सिन्धुपाल्चोकमा जापान र अष्ट्रेलियामा रहेका शिक्षकहरू मतदान अधिकृत – Nepal Press

सिन्धुपाल्चोकमा जापान र अष्ट्रेलियामा रहेका शिक्षकहरू मतदान अधिकृत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कालिका चेतना आधरभुत विद्यालयमा प्राथामिक तहमा कार्यरत शिक्षक कृष्णप्रसाद घोरासैनी अहिले जापनमा छन् । उनी नेपाल छाडेर जापान गएको लामो समय भइसकेको छ ।

तर मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनलाई फलाटेश्वर माविमा सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ ।
रमादेवी माविका प्रदेश अनुदानमा कार्यरत शिक्षक रबिन अधिकारीले शिक्षण पेशा छाडेर हाल अष्ट्रेलियामा छन् उनलाई पनि मतदान अधिकृतका लागि लिसंखुपाखर गाउँपालिकाको एक मतदान केन्द्रमा खटाइएको छ ।

यी त  उदाहरण मात्रै हुन्,मंसिर ४ गते हुने निर्वाचनमा कर्मचारी खटाउदा जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले कतिसम्म लापरबाही गरेको छ, त्यसको पुष्टि हुन्छ ।

पेशा छाडेर अन्यत्र गएकाहरु मात्रै होइन सिन्धुपाल्चोकबाट सरुवा भइसकेका शिक्षकहरु समेत अहिले मतदान केन्द्रमा खटाइएको छ । शिक्षक गोविन्द चौलागाई सरुवा भएर अन्यत्र गइसकेका छन् तर उनलाई जनता मावि ज्यामिरेको मतदान केन्द्र ख मा खटाइएको छ ।

निर्वाचन कार्यालयको लापरवाही र मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय नगरी निर्वाचन सम्पन्न गराउने कर्मचारी छनोट गर्दा चरम लापरबाही गरेपछि निर्वाचन शान्तिपुर्ण हुनेमा व्यापक शंका उत्पन्न भएको छ ।

हचुवामा कर्मचारी छनोट गर्दा एकै कर्मचारी दुई स्थानको मतदान केन्द्रमा समेत खटाइएको छ । पहुँच र सोर्सफोर्समा निर्वाचनमा खटिने कर्मचारीहरु समेत धेरै रहेका छन् । कुनै मतदान केन्द्रमा बालविकासमा कार्यरत सहजकर्तालाई मतदान अधिकृत बनाइएको छ भने निमाविमा कार्यरत स्थायी शिक्षकहरुलाई सहायक कर्मचारीको रुपमा खटाइएको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडाले जानकारी दिए ।

निर्वाचन सम्पन्न गराउने महत्वपूर्ण चाडमा लापरवाही रुपमा शिक्षकहरु छनोट गरिएको र यसलाई नसच्याए निर्वाचन प्रक्रियामा नै सहभागी नहुने शिक्षक महासंघले चेतावनी दिएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशीका २०७९ को दफा ११ को उपदफा २ अनुसार हुनुपर्नेमा त्यसो नगरी मनोमानी गरिएको शिक्षक महासंघको आरोप छ ।

निर्वाचनमा कर्मचारी खटाउने आधार स्पष्ट नभएको महासंघका अध्यक्ष खतिवडाले बताए । कर्मचारी खटाउने मा मात्रै नभइ निर्वाचन कार्यालयबाट हुने अन्य कार्यक्रमहरुमा समेत एकलौटी हुने गरेको आरोप निर्वाचन कार्यालयलाई लागेको छ ।

 जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास रिजाल भने निर्वाचनमा कर्मचारी खटाउने कार्य सम्बन्धित निर्वाचन क्षेत्रको भएको बताउँछन् । निर्वाचनमा खटाउने कर्मचारी छनोट गर्दा स्थानीय सरकारले समयमा नै तथ्यांक उपलब्ध नगराउदा समस्या भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनीधि खनालले जानकारी दिए । ‘कर्मचारी छनोटमा देखिएका त्रुटीहरु सच्याउनका लागि हामी तयार छौ ’प्रमुख जिल्ला अधिकारी खनालले भने ।

यसअघिका निर्वाचनमा शिक्षकहरुको पेशागत संघ ,संगठनका प्रतिनिधिहरुसँग समन्वय र सल्लाहा गरेर छनोट गर्ने गरेपनि स्थानीय निर्वाचन देखि नै आफुहरुसँग कुनै सरसल्लाहा नगर्दा समस्या भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकमा जापान र अष्ट्रेलियामा रहेका शिक्षकहरू मतदान अधिकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *