बढ्दाे चुनाव खर्च- उम्मेदवारले कसरी जुटाउँछन् ? – Nepal Press

बढ्दाे चुनाव खर्च- उम्मेदवारले कसरी जुटाउँछन् ?

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरदैलोमा जुटिसकेका छन् । हरेक उम्मेदवार मतदातासँग आफूलाई भोट दिन आग्रह गर्दै गाउँशहर हिँडिरहेका छन् ।

उम्मेदवारको अत्यधिक खर्च हुने समय पनि यही हो । विशेषगरी पर्चा, पम्पलेट, झण्डा, इन्धन, नमुना मतपत्र, माइक, सवारीसाधनलगायतमा बढी खर्च हुँदै आएको उम्मेदवारहरु बताउँछन् । उनीहरुका अनुसार आफूसँग हिँड्ने नेता तथा कार्यकर्ताको खाना र खाजामा पनि उत्तिकै खर्च हुने गरेको छ ।

पछिल्लो समय चुनाव खर्च भड्किलो बन्दै गएको छ । निर्वाचन आयोगले निर्वाचनमा हुने खर्च नियन्त्रण गर्न यसको सीमा पनि तोकेको छ । तर, खर्चले सीमामात्रै नाघ्दैन । आकाश छुन्छ । आयोगले २०७४ सालको आमचुनावको लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न सकिने सीमा तोकेको थियो । तर, दलहरुले खर्च बढेको भन्दै सीमा बढाउन आग्रह गरे ।

आयोगले यस पटक क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभा उम्मेदवारको लागि २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च सीमा तोकिएको छ । तर, उम्मेदवारले इमानदारीका साथ निर्वाचन खर्च विवरण बुझाउँदैनन् भन्ने विषय ओपन सेक्रेट नै हो ।

दलका नेताहरुले आमचुनाव लड्न करोड रुपैयाँभन्दा कमले नपुग्ने सार्वजनिक रुपमै भन्दै आएका छन् । त्यसैले जो-कोही उम्मेदवार हुन तयारसमेत हुँदैनन् । चुनाव खर्च गर्ने पैसा नभएकै कारण आफू उम्मेदवार नबन्ने घोषणा गर्ने नेताहरु पनि छन् । विशेषतः चुनाव खर्च जोहोमा महिला तथा दलित समुदायका उम्मेदवारलाई सजिलो नभएको उम्मेदवारहरु बताउँछन् ।

चुनावी प्रचारप्रसारमा रहेका उम्मेदवारहरुले खर्चको जोहो कसरी गरिरहेका छन् भन्ने विषयमा नेपाल प्रेसले प्रतिनिधिसभाका उम्मेदवारहरुसँग प्रश्न गरेको छ ।

अरुकै भरमा निर्वाचन खर्च

अछाम क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाह यतिवेला त्यस क्षेत्रका जनतामाझ छन् । उनले आफूसँग भएको पैसा र केही साथीभाइको सहयोगमा प्रचारप्रसारमा जुटेको जानकारी दिए ।

उनी मध्यम वर्गीय परिवारबाट प्रतिनिधित्व गरिरहेका छन् । पेशाले कानून व्यवसायी शाही पार्टीमा आस्था राख्ने र पुष्प शाह नै अछाम क्षेत्र नम्बर २ का लागि चाहिन्छ भन्नेहरुले सहयोग गरिरहेको बताउँछन् ।

यता नेकपा एमालेका झपट रावल कैलाली २ मा चुनावी प्रचारप्रसारमा छन् । उनले कार्यकर्ता तथा स्थानीयबाटै सहयोग पाइरहेको बताए । खासै खर्च नगर्ने मनसायमा रहेका रावल घरदैलोमा जहाँ पुग्छन् उही जनताका घरमा खाना खान्छन् ।

कार्यकर्ताहरु पनि आफैंले खानाको जोहो गर्ने उनको भनाइ छ । चुनावी प्रचारका लागि प्रयोग भएको गाडी पनि पार्टीकै शुभचिन्तकको रहेको रावलले जानकारी दिए ।

काठमाडौ क्षेत्र नं १० मा माओवादीको तर्फबाट उम्मेदवारी दिएकी अन्जना विशंखेले आफू दलित समुदायको भएकाले त्यस्ता समुदायबाट रकम संकलन भएर आएको बताएकी छन् । व्यक्तिले पनि सहयोग गरिरहेको र विभिन्न संघसंस्थाबाट पनि सहयोग भएकाले खर्च गर्न समस्या नभएको बिशंखेले जानकारी दिइन् ।

माओवादीकै कल्पना धमला काठमाडौ क्षेत्र नं ९ मा उम्मेदवार छिन् । उनले आफूले सार्वजनिक खाता खोलेरै कहाँबाट कति पैसा आएको छ भन्ने विषय देखाएको बताएकी छन् । यद्यपि आफ्नो हैसियतभन्दा बढी खर्च नगर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट बझाङमा भानुभक्त जोशी चुनावी मैदानमा छन् । उनले प्रचारप्रसार सामग्री, नमूना मतपत्र, झण्डा, माइकलगायतका सामग्री विभिन्न ठाउँबाट संकलन भएको बताएका छन् ।

जोशीका अनुसार विदेशमा रहेका नेपालीले आफू निकट र अनुकूल पार्टीको लागि सहयोग गर्ने गरेको चर्चा भए पनि यसपटक कुनै पनि उम्मेदवारले आफ्नो खातामा विदेशबाट सहयोग पाएका छैनन् ।

यता नेपाल राष्ट्र बैंकले पनि चुनावका लागि भनेर विदेशबाट पैसा नआउने बताउँदै आएको छ । पछिल्लो समय कतिपयले उम्मेदवारको टिकट पाउन नै पार्टी वा नेतालाई पैसा बुझाउने चर्चा छ । कतिपयले मत खरिद गर्न पैसा बाँड्छन् भन्ने आरोप पनि छ । जसले धेरै पैसा खर्च गर्नसक्छ, उसैले चुनाव जित्छ भन्ने प्रवृत्तिको विकास प्रत्येक चुनावमा हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *