आचारसंहिता उल्लङ्घनमा पुकार बमसहित ५ जनालाई जरिवाना, माधव नेपालको ढेउवाबारे प्रहरीलाई पत्राचार – Nepal Press

आचारसंहिता उल्लङ्घनमा पुकार बमसहित ५ जनालाई जरिवाना, माधव नेपालको ढेउवाबारे प्रहरीलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्ने रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमसहित ५ जनलाई ५ हजारदेखि २५ हजारसम्मका दरले जरिवाना गराउने निर्णय गरेको हो ।

आचारसंहिता विपरीत आफ्नो नाम अंकित सर्ट प्रयोग गरेको भन्दै आयोगले बमलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको हो । आयोगले सोधेको स्पष्टीकरणमा उम्मेदवार बमले निर्वाचन चिह्न अंकित टिसर्ट प्रयोग नगरिएको तर समर्थकले  टिसर्ट प्रयोग गरेको जवाफ दिएका थिए । उक्त जवाफ चित्तबुझ्दो नभएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनबारे प्राप्त उजुरीबारे स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको आयोगको सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारबाही गरिएको छ ।

यस्तै आचारसंहिता उल्लङ्घनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्य रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ ।

यस्तै आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना तिराउने निर्णय गरेको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै आयोगले उनलाई जरिवाना लगाउने निर्णय गरेको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालय कलैयालाई लेखी पठाउने निर्णय गरेको छ ।

त्यसै गरी आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई ५ हजार जरिवाना तिराउने पनि निर्णय गरेको छ । दलको प्रचार प्रसार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना तिराउने निर्णय गरेको हो । वस्तीलाई विभागीय कारबाही गर्न व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई निर्देशन दिएको छ । कारबाही गरेको जानकारी उपलब्ध गराउन आयोगले केन्द्रलाई भनेको छ ।

यस्तै अछामको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई ५ हजार जरिवाना गराउने निर्णय गरेको छ । एमालेको चुनाव प्रचार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना लगाको हो । आयोगले प्रधानाध्यापक कुँवरलाई विभागीय कारबाही गर्न पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार पनि गरेको छ । सिरहाको जनता आधारभूत विद्यालयका शिक्षक जिवछ यादवलाई पनि ५ हजार जरिवाना गराउने निर्णय भएको छ । उनले पनि दलको प्रचार प्रसार गरेको भन्दै आयोगले ५ हजार जरिवाना गराउने निर्णय गरेको हो । शिक्षक यादवलाई पनि विभागीय कारबाही गर्न आयोगले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई भनेको छ ।

यसअघि आयोगले काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना  तिराउने निर्णय गरिसकेको छ ।

आयोगले गरेको कारबाही र निर्देशनसम्बन्धी विवरण यस्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *