उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसारको वातावरण मिलाउन निर्वाचन आयोगको निर्देशन – Nepal Press

उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसारको वातावरण मिलाउन निर्वाचन आयोगको निर्देशन

डडेल्धुरा घटनाबारे आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन दिएको छ । आयोगले गृह मन्त्रालयलमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी गराउन तथा प्रचारप्रसारमा आवश्यक सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन दिएको हो ।

डडेल्धुरामा सागर ढकाललाई प्रचारप्रसारमा रोक लगाइएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा देखिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको संविधान र निर्वाचनसम्बन्धी कानूनको अधीनमा रहेर प्रचार गर्न पाइनेबारे स्मरण पनि गराएको छ ।

आयोगका सहायक प्रवक्ता एवम् उपसचिव कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति, मताधिकारमार्फत हुने भन्दै सार्वभौम मतदाता र आफ्नो लागि जनताको मत र विश्वास माग्ने उम्मेदवार कानूनबमोजिम प्रचारप्रसार गर्न स्वतन्त्र रहने उल्लेख छ ।

‘सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाद सहभागी हुने अक्षुण्ण अधिकारी रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *