आरोप प्रत्यारोपमा उम्मेदवार- रामहरिले नामर्द भनेपछि यज्ञराजले दिए यस्तो जवाफ (भिडिओ) – Nepal Press

आरोप प्रत्यारोपमा उम्मेदवार- रामहरिले नामर्द भनेपछि यज्ञराजले दिए यस्तो जवाफ (भिडिओ)

ओखलढुङ्गा । राष्ट्रिय राजनीतिमा स्थापित भइरहेका ओखलढुङ्गाका दुई युवा नेता चुनावी महासङ्ग्रामका बेला व्यक्तिगत तहमा उत्रिएर आरोप प्रत्यारोप गर्न थालेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि दोस्रो पटक आम्ने-साम्ने भएका नेकपा एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका रामहरी खतिवडाबीच तिक्ततापूर्ण आरोप प्रत्यारोप चल्न थालेको हो ।

राजनीतिमा राम्रो क्षमता राख्ने र जिल्लाको विकास निर्माणका काममा समेत प्रतिस्पर्धा गर्ने यी दुई नेताबीचको चुनावी भिडन्त वाक कटुता हुँदै जाँदा चुनावी सुरक्षामा समेत थ्रेट बढेको छ । खतिवडा र सुनुवार दुवैजना २०७० सालको दोस्रो संविधान सभा चुनावमा क्षेत्र नम्बर १ र २ बाट निर्वाचित भएका थिए ।

२०७४ सालमा उनीहरू प्रतिनिधि सभाको एउटै सीटका लागि आम्ने-साम्ने हुँदा करिब ५३ सय मतले सुनुवार विजयी भएका थिए । त्यसबेला सुनुवारको साथमा रहेको माओवादी केन्द्र अहिले खतिवडाको साथमा छ । माओवादीको एउटा ठूलो पंक्ति भने नेकपा विभाजनको बेला नै बालकृष्ण ढुंगेलको नेतृत्वमा एमालेमा समाहित भइसकेको थियो ।

दोस्रो पटक कडा प्रतिस्पर्धा भइरहेका बेला पछिल्ला चुनावी सभाहरूबाट दुई नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् । खवितडाले कात्तिक २५ गते लिखु गाउँपालिकाको यसममा गएर सुनुवारलाई काम गर्न नसक्ने नामर्दको संज्ञा दिए । चुनाव जितेर गएपछि जनताको काम नगर्ने, तर आमाबुबा भन्दै अँगालो मारेर चटक देखाउने स्वभावका सुनुवारको रहेको खतिवडाको आरोप थियो ।

त्यसको जवाफमा कात्तिक २८ गते यज्ञराज सुनुवार आक्रामक ढंगले प्रस्तुत भए । यसमका खतिवडाले लगाएको आरोपको जवाफ उनले खतिवडाकै गाउँ मानेभञ्ज्याङमा पुगेर थिए । उनले आफूले जवाफ दिन बाध्य भएको भन्दै खतिवडाले विगतदेखि वर्तमानसम्म काण्डै काण्ड मच्चाएको र आफूले त्यसो नगरेकाले नामर्द भनेको हुनसक्ने बताए ।

खतिवडाको आरोपबाट आक्रोशित बनेका उनले आफ्ना प्रतिस्पर्धीले भूकम्प पीडितको पैसाबाट हेलिकप्टर चढेको, मन्त्रीको हस्ताक्षर किर्ते गरेर जेल गएकोदेखि घडी काण्डको प्रसङ्ग समेत निकालेर जवाफ दिए ।

यी दुई नेताबीचको आरोप प्रत्यारोप निर्वाचन आचारसंहिताले पनि स्वीकार नगर्ने तहमा पुगेको छ । खतिवडाले यज्ञराजको ५ वर्षे कार्यकालको विरोध गर्ने क्रममा आरोप लगाउने र सुनुवारले जवाफ दिने प्रक्रिया राजनीतिक तहबाट झरेर व्यक्तिगत तहमा पुगेको छ ।

ओखलढुंगामा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा छ । एमालेबाट प्रदेश १ मा अम्बिर गुरुङ र प्रदेश २ मा जिबी खड्का उम्मेदवार छन् भने गठबन्धनबाट प्रदेश १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादी केन्द्रका बाबुराम गौतम उम्मेदवार छन् ।


प्रतिक्रिया

One thought on “आरोप प्रत्यारोपमा उम्मेदवार- रामहरिले नामर्द भनेपछि यज्ञराजले दिए यस्तो जवाफ (भिडिओ)

  1. ‘अर्काको खल्तीको घडी झुक्किएर सुटुक्क आफ्ना खल्तीमा सार्ने’ मान्छे चुनिनु भनेको ओख्लढुङ्गा जस्तो पबित्र भुमि र त्येहा बस्ने स्वाभिमानी जनताको अपमान हो !! घडी जस्तै झुक्याउन माहिर त्येही मान्छे, मात्र भोट देउ भन्दै मत, मन र तपाइको भबिस्य चोर्न आउदै गरेको रहेछ, देश बेच्ने छ तिनको धुन !! सचेत हुनुहोस जनता, त्यो लुच्चोलाई फर्काइ दिनुस उसैको बाटो !!!
    यस्तो मान्छे: माओबादीको प्रतिनिधि हुन सक्छ, माओबादिका योद्दहरुले सम्झनुस त !!! इमाम्दार कांग्रेशलाई पनि लाज्लाग्नु पर्छ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *