ प्रस्तुत गरिसकेको छु । यी नै दृष्टिको सेरोफेरोमा रहेर मैले भोलिका दिनमा काम गर्ने हो । भेरी अस्पतालमा दीर्घ रोगीहरूका लागि विशेषज्ञसहितको छुट्टै युनिट, जमुनाहा–हिल्सा सडक योजनालाई कार्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा ५ विद्यालय र ५ स्वास्थ्य संस्थालाई नमूना बनाउन नीतिगत सुधार ल्याउने, व्यावसायिक सुरक्षा, महेन्द्र बहुमुखी क्याम्पसको भवनका साथै शैक्षिक कार्यक्रममा सुधारलगायत मेरा प्राथमिकता हुन् । अन्य थुप्रै प्रभावकारी योजनाहरू पनि छन्, जसलाई मैले जनतामाझ पुर्‍याइसकेको छु । यी मेरा प्रतिविद्धताहरू भन्दा पनि अठोटहरू हुन् । मैले मेरा अठोटहरू सबै मतदातालाई लेखेरै दिएको छु र त्यो दस्ताबेज सुरक्षित राख्नुहोला भनेको छु । किनकि ती अठोट पूरा गर्न सकिनँ भने निर्धक्क भएर जनताले फेरि प्रश्न गर्न सकुन् भन्ने मेरो चाहना हो ।

विकासमा संसद्को भूमिका अहम् हुन्छ । विकासका राम्रा योजनाहरू ल्याएर आफ्नो क्षेत्रमा बजेट सुनिश्चित गर्न सक्ने ल्याकत भएको सांसद भएमा त्यस क्षेत्रका जनताका लागि त राम्रो हुन्छ नै देशकै लागि पनि राम्रो हुन्छ ।

संसद् त कानुन बनाउने थलो हो, तपाई विकासका आश्वासन मात्रै किन बाँड्नुहुन्छ ?

हो नि ! यो प्रश्न गर्नुभन्दा पहिले तपाईँले नै मलाई विकासतर्फ संकेत गर्दै तपाईँका प्रतिबद्धताहरू के–के हुन् भनेर सोध्नुभयो । संसद् भनेका खासमा नीति–नियम बनाउने नै हुन् । सांसदहरूले बनाउने नीति–नियम कै आधारमा विकासको मार्ग कोरिने हो । राम्रो नीति भो भने राम्रो विकास हुन्छ । नीति गलत भयो भने गडबड हुन्छ । तर यसको मतलब सांसदले काम गर्ने सवालमा मुठ्ठी बाँधेर बस्ने भन्ने विल्कुल होइन । मैले गरेका अठोटहरू पनि नीति निर्माणसँगै सम्बन्धित छन् । नीति त विकासका लागि पनि चाहिन्छ नि !

विकासमा संसद्को भूमिका अहम् हुन्छ । विकासका राम्रा योजनाहरू ल्याएर आफ्नो क्षेत्रमा बजेट सुनिश्चित गर्न सक्ने ल्याकत भएको सांसद भएमा त्यस क्षेत्रका जनताका लागि त राम्रो हुन्छ नै देशकै लागि पनि राम्रो हुन्छ ।

अहिले संसद् भएकै भरमा यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्दै कतिपय उम्मेदवारहरू हिँडिरहेका छन् । भोलिका दिनमा पूर्वाधार विकास साझेदारी कोष (संसदीय विकास कोष) नै निरन्तर हुन्छ वा हुँदैन भन्ने निश्चित छैन । ठूला–ठूला योजना पूरा गर्नलाई त सरकारमा पनि पहुँच हुनुपर्ला । ती सबैको सुनिश्चितता नहुँदै जनतालाई झुक्क्याउनु हुँदैन भन्नेमा म दृढ छु । मेरा भावी योजनाहरू हेर्नुभयो भने मैले आश्वासन बाँडेको हो वा यथार्थपरक हो भन्नेमा प्रष्ट भइहाल्नुहुन्छ ।

यसअघि चुनाव जितेर आफ्नो क्षेत्रमा के के गर्नुभयो ?

मैले आफ्नो क्षेत्रका लागि उत्पातै गरेँ त भन्दिन । तर सम्भव भएसम्मका अनि जनताका लागि आवश्यक कामहरू गरेको छु र गर्दैछु । मुख्य रुपमा भेरी अस्पताल, सडक, नाला, हाइमास्ट लाइट, सभा हल, पुलहरूलाई केन्द्रमा राखेर म यहाँको प्रश्नबारे चर्चा गर्न चाहन्छु ।

सहरी विकास मन्त्री हुँदा मैले भेरी अस्पतालमा आधा अर्बभन्दा बढी लागतमा वातानुकूलित इन्डोर भवन बनाउन बजेटको जोहो गर्न सके ं। जहाँ ५० रुपैयाँको पर्चा काटेर जुनसुकै हैसियतका बिरामीले उपचार गराउन पाउने भएका छन् । त्यस्तै ३९ वटा हाइमास्ट लाइट बजार र आसपास क्षेत्रमा लगाइयो । एकैसाथ नगरभित्र २२ वटा सडकको शिलान्यास गरी निर्माण सम्पन्न गरियो । सायद कुनै गल्ली बचेको होला जहाँ पीसीसी बाटो निर्माण नभएको होस् । वडा नं १४ मा अन्तर्राष्ट्रियस्तरको सभा हल बनाइएको छ ।

यसअघिको संसदीय निर्वाचनमा पनि म एक्लै थिएँ । कांग्रेस–राप्रपा र एमाले–माओवादी गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै मैले जित निकालेको हुँ ।

पछिल्लो पटक लगभग तीन महिना भौतिक मन्त्री हुँदा पनि मैले धमाधम काम गरेँ । जमुनाहा–राँझा सडकखण्डमा अस्फाल्ट ओभर ले को काम भइरहेको छ । यो सडक कालोपत्रे गर्ने विश्वकै उत्कृष्ट प्रविधि हो । पुष्पलाल चोकदेखि सिधनियासम्मको सडकको काम सुरु भएको छ । ट्राफिक लाइट जडान र ओभरहेड ब्रिजको काम १/२ दिनमै सुरु हुने भएको छ । वर्षौँदेखि बिग्रिएको नेपालगन्ज–गुलरिया सडक पनि स्ट्रिटलाइटसहित फराकिलो र गुणस्तरीय बनाउने बजेट सुनिश्चित भइसकेको छ । यता राप्ती नदीमा एउटा डबललेन पुलसहित अन्य ७ वटा पुल निर्माण प्रक्रियामा गइसकेका छन् ।

यी सबै कुरा भनिरहँदा मैले गरेका कामका सम्बन्धमा एउटा कुरा भन्नै पर्ने हुन्छ । मैले सहरी विकास मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका लागि धेरै आयोजना र बजेटको व्यवस्था गरेको थिएँ । जसको तत्कालीन सत्तारूढ दलकै सांसदहरू झपट बोहोरा लगायतले संसद्मै विरोध गर्नुभयो । सबै बजेट आफ्नो क्षेत्रमा लग्यो भनेर मौन विरोध भयो । यो विरोध त मैले आफ्नो क्षेत्रका लागि गरेरै भएको हो नि ? मेरो पहिलो प्राथमिकता जहिल्यै पनि मेरो क्षेत्रका मतदाता नै हुन् । मेरा मतदातालाई केन्द्रमा राखेर नै मैले काम गर्दै आएको छु ।

यसअघिका वाचाहरू पूरा भएकै छैनन् अब के भनेर मत माग्नुहुन्छ ?

मैले गरेका के वाचा पूरा भएनन् तपाईँ नै भन्नुस् न ! मलाई त त्यस्तो वाचा गरेर काम नगरेको जस्तो केही लाग्दैन । मैले पटक–पटक सांसद र मन्त्री हुँदा गरेका कामहरूको फेहरिस्त सबै मतदातालाई बुझाएको छु । तर पनि एकाध काम–कुराहरू भने छन् । राप्ती नदी छेउमा किरिया पुत्री भवन र स्तरीय घाट बनाउने कुरा मैले भनेको हुँ । जुन त्यो ठाउँ पर्ने पालिकाका प्रमुखले असहयोग गरेपछि बन्न नसकेको हो । मैले आफ्नो संसद्को कोषबाट त्यो बनाउन चाहेको थिएँ । तर राजनीतिक स्वार्थमा काम गर्न नै दिइएन । अरू त भनेका सबै काम मैले गरेकै छु । सामाजिक–सांस्कृतिक पक्षमा पनि मैले सकेसम्मको गरेको छु । संसद् विकास कोषबाट करिब ७० मन्दिर–मस्जिद सौन्दर्यीकरणका लागि, सामाजिक संरचना निर्माणका लागि सहयोग गरेको छु ।

माथिबाट गठबन्धन गरिदिएकै भरमा मतदाता लतारिएर त जाँदैनन् नि । उनीहरूले पनि त आफ्नो विवेक प्रयोग गर्छन् होला नि । कसले काम गरेको छ, कसले काम गर्न सक्छ, को जनतामा लोकप्रिय छ, कसले जनताको सुखदुखमा साथ दिएको छ भन्ने कुरा मतदाताले मूल्यांकन त गरेका हुन्छन् नि !

तपाईंविरुद्ध बलिया गठबन्धन छन्, कसरी प्रतिस्पर्धामा आउनुहुन्छ ?

स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानेर तपाईँले बलिया गठबन्धन भन्नुभएको होला । तर बलिया भइदिएको भए उनीहरू गठबन्धन नै गर्थेनन् होला नि ! फेरि हामीले अरूसँग गठबन्धन नगरे पनि जनतासँग गठबन्धन गरेका छौँ । जनतासँगको गठबन्धनभन्दा बलियो अरू गठबन्धन कसरी हुनसक्छ ?

यसअघिको संसदीय निर्वाचनमा पनि म एक्लै थिएँ । कांग्रेस–राप्रपा र एमाले–माओवादी गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै मैले जित निकालेको हुँ ।

मतदातामाथि विश्वास नहुनेले, कमजोर उम्मेदवार हुनेले र जसरी पनि आफैँ हुनुपर्छ भन्ने मपाइँत्वको सोच भएकाहरूले यहाँ गठबन्धन गरेका हुन् । र अर्को कुरा, यहाँको गठबन्धन आफैमा कमजोर पनि छ । कोही पूर्व–कोही पश्चिम लागेका छन् । माथिबाट गठबन्धन गरिदिएकै भरमा मतदाता लतारिएर त जाँदैनन् नि । उनीहरूले पनि त आफ्नो विवेक प्रयोग गर्छन् होला नि । कसले काम गरेको छ, कसले काम गर्न सक्छ, को जनतामा लोकप्रिय छ, कसले जनताको सुखदुखमा साथ दिएको छ भन्ने कुरा मतदाताले मूल्यांकन त गरेका हुन्छन् नि ! यहाँका मतदाता जसले जे भन्यो त्यही गर्ने होइनन् । राम्रो र नराम्रो मूल्यांकन गरेर मताधिकारको सदुपयोग गर्छन् ।

तपाईँको विचारमा देशलाई सुशासनयुक्त र विकासको तीव्र गतिमा अघि बढाउन के कस्ता कानुनहरूको अभाव भएजस्तो लाग्छ ?

सुशासन, पारदर्शिता र जबाफदेहिताजस्ता महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरूबाट पर्याप्त चासो र चिन्ता नहुँदा नै अहिलेको अवस्था आएको हो । यी तीन क्षेत्रमा सुधार ल्याउने हो भने अहिले विकासमा व्याप्त अवरोधहरू आफै कम भएर जानेछन् । धेरैका लागि यो राजनीतिक पसल चलाउने हतियार बन्न पुगेको छ । हामीले यसमा गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ ।

संसद् भएपछि नै आफ्नो निर्वाचन क्षेत्रमा एक खर्बभन्दा बढी लगानीको रासायनिक मल कारखाना खोल्ने जस्ता हावादारी आश्वासन मैले बाँडेको छैन । मैले विगतमा गरेका कामहरू जनताले देखेकै छन् ।

राज्यको सिस्टम डिजिटलाइज्ड गर्ने र प्रभावकारी डकुमेन्टेसनमा ध्यान दिने हो भने सुशासनका सवालमा हामी धेरै हदसम्म फड्को मार्न सक्छौँ । त्यस्तै राजनीतिज्ञहरू जबाफदेही अनि कर्मचारीतन्त्र पारदर्शी हुने हो भने पनि सुशासनको लक्ष्य भेट्टाउन गाह्रो छैन ।

विकास निर्माणका सवालमा भने अहिले सार्वजनिक खरिद ऐन लगायत विद्यमान थुप्रै कानुनहरू परिमार्जनको खाँचो छ । म यी कानुनहरू परिमार्जनका लागि विशेष पहल गरिरहेको छु ।

तपाईँको प्रतिस्पर्धा कुन दल वा उम्मेदवारसँग हुँदै छ ? जित्ने आधारहरू के के छन् ?

मेरो प्रतिस्पर्धा कसैसँग छैन । तर अन्य उम्मेदवारहरू मसँग प्रतिस्पर्धामा आउन खोजिरहनुभएको छ । जनताको सुरुदेखिकै मुड हेर्दा अन्य उम्मेदवारहरूबीच दोस्रो को हुने भन्ने प्रतिस्पर्धा छ । मैले उठाएको मुद्दालाई जनताले विश्वास गर्नुभएको छ । म सुरुदेखि नै धार्मिक तथा सामाजिक सद्भाव, एकतालाई अनि जनसेवा र विकास निर्माणलाई आफ्नो कर्म बनाएर अघि बढेको मान्छे हुँ । म योभन्दा दायाँबायाँ लाग्दैन भन्नेमा जनता विश्वस्त छन् । फेरि अहिले मैले दिएको नारा अहिलेको परिप्रेक्षमा निकै सान्दर्भिक पनि छ । सामाजिक सद्भाव खलबल्याउन खोज्ने, धार्मिक रूपमा जनताको कित्ताकाट गर्न खोज्ने, सामन्तवाद र निरंकुशताको पक्षपोषण गर्ने अनि विकासका काममा अवरोध गर्न खोज्नेहरूकाविरुद्ध मेरो उम्मेदवारी हो । जनता नकारात्मक सोच भएकाहरूका पछाडि लागेर प्रतिगमनलाई प्रोत्साहन पक्कै गर्दैनन् ।

अर्को कुरा, संसद् भएपछि नै आफ्नो निर्वाचन क्षेत्रमा एक खर्बभन्दा बढी लगानीको रासायनिक मल कारखाना खोल्ने जस्ता हावादारी आश्वासन मैले बाँडेको छैन । मैले विगतमा गरेका कामहरू जनताले देखेकै छन् । निर्वाचनमा जित्न यिनै आधारहरू काफी छैनन् र ! तपाईँ लेखेर राख्नुस्, यो पटक बाँके–२ मा नयाँ इतिहास रचिन्छ । यो क्षेत्रबाट लगातार दुई पटक प्रतिनिधि सभा सदस्य चुनिने व्यक्ति इश्तियाक राई हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *