सुदूरपश्चिमका यी चार महिला : कसको कोसँग टक्कर ? – Nepal Press

सुदूरपश्चिमका यी चार महिला : कसको कोसँग टक्कर ?

कैलाली । अघिल्लो पटक प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रको प्रत्यक्षमा महिला उम्मेदवार भएको सुदूरपश्चिममा अहिले पनि चारै क्षेत्रमा महिला उम्मेदवारहरू मैदानमा छन् । एमालेबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र नागरिक उन्मुक्तिबाट एक जना महिला उम्मेदवार अहिले चुनावी प्रतिस्पर्धामा छन् ।

अघिल्लो पटक कञ्चनपुर १ बाट माओवादीकी बिना मगर, कैलाली ५ बाट नेपाली काङ्ग्रेसकी आरज राणा देउवा , कैलाली १ बाट काङ्ग्रेसकै ईश्वरी न्यौपाने र सोही क्षेत्रमा एमालेबाट मदनकुमारी शाह (गरिमा) प्रतिनिधि सभामा महिला प्रत्यक्ष उम्मेदवार थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छिन् । ती मध्ये कञ्चनपुर १ मा मात्रै मगर विजयी भइन् ।

अहिले पनि कञ्चनपुर १ मा विना मगर, कञ्चनपुरमै एमालेकी निरु पाल, डोटीमा एमालेकै गौरी ओली र कैलाली १ मा नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ चौधरी चुनावमा होमिएका छन् ।

कसको कोसँग टक्कर ?

बिना मगर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी पूर्व मन्त्री बिना मगर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छिन्। कञ्चनपुर १ मा मगरका प्रतिस्पर्धी छन्– एमालेका नेता तारा लामा ।

अघिल्लो पटक मगर प्रतिनिधि सभामा विजयी हुँदा तामाङ सोही क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए । तामाङले प्रदेशसभामा २० हजार १५ मत ल्याउँदा काँग्रेसका गोपाल गुरुङले ९ हजार २९० मत ल्याएका थिए।

उनी सुदूरपश्चिमका पूर्वआर्थिक मामिला मन्त्री समेत हुन्। ०७४ चुनावमा सारथि रहेका तामाङ यस पटक मगरको प्रतिस्पर्धीका रूपमा खडा भएका छन्।

२०७० को संविधान सभा चुनावमा काँग्रेसका देवानसिंह विष्टसँग पराजित मगरले ०७४ मा भने एमालेको समर्थनमा मगरले विष्टलाई हराएकी थिइन्।

विष्टलाई वाम गठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले हराएकी थिइन्। मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए।

अघिल्लो पटकका सहयात्री अहिले प्रतिस्पर्धी भएका छन् भने अघिल्लो पटकका प्रतिस्पर्धी अहिले सहयात्री भएका छन् ।

निरुदेवी पाल

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्दै छिन्। यो क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश लेखक चुनावी मैदानमा छन्।

उनी ०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार एमाले डा. दीपक प्रकाश भट्टसँग झिनो मतान्तरले हारेका थिए। माओवादी केन्द्रको साथले अघिल्लो पटकको हारको बदला लिँदै संसद् पस्ने दाउमा छन् लेखक । यहाँ एमाले र राप्रपाको तालमेलले लेखकको त्यो योजना सहजै पुरा हुन भने सहज छैन ।

कञ्चनपुर ३ मा लेखक र पालबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। पाल पनि यसै क्षेत्रकी निवर्तमान समानुपातिक सांसद पनि हुन्।

लामो समयदेखि कञ्चनपुरमा एमालेको राजनीति गरिरहेकी निरुदेवी २०६४ को संविधानसभाको उपनिर्वाचन लडेकी थिइन्। तर, उनी माओवादीसँग त्यति बेला हारिन्। त्यसपछि अहिले जित्ने दाबी सहित मैदानमा छिन् ।

गौरीकुमारी ओली

डोटीमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व मन्त्री प्रेमबहादुर आलेकी प्रतिस्पर्धी हुन्– गौरीकुमारी ओली।

डोटी इन्चार्जसमेत रहेकी ओली एमालेको पोलिटब्युरो सदस्य पनि हुन्। उनी प्रत्यक्षबाट पहिलो पटक संसदीय चुनावको सामना गर्दै छन्। यसअघि ०७० सालको चुनावमा ओली समानुपातिक सांसद भएकी थिइन्।

गठबन्धनविरुद्ध जित हासिल गर्दै दोस्रो पटक संसद् छिर्ने योजनामा छन्– ओली। त्यसका लागि उनी पूर्व एमालेकै नेता आलेसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार रहेका आलेले कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरलाई हराएका थिए।
गठबन्धनबाट आलेले डोटी पाएपछि, कांग्रेसले बलायरलाई यस पटक कैलालीको ४ मा झारेर एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग भिडाएको छ।

डोटीमा समाजवादीको सङ्गठन कमजोर छ। स्थानीय निर्वाचनमा समाजवादीले डोटीमा एक वडाध्यक्ष मात्रै जितेको छ। आलेविरुद्ध काँग्रेसका नेता नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ एमालेको ओली, गठबन्धनका आले र स्वतन्त्र खड्का बिच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

रञ्जिता श्रेष्ठ

स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा कैलाली १ मा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता चौधरी रेशम चौधरीको पत्नी हुन् । ०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए।

भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वाम गठबन्धनबाट एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मतान्तरले हराए।
चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मत मात्रै पाएकी थिइन्।

अहिले यो क्षेत्रबाट यस पटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रञ्जिता संसदीय चुनाव लड्दै छिन्। एमालेबाट उनका प्रतिस्पर्धी टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल र सत्ता गठबन्धनबाट काँग्रेसका नेता एवम् पूर्व मन्त्री राम जनम चौधरी छन्।

कैलाली १ मा सत्तारुढ, एमाले–जसपा गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

स्थानीय तहको मत परिणामले नागरिक उन्मुक्ति पार्टी हौसिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ।

सत्तारुढ गठबन्धनविरुद्ध कैलाली १ मा पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रञ्जितलाई रेसमको विरासत जोगाउनुपर्ने चुनौती छ।
यस पटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै राम जनम जित निकाल्ने दाउमा छन् । यता एमालेका तपेन्द्र रावल पनि आफू जित्ने दाबी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *