ललितपुरमा पम्फालाई अत्त्याइरहेकी तोसिमा, चुनाव जितेर स्वास्थ्यमन्त्री बन्ने आकांक्षा – Nepal Press

ललितपुरमा पम्फालाई अत्त्याइरहेकी तोसिमा, चुनाव जितेर स्वास्थ्यमन्त्री बन्ने आकांक्षा

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा देश थप चुनावमय बनेको छ । सुशासन, समृद्धि, विकास, रोजगारलगायतका आश्वासन बोकेर यतिबेला उम्मेदवारहरू जनताको घर–घरमा पुगेका छन् ।

वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दा अधिकांश क्षेत्रमा देशका मूलधारका राजनीतिक पार्टीहरूका उम्मेदवार बिच नै चुनावमा ‘हेड टु हेड’ प्रतिस्पर्धाको सम्भावना देखिन्छ । यद्यपि ललितपुर क्षेत्र नं ३ को अवस्था भने अलि फरक छ । यहाँ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ठूला दलका उम्मेदवारलाई अत्त्याइरहेकी छिन् ।

यस क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं १ देखी ५ सम्म र १०, १३ , १४, १५, १८ तथा २० देखी २९ सम्मका वडाहरू पर्छन् । यसै गरी, गोदावरी नगरपालिकाका १२ र १४ नम्बर वडाहरू समावेश छन् । यहाँ गठबन्धनको तर्फबाट नेकपा माओवादीकी उप- महासचिव पम्फा भुसाल र नेकपा एमालेको तर्फबाट अमृत खड्का उम्मेदवार छन् । यस्तै, सात जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रको केही समय अगाडी सम्मको राजनीतिक माहोललाई हेर्दा पम्फा भुसाल तुलनात्मक हिसाबले ‘सेफ साइड’ मा थिइन् । तर गत कात्तिक १२ गते निर्वाचन आयोगले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागी उम्मेदवारी दिएकी स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमाको उम्मेदवारी खारेज गरेपछि ट्वीस्ट आएको छ । निर्वाचन आयोगको निर्णय अदालतले बदर गरिदियो । र, यसबाट तोसिमाले निकै ठूलो चर्चा पाइन् ।

आयोगले तोसिमा बहाल रहेको मेडिकल काउन्सिलको सदस्यका रूपमा आर्थिक लाभ लिइरहेकाले उनी प्रतिनिधिसभा सदस्यका लागि अयोग्य मानेको थियो । तर आयोगको उक्त निर्णयलाई आम मानिसले शङ्कास्पद ठहराए । कार्की आयोगको उक्त निर्णय विरुद्ध अदालत पुगिन् र अन्ततः सर्वोच्च अदालतले आयोग निर्णयलाई उल्टाउँदै कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दियो ।

यी घटनाक्रमपछि तोसिमा ‘अण्डरडग’ बाट माथि उठेर मुख्य प्रतिस्पर्धीकै रूपमा दरिन थालेकी छिन् । हामीले डा। कार्कीको घरदैलोलाई पछ्याउने क्रममा आम मानिसको उनीतर्फ यथेष्ट आकर्षण देख्यौँ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच, महिला सशक्तीकरण र युवा रोजगारी आफ्ना मुख्य एजेण्डा रहेको तोसिमा बताउँछिन् । स्पष्ट वक्ताको छवि बनाएकी कार्कीले आफ्नो मुख्य प्रतिस्पर्धी मानिएकी गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसाललाई ‘हजुरआमा’को संज्ञा दिइन् ।

‘व्यवस्था परिवर्तनमा उहाँको योगदान छ । तर अब अवस्था परिवर्तनको जिम्मा भने नातिनी (आफू) लाई दिनुपर्छ,’ उनले भनिन् । अवसर पाएको खण्डमा आफू स्वास्थ्य मन्त्री बनेर देशको स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्न सक्ने पनि उनको दाबी छ ।

हेर्नुहोस् भिडिओ रिपोर्ट

भिडिओ/फोटो :- उमेश कार्की


प्रतिक्रिया

One thought on “ललितपुरमा पम्फालाई अत्त्याइरहेकी तोसिमा, चुनाव जितेर स्वास्थ्यमन्त्री बन्ने आकांक्षा

  1. जलविद्युत आयोजनाहरू माफियालाई पैसा खाएर बेच्नेलाई त हराउनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *