‘हेभीवेट’ उम्मेदवारको काठमाडौं ४ : जनतालाई भने बाटो र खानेपानीकै मार (भिडिओ रिपोर्ट) – Nepal Press
घरदैलोमा नेपाल प्रेस

‘हेभीवेट’ उम्मेदवारको काठमाडौं ४ : जनतालाई भने बाटो र खानेपानीकै मार (भिडिओ रिपोर्ट)

काठमाडौं । मतदानको समय १० दिनबाट ओरालो लाग्दैछ । उम्मेदवारहरू विभिन् नारा बोकेर घरदैलोमा व्यस्त छन् । सुशासन, समृद्धि, विकास, रोजगारलगायतका आश्वासनसहित आफूलाई जिताउन उनीहरू मतदातासँग आग्रह गरिरहेका छन् ।

अन्य ठाउँजस्तै संघीय राजधानी काठमाडौंको चुनावी माहोललाई पनि आम मानिसले चासोका साथ हेरिरहेका छन् । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं झन् ‘हेभीवेट’ नेताको प्रतिस्पर्धाका कारण चर्चामा छ । यस क्षेत्रमा महानगरपालिकाका १, ७, ८ र ३० वडाहरू र बूढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरू पर्छन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने यस क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये कांग्रेसले केवल ३ वटा वडामा मात्रै वडा अध्यक्ष जितेको छ बाँकी ९ वटा वडामा भने एमालेले बाजी मारेको छ तर यही परिवेशलाई मात्र मध्यनजर गरेर मात्र चुनावी नतिजाको आँकलन गर्न सकिने अवस्था भने । २०७४ को स्थानीय चुनावमा यहाँका स्थानीय तहमा एमाले अगाडि हुँदाहुँदै पनि यस क्षेत्रबाट प्रतिनिधिसभामा भने नेपाली कांग्रेस महामन्त्री गगन थापा विजयी भएका थिए ।

अहिले पनि गगनविरुद्ध एमालेले राजन भट्टराईलाई अघि सारेको छ । आ-आफ्नो पार्टीमा प्रभावशाली नेताको छवी बनाएका यी दुई उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन् । जनताका अपेक्षा, नेताका आश्वासन र ग्राउण्डको वास्तविकतालाई उजागर गर्न हामीले राजन भट्टराईको घरदैलोलाई पछ्याउने क्रममा क्षेत्र नम्बर ४ मा अवस्थित पैँयाटारबासीले खानेपानी र सडक पूर्वाधारजस्ता न्यूनतम आवश्यकताको अपेक्षा गरेको पायौँ ।

यसो त सडक पूर्वाधारमा देखिएको समस्या पैँयाटारको मात्र समस्या होइन , पैँयाटारसम्म पुग्नकै निमित्त पनि म देशको संघीय राजधानीमै छु वा देशको कुनै दुर्गम ठाउँमा भन्ने प्रश्न उब्जाउने किसिमका खाल्डाखुल्डी धेरै छिचोल्नुपर्छ ।

हेर्नुस् स्थलगत भिडिओ रिपोर्ट:

फोटो/भिडिओ : उमेश कार्की । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *